धेरै भन्नु छैन। उदाहरण धेरै दिएर कि कुरो मात्र गर्नुछ।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अहिले पूर्पक्षका लागि थुनामा छन्।
टिप्पणीकारलाई उनको राजनीतिक जीवन देख्दा कता कता भारतीय डन हाजी मस्तानको जस्तो प्रारुप लाग्छ।
राजनीति गर्ने पनि कोही न कोहीसँग प्रभावित हुन्छन्। क्रुर शासक बन्न खोज्ने तर गीत संगीतदेखि अनेक चिज मन पराउने हिटलरबाट प्रभावित हुन्छन्।
सामान्य जीवनबाट उठेर सत्ता हत्याउने र झूठको प्रचार गरी आफूलाई केन्द्रिकरण गर्ने नेपोलियन बोर्नापाटका प्रभावमा परेका हुन सक्छन्।
जब म लामिछानेका अनेक गतिविधिसँग रुबरु गरिरहेको हुन्छु र देख्छु। उनी हाँजी मस्तान जस्तो लाग्छ।
कतिपयले ‘वन्स अप अन अ टाइम इन मुम्बई’ हेर्नुभएको होला। त्यहाँ सुल्तान मिर्जा पात्र प्रभावित छन्। त्यसबारे पनि चर्चा गर्नेछु। तर, हाजी मस्तान को हुन्? किन टिप्पणीकारलाई त्यस्तो समानता लाग्यो?
हाजी मस्तानको पूरा नाम मस्तान मिर्जा हो। भारतको अन्डरवल्र्ड इतिहासमा एक चर्चित नाम हो। उनी १९६० र ७० को दशकमा मुम्बई (तत्कालीन बम्बई) मा एकजना प्रभावशाली तस्कर, व्यापारी, फिल्म निर्माता र पछिल्लो जीवनमा राजनीतिज्ञ समेत बनेका थिए।
तमिलनाडुमा जन्मिएका मस्तान सानो उमेरमै मुम्बई आएका थिए र आरम्भमा बन्दरगाहमा मजदुरी गर्थे। यही स्थानबाट उनले तस्करीको दुनियाँमा पाइला टेके।
हाजी मस्तानले मुख्य रूपमा सुन, चाँदी, विद्युतीय सामान र विदेशी वस्तुहरू तस्करी गर्थे। भारतमा विदेशी सामानको ठूलो अभाव भएका बेला उनले तस्करीमार्फत आफ्नो साम्राज्य निर्माण गरे।
उनी नब्बे प्रतिशत समय कानूनी कारबाहीबाट बच्न सफल भए। (यसलाई ध्यानमा राखौं, पाठकवृन्द।)
उनको श्वेत पोशाक, सुनको चेन, कालो चश्मा र लक्जरी जीवनशैली निकै चर्चित थियो।
उनी एक ‘सम्मानित डन’ का रूपमा चिनिन्थे, जसले जनतामाझ सामाजिक काम गर्थे, गरीबलाई सहयोग गर्थे र अपराध गर्दा पनि महिलाहरू, बच्चाहरू वा निर्दोष नागरिकलाई नछुने ‘नियम’ अपनाउँथे।
बलिउडसँग उनको राम्रो सम्बन्ध थियो, र उनले फिल्म निर्माणमा समेत लगानी गरेका थिए। उनले अमिताभ बच्चन अभिनीत ‘दीवार’ जस्ता फिल्महरूलाई अप्रत्यक्ष प्रेरणा दिएका थिए।
पछिल्ला दिनमा हाजी मस्तानले अपराधको दुनियाँ त्यागेर राजनीति रोजे। उनले ‘भारतीय सेकुलर लिग’ नामक पार्टी स्थापना गरे र आफूलाई मुस्लिम र दलित समुदायको नेता बनाउने कोसिस गरे।
यो संक्षेपमा हेर्दा कता–कता लामिछाने प्रभावित भएको प्रतीत हुँदैन र?
खैर, अनुपातिक विषयको निचोड निकालिनेछ। अब उपर्युक्तमा नाम लिएको फिल्मको सन्दर्भलाई यहाँ राखौं।
सुल्तान मिर्जा एक वास्तविक पात्र होइन, तर एक काल्पनिक डन हुन्, जसलाई २०१० मा रिलिज भएको बलिउड फिल्म ‘वान्स अपन अ टाइम इन मुम्बई’मा प्रस्तुत गरिएको हो।
अभिनेता अजय देवगनले निभाएको यो पात्रको चरित्र र शैली १९७०–८० को दशकमा मुम्बईका कुख्यात अन्डरवल्र्ड डन हाजी मस्तानबाट प्रेरित गरिएको मानिन्छ। यद्यपि सुल्तान मिर्जा नाम आफैँमा काल्पनिक हो, तर उनको कथाले भारतको अन्डरवल्र्डको एक गहिरो पाटो उजागर गर्छ।
सुल्तान मिर्जा फिल्मको मुख्य पात्र हुन्, जो एक गरीब परिवारबाट उठेर मुम्बईको अन्डरवल्र्डको राजा बन्दछन्।
उनी आरम्भमा सामान तस्करीबाट आफ्नो ‘धन्दा’ शुरू गर्छन् र पछि बन्दरगाह र व्यापारमा आफ्नो नियन्त्रण जमाउँछन्। उनको चरित्रलाई ‘सम्मानित अपराधी’ को रूपमा चित्रण गरिएको छ—जो गरीबहरूको मद्दत गर्छ, जनताले उनलाई सम्मान गर्छन्, तर उनी कानूनभन्दा माथि रहन्छन्।
यद्यपि फिल्ममा सुल्तान मिर्जालाई पूर्णतः काल्पनिक भनिएको छ, तर उनको हाउभाउ, व्यापार शैली, पहिरन (सेतो कुर्ता, सुनको चेन, कालो चश्मा) र बम्बईको अन्डरवल्र्डमा रहेको छवि सीधै हाजी मस्तानसँग मिल्दोजुल्दो छ।
हाजी मस्तान १९६०–७० को दशकमा भारतको सबैभन्दा ठूलो स्मगलर थिए, जसले पछि फिल्म व्यवसायमा पनि लगानी गरे। उनले सामाजिक कार्य र राजनीतिमा पनि कदम राखेका थिए।
सुल्तान मिर्जाको चरित्र एकदमै अनौठो देखिन्छ। उनी अपराधी हुन्, तर बच्चा, महिला र निर्दोष मानिसलाई कहिल्यै हानी नपुराउने नीतिमा विश्वास राख्छन्।
उनलाई मुम्बईको अपराधी संसारमा पनि सम्मान दिइन्छ। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई नैतिक रूपमा चुनौती दिन्छन् र त्यही कारणले उनले धेरै समर्थक बनाउँछन्।
फिल्ममा सुल्तान मिर्जाले राजनीतिक नेताहरूसँग सम्बन्ध राख्ने, तस्करीमार्फत ठूला व्यापार नियन्त्रण गर्ने, र प्रहरी प्रशासनलाई पनि प्रभावित पार्ने संकेतहरू देखिन्छन्।
वास्तविक जीवनका हाजी मस्तानले पनि आपराधिक विश्वबाट राजनीति प्रवेश गरेका थिए, र ‘भारतीय सेकुलर लिग’ नामक पार्टी खोलेका थिए।
फिल्ममा सुल्तान मिर्जा जति नै शक्तिशाली भए पनि, उनको अधीनमा काम गर्ने शोएब (इमरान हाश्मीद्वारा अभिनीत), जो पछि दाउद इब्राहिमबाट प्रेरित पात्र हो, सुल्तानको विरुद्ध विद्रोह गर्छ।
शोएब झन् निर्दयी, लोभी र हिंसात्मक छ, जसले सुल्तानको ‘मानवीय अपराध’शैलीलाई अन्त्य गर्दै अत्याचार र आतंकको नयाँ अध्याय सुरू गर्छ।
यो परिवर्तन सन्देश दिन्छ– जब अपराध नै मार्ग हुन्छ, त्यसको कुनै नैतिक सीमाना हुँदैन, र अन्ततः बल, पैसा र डरले नै जीत गर्छ।
सुल्तान मिर्जाको जीवन अन्ततः पतनतर्फ जान्छ। उनले शोएबको उदय रोक्न सक्दैनन्। यो फिल्मले अन्डरवल्र्डको ‘पुरानो मान्यता र मर्यादा’ हराउँदै ‘नयाँ युगको अराजकता’ उदाउँदै गएको संकेत दिन्छ।
सुल्तान मिर्जाको पात्र बलिउडमा धेरै चर्चित बन्यो। अजय देवगनको अभिनय, संवाद, र व्यक्तित्वले उनलाई ‘रबिन हुड स्टाइल’को डन बनायो। फिल्मले दर्शकहरूलाई अन्डरवल्र्डको ग्ल्यामर, गरिमा र अन्ततः विनाश देखायो। सुल्तान मिर्जा एउटा यस्तो पात्र हुन् जसले अपराधी संसारमा पनि आफ्नै नियम बनाएका थिए।
अब रवि र रास्वपाका कुरा गरौं।
हाजी मस्तान जस्तै उनले विदेशिएका, दुख पाएका मानिसको आवाज बोलेर चर्चा कमाए। तर, गैरकानुनी विषय कहिले पनि कानुनसम्मत हुने कुरा भएन। यसकारण सहकारी प्रकरणमा उनलाई निमोठ्ने ठाउँ अन्यले पाए।
तर, उनलाई देखाएर रास्वपा राजनीतिमा हुकुमी शासन चलाउन को चहाँदैछ? कार्यबाहकका नाममा रविसँग सल्लाह नगरी महामन्त्री र प्रवक्ता मनोनितको निर्णयमा को–को हावी भए?
सबैलाई थाहा छ, रास्वपाका पनि सबैलाई थाहा छ। रविको राजनीति करिब–करिब सक्किएको अवस्थाछ। उनले खोजेको न्याय भनेको बाहिर आउने हो कि राजनीति गर्ने हो? फौजदारी अभियोगमा ५ अदालत मध्य एकले मात्र दोषी करार गरेको खण्डमा पनि उनको सबै राजनीति समाप्त हुँदैछ।
तर हाजी मस्तानको आडमा अपराधको जालो बिसाउने सोएब उर्फ दाउद जस्तै को उदाउन खोज्दैछ? किन त्यो चाहिरहेको छ? यो प्रश्न अनुत्तरित बन्न हुन्न। त्यसको मुकुन्डो खुलिनुपर्छ।