नेभिगेशन
विचार
टिप्पणी

आरजु राणालाई किन ‘राजनीतिक खलनायिका’ बनाइँदैछ?

कुनै महिला पात्र जो शोषणबाट पीडित भइ प्रतिशोधमा उत्रन्छे, उसलाई परम्परागत रूपमा खलनायिकाको रूपमा चित्रण गरिए पनि आधुनिक दृष्टिकोणले हेर्दा उसले गरेको विद्रोह जायज ठहर्न सक्छ

काठमाडौं– यो सत्ता समीकरण बन्नु र अघिल्लो गठबन्धन नभत्किँदा पनि नेपाली कांग्रेसकी नेत्री आरजु राणालाई राजनीतिक खलनायिकाका रुपमा चित्रण गरियो।

हाल सरकारको परराष्ट्रमन्त्री समेत रहेकी राणा पत्रकार दिलभूषण पाठक प्रकरणसम्म आउँदा अझ निक्कै तेज प्रहारमा परेकी छन्।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भनी राणालाई दोषी देखाउँदै समाचार प्रकाशन भएपछि त उनले सामाजिक सञ्जालमार्फत खण्डन पनि गरेकी छन्।

आखिर किन खलनायिका बनाइँदैछ? पहिला त खलनायिकाको चित्रण गरौं र सन्दर्भतिर जोडिऔं। 

साहित्य, सिनेमा, नाटक र लोककथाहरूमा ‘खलनायिका’ (महिला खलचरित्र) को भूमिका महत्वपूर्ण र बहुआयामिक हुन्छ। 

खलनायिका भन्नाले त्यस्तो महिला पात्रलाई जनाइन्छ, जसले कथाको नायक वा सकारात्मक पात्रको प्रतिकूलमा काम गर्छिन्। उनी कथाको द्वन्द्व सिर्जना गर्ने, चुनौती दिने, वा कहिलेकाहीँ नायकभन्दा पनि बढी प्रभाव पार्ने पात्र बन्न सक्छिन्। तर खलनायिकाको छविले समयसँगै परिवर्तन पनि भोगेको छ।

प्रारम्भिक समयमा खलनायिका सामान्यतया ईष्र्यालु, निर्दयी, चतुर, षड्यन्त्रकारी, वा बदला लिने खालको देखाइन्थिन्। 

खासगरी हिन्दी वा नेपाली सिनेमामा सासूको भूमिकामा आउने महिला, प्रेमिकालाई दुःख दिने प्रतिस्पर्धी महिला, वा सम्पत्ति हडप्ने लालची स्त्रीहरूलाई खलनायिकाको रूपमा चित्रण गरिन्थ्यो। उनीहरू मुख्यतया नारीत्वको ‘आदर्श’ छविबाट विचलित पात्र हुने गर्थे अर्थात् विद्रोही, आत्मनिर्भर, वा यौनिक रूपमा स्वतन्त्र।

तर आधुनिक समयमा खलनायिकाको भूमिका मात्र नकारात्मक छैन; बरु धेरै खलनायिकाहरू सामाजिक संरचना र पितृसत्तावादी मान्यताप्रति प्रश्न उठाउने पात्रका रूपमा पनि देखिएका छन्। उनीहरूका व्यवहारलाई केवल द्वेष, ईष्र्या वा स्वार्थका नजरले मात्र होइन, सामाजिक पृष्ठभूमि र व्यक्तिगत संघर्षका दृष्टिले पनि बुझ्न थालिएको छ।

उदाहरणका लागि, कुनै महिला पात्र जो शोषणबाट पीडित भइ प्रतिशोधमा उत्रन्छे, उसलाई परम्परागत रूपमा खलनायिकाको रूपमा चित्रण गरिए पनि आधुनिक दृष्टिकोणले हेर्दा उसले गरेको विद्रोह जायज ठहर्न सक्छ। यसले समाजमा महिलाको भूमिकाबारे पुनः विमर्श गर्न उत्प्रेरित गर्छ।

खलनायिकाहरूको पात्रले धेरैपटक महिलासम्बन्धी द्वैध दृष्टिकोण पनि उजागर गर्छ। 

समाजले महिलालाई कोमल, सहनशील र मर्यादित हुनुपर्ने अपेक्षा राख्छ, तर जब उनीहरू ती सिमाना पार गर्छन्, तिनीहरू ‘खलनायिका’ बनाइन्छन्। यस्तो दृष्टिकोण स्वयंमा पितृसत्तात्मक सोचको उपज हो।

अब सन्दर्भमा प्रवेश गरौं। 

नेपालको सत्ता राजनीतिमा प्रभावकारी भूमिकामा रहेकी राणाको पहिलो दोषचाहिँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी बन्नु पनि हो। अर्को, कांग्रेसमा उनको प्रभावकारी भूमिका र केन्द्रीय सदस्य रहनु पनि हो। 

सदनमा पनि उनलाई त्यसरी नै चित्रण गर्ने अनेक प्रयास भए। पहिलो त रास्वपा सभापति रवि लामिछानेले सांकेतिक रुपमा राणाको नकारात्मक चित्रण गरे। 

राणालाई रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणको मूल अभियुक्तका रुपमा चित्रण गर्न खोजेको थियो। 

यहाँसम्मकी सदनमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले ‘भाउजू’ भनेर तिखो प्रहार गरेका थिए। राणाले यसको खण्डन गर्न विभिन्न मिडियामा अन्तरवार्ता दिनु परेको थियो।

चुनावका बेला एमालेले उनको भाषणलाई लिएर नकारात्मक चर्चा गरेको थियो। उनले डडेल्धुरामा दिएको स्थानीय तहलाई बजेट ल्याउन पनि देउवाले जित्नुपर्ने अडान अनि धनगढीमा फ्रि टिकट, फ्रि भिसाको विषयलाई प्रचार गरियो।

जे विशेषणका आधारमा राणाको राजनीतिक चरित्रमा प्रश्न उठाए पनि उनी प्रभावी महिला बन्नु नै दोष रहेकोसम्म बुझ्न सकिन्छ। सत्ता र शक्तिको उपयोग उनले कति गर्छिन् या गर्दिनन्, टिप्पणीकर्ता त्यसबारेमा जानकार छैन। तर, सतहमा जसरी उनको चित्रण गरिन्छ त्यसभित्र कति सत्य र कति झूठ छन् भन्ने विषय मापन आवश्यक छ। 

राणाका सन्दर्भमा उक्ति के हो भने उनलाई राजनीतिक ‘गसिप’को पात्र बनाइएको हुन सक्छ। किनकी टिप्पणीकर्ताले ठान्छ कि गसिप भनेको ‘दुई तिहाई झूठ र एक तिहाई सत्य’ हो। बाँकी विषय त सन्दर्भबस विस्तारै घटनाक्रमले खुलाउँदै जाला नि, हैन र?
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार