‘जस्तो भए पनि भाई नै हो, यसको सल्लाह मान्नुपर्ने थियो’, कुम्भकर्णले दाजु रावणको मृत्यु समीपमा देखेपछि सल्लाह दिएका थिए,‘विभिषणलाई फकाउने काम गरौं दाजै।’
शक्तिको उन्मादमा र भगवान महादेवको कृपासहित पाएको बरदानमा रावणलाई जति ज्ञानी भए पनि यस्तो अहंकार थियो कि, मर्ने बेला पनि भने रे,‘हे! राम।’
अचेलभरी तिख्खर बोल्ने अनि भाषणबाजीको टेलिभिजने पुरस्कार जितेका प्रसाईं भाई उत्ति साह्रो बोलेको देखिँदैन। भ्यार–भ्यार गरेकोचाहिँ सिन्धुलीतिरको सफल लेख्ने पौडेल केटो देखिन्छ।
पौडेलका उजुरीले धेरैको निद्रा हराएको थियो, हराईरहेको छ। एक हिसाबले त म उसलाई एउटा मानव पदवी नै दिन्छु– उजुरी शिरोमणि।
तिनै पौडेलका उजुरीले पहिलो पटक पद र सांसद नै चिलिम फर्किएपछि आवेगमा आएर मिडियादेखि अनेकलाई नाम लिई लिई उत्तानो पार्न खोज्ने रवि लामिछाने अहिले भैरहवाको कारागारमा मच्छर मारिरहेका छन्।
प्राथमिक चरणमा उठाएको प्रसङ्गतिर फर्किँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकाललाई स्मरण गर्न मन लाग्यो। उमेरले र थरले पनि टिप्पणीकर्ताको भाई नै भएको नाताले शीर्षकलाई उपयुक्त मानिदिन आग्रह गर्दछु।
त्यसअघि रावण र विभिषणको सम्बन्धको विषयमा थोरै चर्चा गरौं। किनभने रास्वपाको राजनीतिक लङ्कामा रवि लामिछाने र मुकुल ढकालको भूमिका यहि मानकमा देखिरहेको छ, टिप्पणीकर्ता।
रावण र विभीषण रामायणका दुई प्रमुख पात्र हुन्, जो एकै परिवारका दाजुभाइ भए पनि उनीहरूको चरित्र, सोच र कार्यशैली पूर्ण रूपमा फरक देखिन्छ। रावण लङ्काको राजा थियो, अत्यन्त शक्तिशाली, विद्वान र तपस्वी पनि थियो। तर उसको अहंकार, अत्याचार र सीताको अपहरणले गर्दा उसले पतनको बाटो समायो। विपरीत, विभीषण धार्मिक, नीति–नैतिकतामा अडिग र रामभक्त थिए।
ग्रन्थमा यसो भनेर चित्रण गरिएको भए पनि टिप्पणीकर्ताले यसलाई सरलीकरण गरेर बुझाउने प्रयास गर्नेछ।
रामले विभीषणको आफूप्रतिको निष्ठा देखेर उनलाई लङ्काको भावी राजा घोषित गरे। पछि राम–रावण युद्धमा पनि विभीषणले रामलाई रावणका कमजोरीहरू बताउँदै सहयोग गरेका थिए।
माथिल्लो वाक्यांशलाई पाठकले ध्यान दिनुहोला, यसलाई ब्याख्या गरिनेछ।
यसका दुई वटा प्रतीकात्मक सन्देश हुन्छन्। अझ राजनीतिमा खास हुन्छ।
यसको प्रतीकात्मक सन्देश यो होजब आफन्त पनि अन्यायमा उत्रन्छन् भने तिनको विरोध गर्नुपर्ने नैतिक कर्तव्य हुन्छ। अन्ततः, विभीषणको निर्णयले लङ्कामा शान्ति, सदाचार र न्यायको स्थापना गरेको मानिन्छ।
अर्कोचाहिँ जब सत्ताको भावी नेतृत्व पाउने सम्भावना हुन्छ बैरीसँग मिलेर आफन्तको कमजोरी जानकारी दिन पनि सकिन्छ। जसले उक्त सत्तामा रजगज गर्ने सपना देखिरहेको हुन्छ।
रास्वपा अहिले कतै अलमलिरहेको छ। गत चुनावदेखि अहिलेसम्मको अवधि झन्डै २९ महिना नियाँल्दा रोचक, पीडादायी र दर्दनाक अनि घुम्ती र मोडमा रास्वपा पुगिसकेको छ।
एक जोड चार गरी ५ महिना दुई पटक सत्तामा उपप्रधानसहित गृहमन्त्राल र रोजीका शिक्षा, श्रम, खेलकुद जस्तामा हावी हुन पुग्नु। अनि, ठगीको अभियोगमा जेलयात्रासम्म जानु चानचुने कुरा होइन। त्यसबीचमा उपनिर्वाचनमा पुरानो जनमतभन्दा धेरै ल्याएर लामिछानेले जित्नु अनि २० बाट २१ सांसद बनेर फेरि २० मै झर्नु भनेको यो असामान्य राजनीतिक घटनाक्रम हो, थोरै समयमा।
तर किन यस्तो भयो त?
राजनीतिक दलमा नेतृत्वको सत्ता हत्याउन विभिन्न प्रकारका षडयन्त्रहरू गरिन्छन्। प्रायः आन्तरिक शक्ति संघर्ष, महत्वाकांक्षा र पदलिप्साको परिणाम हुन्छन्। यस्ता षडयन्त्रहरूमा प्रमुख रूपमा गुटबन्दी, असत्य प्रचार, आर्थिक प्रलोभन र संगठन भित्रको असन्तुष्टि भड्काउने जस्ता गतिविधिहरू हुन्छन्।
कतिपय अवस्थामा, दलभित्रको असन्तुष्ट समूहले नेतृत्वलाई कमजोर पार्न झूठा आरोप लगाउने, गोप्य रुपमा बैठक बोलाउने, वा विश्वासको मत नलिई नेतृत्व हटाउने कोसिस गर्छ। बाह्य शक्ति वा कारोबारी हितसँग मिलेर आर्थिक स्रोतको प्रयोग गरेर पनि नेताहरू किनबेच गरिन्छ।
मिडिया प्रयोग गरेर चरित्र हत्या गर्ने, समाजमा भ्रम फैलाउने, अनि संगठनका निर्णय प्रक्रियालाई लत्याउने जस्ता कार्य पनि षड्यन्त्रकै हिस्सा हुन्छन्। कतिपय अवस्थामा पार्टीको विधान नै आफूअनुकूल परिमार्जन गरेर सत्ता कब्जा गरिन्छ।
यसरी राजनीतिक दलमा सत्ता हत्याको षडयन्त्रले संगठनको लोकतन्त्र कमजोर बनाउँछ, कार्यकर्तामा निराशा ल्याउँछ र अन्ततः दलको विश्वसनीयतामा आँच पनि आउँछ। यस्तो प्रवृत्तिको नियन्त्रणका लागि पारदर्शिता, आन्तरिक लोकतन्त्र र मूल्य–आधारित नेतृत्व अपरिहार्य हुन्छ।
रास्वपा यहि नियात्रामा गुज्रियो। सभापतिमाथि सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग लागेर जब न्यायीक निरुपणको सुरुआत भयो, पार्टीको सबै शक्ति सडकमा उत्रियो। तर, त्यसले कुनै पनि परिणाम ल्याउन सकेन।
यहि विषय सदनमा उठाउने भनेर फेस सेभिङका लागि फर्किनुअघि मुकुल ढकाल जस्ता पार्टीको आन्तरिक जीवन मात्र होइन, सभापति लामिछानेको निजी जीवनलाई समेत राम्रोसँग बुझ्न सकेका पात्रमाथि कारबाही चलाइयो। सांगठनिक रुपमा उनका कमी कमजोरी थिए होला तर अकास्मात् कारबाहीले बाह्य आक्रमण कति बलियो हुने रहेछ भन्ने कुराको ज्ञान अहिले त भएको हुनुपर्छ।
सत्ता समीकरणको उतार चढावमा प्रतिपक्षको कित्तामा पुग्दा रास्वपाका सांसदले संगठन, मतदाता र पार्टी जीवनभन्दा बढी माओवादीको साथ लिएर सत्तोश्रापको नीति अख्तियार गरेको स्पष्ट देखियो। अहिलेको घटनाले स्पष्ट के भयो भने अब रास्वपासँग आफूभन्दा बाहेकको एजेन्डा रहेन। प्रखर गणतन्त्रवादीको साथ थियो उसले सत्तासँग सम्झौता गरिदियो, प्रखर राजसंस्थावादीको साथ छ पछाडि फर्किन सक्ने अवस्था छैन। एक्लै हिँडौं, सत्ता र प्रतिपक्ष भन्दै केन्द्रमा नै २९ महिनाको समय खर्च भयो।
निर्वाचनमा ल्याएको मत सुरक्षणका निम्ति लागि नपर्दा उपनिर्वाचनमा इलाम गुमाएको, स्थानीय तहको निर्वाचनमा काठमाडौं–१६ बाहेक राम्रा ठाउँमा प्रमुख उपप्रमुखमा उम्मेदवारी दिन त्रसित भएको र त्यसबाहेकका ठाउँमा पराजित हुनुले पनि राजनीतिक जीवनमा रास्वपाको मूल्याङ्कन र आत्ममूल्याङ्कन बाहिर र स्वयम्ले पनि गरेको हुनुपर्छ।
यी सबै गतिविधि हेर्दा रास्वपाको लङ्कामा डढेलो लागेको देखिन्छ।
तर, यत्ति भन्दैमा सर्बस्वह स्वाहा भैसकेको छैन। यो पाठ लिएर विकल्पको त्राणको नेतृत्व गर्न सक्ने सम्भावना छन्। हाललाई न्यायीक निरुपण नसकिएसम्म सभापति लामिछानेलाई भैरहवाको कारागारमा प्रेमध्वज प्रधानको ‘पर लैजाऊ फूलहरू’ भन्ने गीत गुन्गुनाउन छाडेर केही नयाँ सुरुआत गरे हुन्छ।
पहिलो त रास्वपाको निर्धारित महाधिवेशनबाट नयाँ नेतृत्व चयन र सैद्धान्तिक मार्गचित्रको रेखाङ्कन आवश्यक देखिन्छ। दोस्रो सांगठनिक संरचना र त्यसको विस्तार अनि जिम्मेवारी, कार्यबाहकबाट पूर्ण जिम्मेवारीसहित विभागीय प्रशिक्षण र सदस्यता विस्तारसँगै वैकल्पिक राजनीतिको पैरवी, भ्रष्टीकरणको भण्डाफोर आवश्यक छ।
अनि, तेस्रोचाहिँ सबै जिल्लामा युवा पंक्तिमा रास्वपाको प्रस्थानविन्दु। सदस्यता नयाँ आउने होइनन्, अन्य दलमा फ्रश्टेशनमा रहेका तर राम्रा संगठकलाई जोड्ने प्रक्रिया। छरिएर रहेका वैकल्पिक शक्तिको पनि हिसाब गरेर पूर्ण गोलमेच सम्मेलनसहित छरिएका, छारष्ट भएका स्वतन्त्रदेखि स्वतन्त्रसम्मका मतलाई एक ढिक्का बनाउन सकिन्छ।
व्यवस्था गतिलो बनाउनका लागि कहिलेकाहीँ मत कलेक्शन दर्विलो उपाय बन्न सक्छ। अहिले राज्यले प्रताडित बनाउन खोजेको चाहे त्यो जुनसुकै वादको छत्रछायाँमा चलिरहेको होस् त्यसलाई एकत्रित गरी एउटा मूल बनाउन सक्यो भने मात्र नदी बनेर निरन्तर बग्न सक्छ। यसकारण सिद्धान्तको मिलनविन्दुलाई पहिल्याएर चुनावी माध्यममा जानुको विकल्प छैन।
तीन दलीय सिन्डिकेटभन्दा बाहिर रहेका शक्तिको जनमत पनि कमजोर छैन, त्यसलाई हिसाब गरेर रास्वपाले आफ्नो नेतृत्वमा गर्न सक्छ। नेता आफ्नै दलको बन्नुपर्छ भन्ने छैन, साझा विन्दुका लागि दलको नेतृत्व तर नेता सर्वमान्य ठानेर छरिएका मतलाई एकत्रित नगरेसम्म रास्वपाले वैकल्पिक शक्तिलाई आगामी निर्वाचनसम्म बलियो बनाउन नै सक्तैन।
जसरी नेपालको प्रणाली ‘वेस्ट मिनिस्टर सिस्टम’मा चलिरहेको छ। यो भनेको ‘डिभाइड एन्ड रुल’को अभ्यास हो। यो घेरालाई तोड्नका लागि छारस्ट भएका शक्तिको मिलनविन्दु ‘कार्यकारी प्रमुख’ बन्न सक्छ। त्यसमा गएर पनि विकल्प दिन सकिन्छ।
जसरी विश्वमा कम्युनिस्टका किल्ला, सोभियत संघ ढलिरहँदा नेपालमा नेकपा मालेका महासचिव मदन भण्डारीले कम्युनिस्टको जग बलियो बनाएका थिए आफ्नो पहलमा त्यो नीति अख्तियार गर्नु नै पर्छ।
मदन भण्डारीले एकतित्र कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेलिनवादी (एमाले) बनाउँदा पद हेरेनन्, ठूलो पार्टी हुँदा पनि महासचिवमा रहेर अध्यक्ष मनमोहन अधिकारीलाई बनाएका थिए। त्यो व्यवाहारिक ज्ञानको बाटोलाई रास्वपाले लिन सके मात्र उपाय देखिन्छ, अन्यथा त रास्वपाका सभापति लामिछानेदेखि धेरैले यीनै तीन दलको शासन शैली हेदै भक्तराज आचार्यको गीत गुनगुनाउनुपर्छ, ‘मुटु जलीरहेछ, घाउ दुखीरहेछ...!’
जय होस्।