"देश चलिरहेको छ भने पशुपतिनाथकै कृपाले हो" — यो वाक्य अघिल्लो दशकभरि सामाजिक सञ्जालदेखि चिया पसलसम्म घन्किएको चेतनाको एक प्रतिध्वनि हो—मजाक पनि, व्यङ्ग्य पनि र कठोर यथार्थ पनि।
नेपाल विगत दशकमा संविधान जारी गर्ने, संघीयता कार्यान्वयन गर्ने, तीन तहका निर्वाचन सम्पन्न गर्ने, भूकम्पपछिको पुनर्निर्माण थाल्ने, कोभिडको सामना गर्ने, लोकतन्त्र संस्थागत बनाउने जस्ता उपलब्धिहरू हासिल गर्न सफल भयको भनियता पनि, ती उपलब्धिहरूको छायाँमा व्यापक असन्तोष, अविश्वास, कुन्ठा र निराशाको रंग गहिरिँदै गएको छ।
यो लेख यही मनोदशालाई केन्द्रीत गर्छ— कसरी तेस्रो विश्वमा सत्ता प्रती नागरिक हरुको चरम अविश्वास बढिरहेको छ र सत्ता को नैतिक रुपमा पतन भैरहेको वा गराइएको छ भन्ने विषयलाई हाम्रो देश नेपालमा पनि राज्य, राजनीतिक दल, न्याय प्रणाली, शिक्षा, स्वास्थ्य, प्रहरी प्रशासन, कर्मचारी तन्त्र, व्यापारी वर्ग सबैप्रति सबैको अविश्वास गहिरिँदै गयो, र कसरी जनताले आफूलाई मात्र होइन, अब राज्यलाई समेत पशुपतिनाथकै भरोसामा छोडेका छन्।
राजनीतिक चरित्रहरूको पतन : व्यक्तिमा होइन, चरित्रमै संकट
नेपालको राजनीति अब कुनै 'नायकप्रति विश्वास' होइन, 'सबैप्रति घृणा' को चरणमा पुगेको छ।
केपी शर्मा ओली— शक्तिशाली पार्टीका अध्यक्ष लाई किड्नी फेल भएको भन्छन्, १४ वर्ष लोकतन्त्र लागि जेल बसेको बताए ता पनि गफ दिने मामलामा उनले गिनिज बुक तोड्न सक्ने खालको लोभलाग्दो निरन्तरता देखाएका छन्। "मेरो नाक भाँच्चिएको छैन", "गोलभेँडाको उत्पत्ति नेपालबाट भएको हो"—यी भनाइहरूले जनता हाँसे पनि, राजनीतिप्रति विश्वास घटाएको घटायै छन्।
प्रचण्ड—क्रान्तिको नाममा जनविश्वास कमाउने र सत्ताको हरेक सिँढी चढेका ‘जनयुद्ध’का पूर्वसञ्चालक आज जनतामाझ हत्यारा, परिवार मोह भयका आदि आदिको छविमा देखिन्छन्। जनयुद्धका ४० बुदे माग,शहिदका सपना, ट्रान्जिसनल जस्टिस, सत्य निरूपण आयोग, बेपत्ता खोज आयोग—सबै ठप्प छन्।
शेरबहादुर देउवा—पाँचपल्ट प्रधानमन्त्री, तर कहिल्यै राष्ट्रिय नीति दिन नसक्ने अफुलाइ बाटो पनि नछाड्ने असफलताका मूर्तिमान प्रतिनिधि मानिन्छन् ।
रवि लामिछाने—सुरुमा जनताको आशा बने, पत्रकारिताबाट राजनीतिमा होमिए। तर चाँडै नै ‘ठगी’ को आरोप, नागरिकता विवाद, कार्यशैलीमा अराजकता देखिन थालेपछि विश्वास खस्कियो।
राजेन्द्र लिङ्गदेल - व्यवस्था को विरोध गर्ने तर व्यवस्था ले दियका सबै सुविधा भोग गर्ने ; उपप्रधानमन्त्री पनि हुने र प्रदेश खारेज भन्ने प्रदेश कै सभामुख खाने जस्ता आरोप हरु छन ।
माधव नेपाल - एमालेमा जनवाद हनन भयो,एकलौटी भयो भनेर पार्टी फोरेका आफुले तेस्तै तेस्तै गरेका र अख्तियार को फन्दामा ।
सिके राउत—सुरुमा ‘सेप्रेटिस्ट’, पछि मुख्यधारमा, तर अझै जनमानसमा ‘राष्ट्रघाती’ भनेर हेरिने पात्र।
बाबुराम भट्टराई—विद्वान भए पनि ‘भारतीय दलाल’ र छेपारो भन्ने गम्भीर आरोप जनधारणा बनेरै बसेको छ।
बालेन शाह—उदाउँदै गरेका शहरी नेताको छवि बनाए पनि सत्ताधारी दलहरूले ‘ट्यापे’, ‘गजडी’, ‘अनुभवहीन’ भन्न भ्याएका छन ।उनका सकारात्मक विषय हरुमा भन्दा कमजोरी हरुलाइ कोट्यायार ह्यारास गर्ने गरिन्छ।
यी सबै नामहरू कुनै एउटै धार वा पार्टीका होइनन्, तर समग्र राजनीतिक चेतना र चरित्रको सार्वभौम पतनको प्रतिबिम्ब हुन्। सबै खत्तम,सबै भ्रष्ट,सबै नालायक भन्ने गरिको जुन भाष्य जबर्जस्त निर्माण गरि स्थापित गर्न खोजिएको छ जसले गहिरो अविश्वास सिर्जना गरेको छ। सबैलाई सबैले खराब,भ्रष्ट,असफल,नालायक भन्ने गरि आरोप लगाउने खेती नै चलेको छ जसले कुनै पार्टी वा व्यक्ति प्रति को मात्रै अविश्वास र घृणा जस्तै देखियता पनि सिङ्गो देश नै असफल बन्ने खतरा लाई नजरअन्दाज गर्न सकिदैन ।
संस्थाहरूमा भरोसाको ह्रास : एउटा ढल्दै गएको स्तम्भ
शिक्षा प्रणाली—निजी विद्यालयहरू मुनाफामुखी, सरकारी विद्यालयहरू स्रोतविहीन। शिक्षा अब चेतनाको प्रेरणा होइन, मास फ्रसट्रेसन र निराशाको दस्तावेज भएको छ—जसले बेरोजगारी उत्पादन मात्र गर्छ।
स्वास्थ्य प्रणाली—सरकारी अस्पतालमा औषधि छैन, निजी अस्पतालमा पैसा बिना जीवन छैन। कोभिड महामारीको समयमा हजारौं जनाले सास रोकिएर मरे, उपचारको नाममा ठगी भयो।
न्याय प्रणाली—अदालतकाका न्यायाधीश हरु प्रती नै नागरिकमा आशंका चुलियको छ, बार एसोसिएसनभित्र गुटबन्दी, ढिलो न्याय—सबैले गर्दा न्यायले भरोसा गुमाएको छ।
प्रहरी प्रशासन—राजनीतिक हस्तक्षेप, साख गुमाउने खाकी वर्दी, अपारदर्शिता, र आत्मविश्वास गुमाउदै गरेको प्रहरी ।
कर्मचारी तन्त्र—फाइल पास गर्न घुस चाहिन्छ, सेवाग्राहीले कार्यालयमा चाप्लुसी गरेर काम गराउनुपर्छ। 'काम चोर' भन्ने आरोप सामान्य नागरिकको मुखको शब्द बनेको छ। सिमित बदमास हरु ले गर्दा ठूलो संख्यामा इमानदार र क्षेमतावान कर्मचारी हरुले पनि आत्मविश्वास गुमाउँदै ।
व्यापारी वर्ग—‘माफिया’ भनेपछि अब कुनै स्पष्टीकरण आवश्यक पर्दैन। ठेकेदार, आपूर्ति व्यवसायी, मेडिकल सप्लायर—सबै मुनाफामात्र हेर्ने, मूल्य र गुणस्तरमा बेइमानी।
एकाध खराब लाई नजिर बनायर सबैलाई फटाहा को उपनाम दिइदा देश धनी बन्नु पर्या छ तर कसैले व्यापार /व्यावसाय गरि धनी बन्यो भने भ्रष्ट/चोर को उपमा पाइहाल्छ।
सामाजिक मनोविज्ञान : निराशा, वितृष्णा र आत्मविश्वास गुमाउँदै नागरिक
नेपालको सामूहिक चेतना आज 'आशावाद' बाट 'नकारात्मकता','व्यङ्ग्य' हुँदै निराशा र पलायन मा प्रवेश गरिसकेको छ।
युवाहरू विदेश जान चाहन्छन्, यहाँ बाँकी बसेकाहरूले आफूलाई भाग्यका भरमा परेको महसुस गर्छन्। पुराना नेताहरू सबै ‘काम नलाग्ने’ भइसके, नयाँ नेताहरूप्रति भनिन्छ—"एस्ताले के गर्लान!"
कलाकार 'बिकाउ', पत्रकार 'पार्टी एजेन्ट', बुद्धिजीवी 'अनुदानखोर', डाक्टर 'कमिसनखोर', शिक्षक 'निरुत्साही' भनेर चित्रित हुने देशमा मनोबल कहाँबाट आउँछ?
पछिल्लो समय सामाजिक सञ्जालमा ‘ट्रोल संस्कृति’ ले व्यक्तिको आलोचना होइन, चरित्रहत्या र संस्थाको अपमानलाई सामान्य बनाइरहेको छ।
अर्थतन्त्रको अवस्थाः आयातमुखी देश, निर्यात शून्य, रेमिट्यान्स भर
नेपालले २०८० सालको बजेटमा १७ खर्ब बराबरको आय देखायो, तर त्यसमा एक तिहाइ भन्दा बढी ऋण र अनुदान थियो। निर्यात—न्यूनतम, प्रायः हस्तकला, चिया, जडीबुटी। आयात—१० खर्बभन्दा बढीको, जसमा खाद्यान्न, इन्धन, लत्ताकपडा, निर्माण सामग्री, मेसिनरी, यत्रा सबै छन्।
रेमिट्यान्स—वैदेशिक रोजगारबाट पठाइएको पैसा देशको विदेशी मुद्रा सञ्चिति टिकाउने एउटै खम्बा। तर यही रेमिट्यान्सले घर किन्ने, चरम उपभोक्ता वादी सस्कृतिको विकास भइ मोटरसाइकल किन्नेदेखि काठमाडौंमा घर ठड्याउने ट्रेन्ड बनाएको छ, जुन उत्पादक होइन, उपभोगमुखी मानसिकताको उपज हो।
जनताको अन्तिम उपाय : पुरुषार्थवादी होइन भाग्यवादी
अब त पशुपतिनाथकै भरोसा छ—यी वाक्य मजाक होइनन्। राज्यप्रति/सरचना प्रती भरोसा गुमेपछि मानिस निराशा वादी,पलायन वादी र पुरुषार्थ वादि नभै अकर्म वादी बन्दछ। यही कारण पशुपतिनाथ शब्दले अब केवल धार्मिकता होइन सिङ्गो व्यवस्था प्रतिको अविश्वासको प्रतिनिधित्व गर्न थालेको छ।
अबको निकास : सनातनी मूल्यमा भरोसाको पुनर्जागरण र माटो सुहाउँदो विकास
नेपालमा आजको गहिरिँदो अविश्वास, निराशा र आत्मविश्वास हीनता विरुद्धको औषधी केवल सत्ता र सरकार बदल्नु मात्र होइन, मूल्य बदल्नु पनि हो। सनातनी मूल्य—सत्य, धर्म, अहिंसा, कर्तव्यबोध, स्वावलम्बन,आत्मविश्वास —यी आज सैद्धान्तिक होइन, व्यवहारिक आधार बन्न सक्ने शक्तिशाली विचार हुन्।
नयाँ पुस्ताले राजनीतिको परिभाषा र आचरणमा परिवर्तन ल्याउन सक्छ, तर तिनले व्यवस्था सिँच्न नसक्ने हो भने निराशा अझ भयावह बन्छ। नागरिक समाज, पत्रकार, बौद्धिक वृत्त र न्यायपालिकाले आफैँ आत्मसमीक्षा नगरेसम्म समाजमा नैतिक ऊर्जा सृजना र सन्चारित हुँदैन।
संघीयता, गणतन्त्र, लोकतन्त्र वा राजतन्त्र —यी सबै शब्द सुन्दर छन्, तर जनताले व्यवस्थाबाट न्याय, रोजगारी, शिक्षा, स्वास्थ्य र सुरक्षा पाएनन् भने तिनका नाममा क्रान्ति र विद्रोह जन्मिन्छ।
अन्त्यमा : सनातनी पुनर्जागरण र नागरिक संकल्पको युग
अबको निकास भनेको नै हाम्रो विरासत को खोजी हो,आफ्नो पनको खोजी हो जुन कुरा स्वालम्बन नागरिक लागि आत्मनिर्भर अर्थतन्त्र जसका लागि नागरिकको सक्रियता, चेतना र संघर्ष नै आवश्यक छ । देशमा अब हिन्दू ,किराँत र वौद्द सभ्यताको पुनः जागरण गर्दै सनातन दर्शनमा आधारित माटो सुहाउँदो विकासको मार्ग नै मुलुकको संकट मोचनको अस्त्र हुनेछ जसका लागि नागरिकमा ‘भरोसा पुनःस्थापना’ र 'आत्मविश्वास जागृति' को आन्दोलन आवश्यक छ—जहाँ नारामात्रै होइन, स्पष्ट नीति र मार्गचित्र हुनेछ ; अन्धभक्ति र फोस्रा गफ होइन, विवेक,आत्मबोध र कार्यसंस्कृति हुनेछ।
सङ्कटमोचक पशुपतिनाथको कृपासँगै, नागरिकको दृढ संकल्प, नैतिक पुनर्जागरण र सनातनी मूल्यबोधमै सिङ्गो देशको स्वाभिमान पुनःजागृत हुनेछ।
(लेखक राजनीति शास्त्र,कानुन र पुर्वीय दर्शनका अध्येता हुन।)