समाजको दृष्टिकोण कस्तो बनिसक्यो भने, तपाई आलोचना गर्नुहोस् बिरोधी ठान्छ। राम्रो र सुसंस्कृत समय र नीतिको कुरा गर्नुहोस् सबैभन्दा नमिठो, नराम्रो खत्तम मानिस तपाईँ बन्नुहुनेछ।
कुशासनको जरा यत्ति फैलिसक्यो कि तपाई सुशासनको कुरा गर्नुहुन्छ भने बकुल्ला जस्तो देखिनु हुनेछ। नेपालको राजनीति, समाज र श्रमका कुरा गर्ने हो भने एउटा सन्तुलित विचार बोकेको मानिस ‘डिप्रेशन’मा जानेछ।
लेखेर के नै हुन्छ र यहा? बोलेर के हुन्छ? कसले सुनिदिन्छ? कसले बुझिदिन्छ। पीडा बताउन थाल्यो भने बह पोखे जस्तो, नीति भन्न थाल्यो भने थिति नभएको जस्तो हुन्छ। तैपनि एकाध मानिसले कम्तिमा पढ्यो भने पनि परिवर्तन यो सोचका निम्ति घोत्लिने आश त हुन्छ।
म राजनीतिको कुरा गर्नेछु, आज। राजनीतिमा लिडरसीप र त्यसमा पुस्तान्तरणको विषय कोट्याउँछु। हुन त यो विषय नकोट्याउने को होला र? कोट्याउने आजका दिनमा खोट बसेको घाउभन्दा बढी केही भएन। तर पनि परिवर्तन सम्भव छ र हामीले गर्नुपर्छ भन्ने मानकलाई विर्सन पनि त भएन। यदि बिर्सियो भने आशाको त्यान्द्रो पनि बाँकी रहनेछैन।
कसैले भनेको रहेछ,‘ सबै कुरा आफैं गर्न चाहने वा त्यसको सबै श्रेय लिन चाहने कुनै पनि मानिस महान् नेता बन्न सक्दैन।’
तर नेपाली राजनीतिमा प्रमुख भनिने दलका नेतालाई हेर्दा संसारको कायाकल्प नै उनीहरुले गरेको जस लिन्छन्। देश भ्रष्टाचारको खाडलमा हालेको जस लिन रुचाउँदैनन्, एउटा दलमा ओथारो बसेको कुखुरी जस्तो नेतृत्वमा बसेर रसमलाई खाइरहेकाहरु छन् अनि परिवर्तनको डिंगा फ्याँक्छन्।
म यीनिहरुलाई ओथारे बुढा भन्न रुचाउँछु।
खासगरी शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई यी र यस्ता अनुहार भएका मानिस कुनै कोणबाट पनि नेता जस्ता देखिँदैनन्।
अनि यीनको पछि लागेर आफूलाई युवा भन्ने बुढालाई त कसरी नेता मान्नु। जबसम्म राजनीतिक दलभित्र लोकतान्त्रिक मूल्य र मान्यता अनि संघर्ष गरेर नेतृत्वमा प्रतिस्थापन हुने होड हुन्न, यीनले मुलुकलाई विश्वको मानचित्रबाट गायब बनाउनेछन्, ढुक्क हुनुहोस्।
अझ भन्न रुचाउँछु ए ओथारे नेता हो, चल्ला नै बुढा भैसके कतिसम्म रसपान गर्नुपर्छ अझै?
राजनीतिमा पुस्तान्तरणको विषयको बहस हुन सकेको छैन। यो बहसलाई निमिट्यान्न बनाउने काम भैरहेको छ। तर जबसम्म पुस्तान्तरणको बहससँगै कार्यान्वयनको पक्षमा उक्निले हिम्मत हुँदैन, मुलुकले परिवर्तन गर्न सक्तैन। यथास्थितिमा नै चल्नेछ।
नाम, वतन र मुहार अलग भए पनि कांग्रेस, एमाले र माओवादीको चरित्रमा कुनै फरक छैन। यी दल घुम्ने मेच हुन र यसका नेता त्यसैमाथि बसेका ...तिनै मानिसहरु हुन्। समयमा भूपी शेरचनले लेखिदिए पनि यसमा घोत्लिन कुनै राजनीतिक दलका बुढा, अर्धबैंसे र युवाले भ्याएका छैनन्।
राजनीतिमा पुस्तान्तरणको आवश्यकता किन छ?
राजनीति कुनै स्थिर वस्तु होइन; यो समय, समाज, र मानवीय आवश्यकतासँगै परिवर्तनशील विषय हो। पुस्तान्तरण भन्नाले पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्वको हस्तान्तरण वा उत्तराधिकारको प्रक्रिया बुझिन्छ। राजनीतिमा पुस्तान्तरणको आवश्यकता केवल उमेरको कारण मात्र होइन, सामाजिक, आर्थिक, र प्राविधिक यथार्थमा आएको परिवर्तनका कारण पनि हो। यस लेखमा, राजनीतिमा पुस्तान्तरण किन आवश्यक छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गरिनेछ।
समयसँग चल्न नयाँ सोच आवश्यक
विश्व लगातार परिवर्तन भइरहेको छ—प्रविधि, सञ्चार, शिक्षा, रोजगारीका स्वरूप, र जनताको आकांक्षाहरू परिवर्तन भइरहेका छन्। नयाँ पुस्ता नयाँ प्रवृत्ति, प्रविधि, र विचारधारासँग बढी परिचित हुन्छ। पुरानो पुस्ताले स्थापित मूल्य र संरचनालाई निरन्तरता दिने प्रयास गर्दा गर्दा परिवर्तनका आवश्यकतालाई बेवास्ता गर्ने सम्भावना हुन्छ। यसैले, राजनीति पनि नयाँ पुस्ताको दृष्टिकोण आवश्यक हुन्छ, जसले यथास्थिति तोडेर समाजलाई नयाँ दिशा दिन सक्छ।
प्रतिनिधित्व र समावेशिता
प्रत्येक पुस्ताको आफ्नै समस्या, चिन्ता, र आकांक्षा हुन्छ। यदि नयाँ पुस्तालाई राजनीतिमा सहभागिता नदिइयो भने, उनीहरूको आवाज प्रतिनिधित्व हुन सक्दैन। पुस्तान्तरणको अर्थ नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर तिनीहरूको सवाल राजनीतिमा प्राथमिकतामा राख्नु हो। जब युवाले नेतृत्व लिन्छन्, तब शिक्षा, रोजगारी, नवप्रवर्तन, जलवायु परिवर्तनजस्ता विषयहरू प्राथमिक मुद्दा बन्ने सम्भावना हुन्छ।
दीर्घकालीन दृष्टिकोण
पुरानो पुस्ता प्रायः अल्पकालीन लक्ष्यहरूमा केन्द्रित हुन्छन्, किनभने उनीहरूको सेवा अवधि वा सक्रिय समय सीमित रहन्छ। तर नयाँ पुस्ताले दीर्घकालीन योजना बनाउन सक्ने अवसर हुन्छ, जस्तै—समावेशी शिक्षा प्रणाली, दीगो विकास, प्रविधिमैत्री प्रशासन आदि। दीर्घकालीन सोचले समृद्ध, न्यायपूर्ण, र भविष्यमुखी समाजको निर्माण गर्न सक्दछ।
नेतृत्व विकास र उत्तराधिकारको निरन्तरता
राजनीतिक संस्थाहरूमा नयाँ नेतृत्वको विकास नहुँदा संस्थाहरू कमजोर र निर्भरशील हुन्छन्। पुस्तान्तरणले योग्य र सक्षम नयाँ नेतृत्व तयार पार्न सहयोग गर्छ। यो लोकतन्त्रको सुदृढिकरणको लागि पनि आवश्यक छ, जहाँ नेतृत्व व्यक्ति होइन, संस्थाको आधारमा अघि बढ्छ।
भ्रष्टाचार र सत्ता केंद्रीकरणको अन्त्य
लामो समयसम्म एउटै पुस्ता वा नेतृत्वमा रहेको समूह सत्ता नछोड्ने प्रवृत्तिले सत्ता दुरुपयोग, भ्रष्टाचार, र सत्ताको केंद्रीकरणको समस्या निम्त्याउँछ। पुस्तान्तरणको माध्यमबाट शक्ति वितरण हुन्छ, नवीन नेतृत्व आउँछ, र पारदर्शिता र जवाफदेहिता बढ्छ।
अन्तरपुस्तीय संवाद र सहकार्य
पुस्तान्तरणको अर्थ पुरानो पुस्तालाई विस्थापन गर्नु होइन, बरु पुरानो र नयाँ पुस्ताबीचको सहकार्य सुनिश्चित गर्नु हो। अनुभव र नवीनताबीचको संयोजनले सशक्त र सन्तुलित नीति निर्माणमा मद्दत गर्छ। यसरी, पुस्तान्तरणले राजनीतिलाई दिगो र सशक्त बनाउँछ।
कसैलाई गाली या तालीका लागि यो भनिएको पनि होइन। मुलुकमा २५० बर्ष राजतन्त्रले ध्वस्त बनायो भन्नेहरुले कति बर्षसम्म नेतृत्व हाँकिरहेका छन्?
तिनको पार्टी र तिनले ल्याएको बहुदलीय व्यवस्थामा के भयो? बहुदलीय व्यवस्था खराब हुँदा उम्रिएको दुईपाते माओवादी कहाँ मिसियो र के गरिरहेको छ?
दीर्घकालिन सोच र अवसरका निम्ति हो भने अन्तरपार्टी संघर्षबाट नेतृत्व हत्याउने विषय मूल हो। यो मूलमा जबसम्म हस्तक्षेपकारी प्रहार हुँदैन, मुलुकमा शेषमा रहेका बुढा मतदाताले फरक पार्टीलाई जिताउने भन्ने कुरा हुँदैन।
नयाँ पार्टीले बहुमत ल्याउनका लागि बहुआयामिक मतदाता नेपालमा रहनुपर्छ। विदेशमै रहे पनि तिनले मतदानको अधिकार पाउनुपर्छ। तर, यो सदन या सरकारले त्यस्तो व्यवस्था गर्दैन किनभने ओथारे बुढाहरुलाई थाहा छ, पाखा लागिन्छ भन्ने। यसर्थ, पार्टीभित्रको संघर्षबाट पुस्तान्तरण नै अहिलेको अनिवार्य र बस्तुनिष्ठ परिवर्तनको आधार देखिन्छ। अन्यथा बारीको डिलमा बसेर परदेशको सन्तान पर्खिँदै रुनुको विकल्प छैन, हुन्न र हुँदै हुँदैन पनि।
मेरो स्पष्ट भनाइृ छ– राजनीतिमा यसरी ओथारो बसेकाहरुलाई चुनावी (आन्तरिक होस् या बाह्य) रुपमा पाहा पछारे जस्तो कसले पछार्ने? यत्ति नगरी त दुई हातले लोपारेर हुनेछ, परिवर्तन। म यस विषयमा भिमार्जुन आचार्यसँग सहमत हुँदै बिट मार्छु– अबको चुनावमा पुराना र सत्ता लिप्सा नेतालाई ठाउँको ठाउँ नहराए हामीसँग बाँकी रहने चिज भनेको ‘बर्बराउने काम’ मात्र हुनेछ।