नेभिगेशन
राजनीति

प्रचण्डलाई पत्रः भिष्म बधको मनोकांक्षा बोकेका(की) शिखण्डी प्रतिज्ञा

कम्युनिस्ट भनौं भने भाकपा माओवादीका नेता मारिँदा विज्ञप्तिसम्म छैन

टिप्पणीकारले राजतन्त्रको चरम बिरोधी पूर्वमाओवादी नेता, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पछिल्लो अन्तरवार्ता हेर्दा चकित बन्यो। बाबुराम भन्दै थिए,‘राजादेखि सबै दल अटाउने गोलमेचको आवश्यक छ।’

बाबुरामको यो अन्तरवार्ता हेर्दै गर्दा अनेक नाम राखेका प्रचण्ड सम्झिएँ। एक भारतीय नेताले प्रचण्ड भन्ने नाम नै भारतले दिएको बताएका भिडिओ यत्र तत्र सर्वत्र छन्। 

छविलालदेखि पुष्पकमलसम्म त देशी नाम भए। विदेशीले प्रचण्डबाहेक के–के राखिदिए थाहा छैन। 

तपाईँलाई पत्र कोर्नुअघि एउटा नाम दिन्छ टिप्पणीकार– शिखण्डी।

प्रचण्ड उर्फ शिखण्डी प्रतिज्ञाधारीजी। 

प्रेमसाथ पत्र कोरिरहेको छु। 

बलात्कार आरोपी, सुन तस्करीका नाइकेदेखि अपराधका बादशाहहरुलाई पालेर न गणतन्त्र बाँच्ने भयो, न त्राण नै रहने भयो। तपाईंको बिजोग भयो कमरेड! 

भाषण गर्दा अचेल, गणतन्त्र जोगाउने नाम लिँदा अचेल, कलेटी परेका ओठ र मुखको कापमा फिँज आउन थालेको छ। यो, शुभ संकेत होइन।

अब शिखण्डी भन्ने नाम दिएपछि त्यो किन राखियो भन्ने ब्राम्हण कर्मयोगी ब्याख्या पनि अनिवार्य होला। 

अनि तपाईको ब्याख्या गरौंला।  

शिखण्डी महाभारतका एक महत्वपूर्ण र अद्वितीय पात्र हुन् जसको कथा लैङ्गिक पहिचान, प्रतिशोध र नियतिको विषयमा आधारित छ। 

शिखण्डी प्रारम्भमा राजा द्रुपदकी छोरीको रूपमा शिखण्डिनी नामले जन्मेकी थिइन्। उनले विगत जन्ममा अम्बा नामकी राजकुमारीको रूपमा जीवन बिताएकी थिइन्। 

अम्बा भीष्मप्रति अत्यन्त आक्रोशित थिइन् किनकि भीष्मले उनलाई विवाह गर्न अस्वीकार गरेका थिए, जसका कारण उनले पुनर्जन्म लिई भीष्मको वध गर्ने प्रतिज्ञा गरेकी थिइन्।

शिखण्डिले बाल्यकालमै पुरुष बन्ने इच्छा व्यक्त गरिन्, जसलाई द्रुपदले पूरा गर्न अनेक यज्ञ गरे। पछि शिखण्डिनीले एक यक्षबाट वरदान प्राप्त गरी शिखण्डी बने। 

एक पुरुष रूप। यद्यपि उनको यो परिवर्तन जैविक थिएन, तर उनको सामाजिक पहिचान पुरुषको रूपमा स्थापित भयो।

महाभारतको युद्धमा शिखण्डीले एक अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरे। भीष्म, जो कौरव पक्षका महान योद्धा थिए, स्त्रीसँग युद्ध नगर्ने प्रतिज्ञामा अडिग थिए। यही कमजोरीको प्रयोग गर्दै अर्जुनले शिखण्डीलाई अगाडि राखी भीष्ममाथि वाण वर्षा गरे। 

भीष्मले शिखण्डीलाई स्त्री मानेर युद्ध नगरेका कारण, अर्जुनले सजिलै उनलाई रणभूमिमा परास्त गरे। यसरी शिखण्डी भीष्मको पतनको माध्यम बने।

शिखण्डीको कथा हिन्दू महाकाव्यमा लैङ्गिक पहिचान र सामाजिक भूमिकाको जटिलतालाई दर्शाउने अद्भुत उदाहरण हो। 

उनी न त पूर्ण पुरुष थिए न त स्त्री, तर पनि उनले इतिहासमा अमिट छाप छोडे। आधुनिक सन्दर्भमा शिखण्डीको कथा लैङ्गिक विविधता र आत्मपहिचानको विषयमा गहिरो बहस र चासोको विषय बन्न पुगेको छ।

यसरी, शिखण्डी केवल एक पात्र मात्र होइनन्, उनी प्रतिशोध, साहस र नियतिको प्रतीक पनि हुन्। उनको कथा महाभारतको गहिरो अर्थ र मानव चरित्रको गहिराइलाई उजागर गर्ने एक महत्वपूर्ण अध्याय हो।

प्रिय प्रचण्ड, 

कम्युनिस्ट भनौं भने भाकपा माओवादीका नेता मारिँदा विज्ञप्तिसम्म छैन। 

चुनावी नतिजा हेरेर ३२ गन्दा कांग्रेसको गन्ध आउँछ। यसकारण तपाई शिखण्डीको नयाँ अवतार हो। 

संवैधानिक राजसंस्था नमान्ने तर गणतन्त्रको माला जपिरहने। गणतन्त्र पनि कार्यान्वयनमा ल्याउन नसक्ने। जसरी शिखण्डी उभिएर भिष्म बधमा अर्जुनलाई प्रयोग गरे, तपाईले गिरिजालाई राष्ट्रपतिको लोभ देखाएर राजालाई किनारा लगाएको स्वीकार गर्नुपर्छ।

कहिले हिङ, कहिले चील भनेर कराउने र उड्ने मनोवृत्ति थचक्क भैसकेको अवस्थामा अहिले ठूला दलविरुद्ध बाहिर कराउने र भित्र भित्र लम्पसार परिरहने प्रवृत्ति राजनीति होइन, यो दुशासन चरित्रको खेल हो भन्नुमा कुनै आपत्ति हुने छैन।

असल राजनीतिक चरित्र प्रचण्डमा कहिले पनि देखा परेन। प्रतिशोधपूर्ण र हिंसात्मक पृष्ठभूमीमा उठेको दलले दिएको चोटपटक अहिले पनि मानिसका आङमा छन्। ति आङले आराम पाउनुअघि सत्ताको चरम सुख र भ्रष्ट सुखमा रमाएर फेरि त्यहिँ पुग्नका लागि जनतातिर फर्किएको भन्नु किमार्थ पनि विश्वास योग्य देखिँदैन प्रचण्डका हकमा।

तैपनि राजनीति अझै कस्तो हुनुपर्छ भन्ने मानसपटलमा घुसोस भनेर केही सुझाव दिन चहान्छ, टिप्पणीकार। 

सच्चा राजनीति जनताको आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्छ। जनताका समस्या सुन्ने, तिनको समाधान खोज्ने, र सार्वजनिक स्रोतको न्यायपूर्ण वितरण गर्ने कार्य राजनीतिज्ञहरूको प्रमुख दायित्व हो। राजनीतिमा सहभागिता जनसेवाको भावना लिएर हुनुपर्छ, न कि व्यक्तिगत स्वार्थ, सत्तालिप्सा वा भ्रष्ट आचरणका लागि।

प्रचण्डका मुखमा यी विषय नहुने होइन तर मनमा कहिले पनि पलाएन। कतिपय सहयात्रीलाई पाखा लगाएर सत्ताका निम्ति सम्झौताको यात्रामा हिँडिरहेको नजिकको बिगत सबैले देखेका छन्।

राजनीति नैतिक हुन जरुरी छ, जसमा सत्य, इमानदारी, सहिष्णुता र पारदर्शिता निहित हुन्छन्। राजनीतिज्ञहरू जनता प्रति जवाफदेही हुनुपर्छ, र कुनै पनि निर्णयमा सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्छ। जनताको विश्वास जित्न सत्य बोल्ने, काम गर्ने र निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्ने राजनीति चाहिन्छ।

तर प्रचण्डको राजनीति सबैको सहभागीतामूलक छैन। अहिले सडकमा उठिरहेको राजसंस्थावादीको आवाजलाई निमोठ्नका लागि बाहिर भाषणमा र सत्ताको प्रयोगका लागि छद्म आग्रह राखिएको तथ्य नै हो। त्यसो नगरी बरु, बाबुरामले पुनरावलोकनको आवश्यक ठानेजसरी उभिनु उचित हुन आउला।  

समावेशी र सहमतिमूलक राजनीति हुनाले सबै वर्ग, जात, लिङ्ग, भाषा, र क्षेत्रका नागरिकले आफूलाई प्रतिनिधित्व भएको महसुस गर्छन्। यस्तो राजनीति मात्र दीगो विकास र राष्ट्रिय एकताको आधार बन्छ। प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ, प्रतिशोध होइन; आलोचना स्वीकार गर्ने र सुधार गर्ने संस्कार राजनीति भित्र बस्नुपर्छ।

समावेशी र सहमतिमूलक विषयमा माओवादीको आचरण देखाउन खोजे पनि आलोचना स्वीकार गर्ने र सुधारको मार्गमा प्रचण्डको नैतिक उडान पाइन्न। सुरक्षा निकायका मानिस, हतियारधारी घेराभित्र रहेर जनतातिर फर्किएको भनी दुश्प्रचार एकातिर र अर्कातिर सत्ताका लागि नै विदेशीसँगको हारगुहार पनि अपाच्य जस्तै देखिन्छ। यसमा सुधार आवश्यक छ, प्रचण्डले स्वीकार गर्नुपर्छ।

अन्ततः, राजनीति जनताप्रति उत्तरदायी, मूल्य र सिद्धान्तमा आधारित, र राष्ट्रिय हितमा समर्पित हुनुपर्छ। जब राजनीति सच्चा अर्थमा ‘लोकसेवा’ बन्छ, तब मात्र देश समृद्ध, शान्त र न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्न सक्छ। यसका निम्ति शिखण्डी प्रतिज्ञा होइन, भिष्म प्रतिज्ञा आवश्यक हुन्छ। त्यो प्रचण्डमा विल्कुल पाइन्न।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राजावादीको प्रदर्शन सुरु