नेभिगेशन
विचार

वारेन्टी न ग्यारेन्टीको पेशाः देवकोटा दाजु, यो मुलुक बंगलादेश बन्दैछ

प्रष्टीकरणः पत्रकारिता पेशामा निरन्तर रहेका कारण यो आलेखमा पत्रकार दिलभूषण पाठकसँगै लेखकले आफ्नो तस्बिर साझा गर्नुको कारण– पीडाबोधको समानता ठान्नु हो।

लगभग १५ बर्षअघिको तस्बिर लेखकले पनि झुन्ड्याएको छ। यो तस्बिर फोटो पत्रकार सहकर्मी भगवती थापाले खिचेकी हुन्, ‘कमान्डर पोस्ट दैनिक’को कार्यालयमा कामका बखतमा फुर्सद निकालेर।

अहिले पत्रिका पूर्णरुपमा बन्द भैसकेको छ। पत्रिकाको भविष्य राम्रो थिएन, त्यस्तो पत्रिकामा सम्पादनको काममा सक्रियता देखाउने हाम्रो कसरी ग्यारेन्टेड थियो र? त्यहाँ त वारेन्टेड पनि थिएन।

जसरी कम्पनीले वारेन्टी र ग्यारेन्टी दिन्छन्, पत्रकारिता पेशामा त्यो सम्भावना नेपालमा अहिलेसम्म बनिसकेको छैन। यहाँ नियुक्तिपत्रका लागि पनि आन्दोलन गर्नुपर्छ। 

तलबका लागि आफैं, हैन भने जन्मदेव जैसी खोज्नुपर्छ।

वारेन्टी  र ग्यारेन्टी दुई वटा उपभोक्ता अधिकारसम्बन्धी शब्दहरू हुन् जसले कुनै वस्तु वा सेवा खरीद गर्दा त्यसको गुणस्तर, स्थायित्व वा काम गर्ने क्षमतामा सुनिश्चितता प्रदान गर्छन्। 

यी दुबै कुराले उपभोक्तालाई आश्वस्त पार्ने काम गर्छन् कि यदि खरीद गरिएको वस्तुमा तोकिएको समयभित्र कुनै समस्या आयो भने, त्यसको मर्मत, प्रतिस्थापन वा फिर्ता प्रक्रिया सहजै हुनेछ।

वारेन्टी सामान्यतया लिखित रूपमा कम्पनीद्वारा दिइने सेवा हो, जसमा निश्चित अवधिसम्म (जस्तै १ वर्ष, २ वर्ष) सामान बिग्रिएमा कम्पनीले निःशुल्क मर्मत वा प्रतिस्थापन गर्ने वाचा गर्दछ। यो प्रायः नियम र सर्तसहित आउँछ। उदाहरणका लागि, मोबाइल फोनको १ वर्षको वारेन्टी हुँदा त्यस अवधिभित्रको प्राविधिक खराबीमा कम्पनीले सेवा दिन्छ, तर भौतिक क्षति (जस्तै फुट्नु, पानीमा खस्नु) भने वारेन्टीको दायरामा पर्दैन।

ग्यारेन्टी भने अलि व्यापक र प्रायः अधिक विश्वस्तता दिने आश्वासन हो। यो वचनबद्धता कहिलेकाहीँ मौखिक पनि हुन सक्छ। ग्यारेन्टीले भनेको हो—तपाईंले प्राप्त गरेको वस्तु यदि वाचा गरिएको गुणस्तर वा कामगर्ने क्षमतामा नपुग्ने हो भने, पैसा फिर्ता, नयाँ सामान दिने वा अन्य समाधान दिने।

दुवैले उपभोक्तालाई सुरक्षा प्रदान गर्छन्, तर वारेन्टी अधिक औपचारिक र कानुनी दस्तावेजमा आधारित हुन्छ भने ग्यारेन्टी विश्वासमा आधारित पनि हुन सक्छ। यी व्यवस्थाले उपभोक्ताको हक सुनिश्चित गर्दै उत्पादन वा सेवाप्रति विश्वास बढाउँछन्।

यहाँ पत्रकारले उत्पादन गर्ने समाचारको वारेन्टी र ग्यारेन्टी हुन्छ, पत्रकारको जीवन र पेशाको छैन। तैपनि किन गरिरहेका छन्? एउटा सौख, जीवनयापनको बाटो र त्योभन्दा महत्वचाहिँ जनतालाई सूचना दिनैपर्ने स्वतस्फूर्त मानव धर्मका निम्ति। 

तर यो पेशा पनि त हो। पत्रकार बाँच्यो भने पत्रकारिता बाँच्छ, पत्रकारिता बाँचे जनताको सूचना पाउने अधिकार, त्यो बाँच्यो भने व्यवस्था बाँच्ने त हो। 

कविले कविता किन लेख्छ भन्ने दिन गए। अब, सौख रहेन यो विषय। पेशा बनिसक्यो।

यस्तै पत्रकारले समाचार किन लेख्छ, भन्छ र देखाउँछ? यो पेशा हो। पत्रकारिताका दौरानका ३ दशक कटाइसकेका दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी भएको खबरले स्तब्ध भैयो। भलै यस्ता गतिविधि यसअघि पनि भएका थिए। यो आलेख समग्रताको विषयमा हो। यो किन पनि हो भने समाचार प्रकाशित गरेका कारण जिल्ला अदालत काठमाडौंले बिजमान्डु र नेपालखबरलाई समाचार हटाउन र फलोअप नगर्नका लागि पनि आदेश दियो।यसले झनै स्तब्ध बनायो। यसको सिधा अर्थ हो, लुट्न पाइन्छ। लुटेको खबर र त्यसका तथ्य निरन्तर दिन, सुनाउन र जनतालाई भन्न पाइन्न। 

अदालतले यसो पनि भन्न सक्थ्यो– पत्रकारितासम्बन्धी विषयमा प्रारम्भिक अर्धन्यायको फैसला प्रेस काउन्सिल नेपालले गर्छ, त्यो सरकारको निकाय हो। त्यहाँ न्याय नपाए यहाँ आउनू!

देख्दैछु– जुन दलका छोरा, ति छोराका बाउसँग सत्ता सहकार्य गर्ने दल र चेयरगेम खेल्ने अर्को दलको पक्षपोषण गर्ने पत्रकारका संस्था विज्ञप्ति निकालिरहेका छन्, बिरोधमा। यो कागजको खोस्टो जम्मा औपचारिकता हो। 

अर्को, यीनैबाट चुनिएर बनेको नेपाल पत्रकार महासंघले पनि कागजको खोस्टो निकालेको छ। यसभन्दा बाहेक प्रहरीको छानबिन गर्ने प्राधिकार र न्यायालयको आदेशलाई कसले उल्लंघन गर्ने? किनभने पत्रकारिता कानुनी मानकको पेशा पनि त हो। 

हो, यहि पाराले पत्रकारितामाथि आक्रमण जारी रहे कहिँ न कहिँ, कतै न कतै जनताका ज्वारभाटाले आन्दोलनको आँधी बेहरी, डढेलो सबै लगाउन सक्छ। अनि, मुलुक बंगलादेशको मार्गमा हिँड्छ नै।  

पत्रकारिता त्यसमा पनि निजी समाचार माध्यममा काम गर्नु भनेको पेशाको सुरक्षणका निम्ति भनेर हुँदै होइन। यो त जनतामा सूचनाको अधिकारलाई प्रत्याभूत गराउनका लागि हो। चौतर्फी रुपमा पत्रकारितामाथि आक्रमण जारी रहेका बेला न्यायीक निकाय पनि बलात् आदेश दिइरहेको छ। 

एआईको चुनौती, सामाजिक सञ्जालमा आलोचना, युट्युवका गैरकन्टेन्ट र निजी जीवनमा छ्यापिएका हिलोलाई पखाल्दै पखाल्दै बामे सरिरहेको पत्रकारितालाई शक्ति केन्द्रमा रहेका छोराको उजुरी, बिचौलियाको काम गर्ने व्यापारीको मुद्दाले गलाउन खोजियो। 

त्यसअघि ठूलो फलोअरका साथ राज्य संयन्त्रमा पुग्नासाथ तत्कालिन गृहमन्त्री रवि लामिछानेले हतियारसहित सञ्चारगृहमा प्रहरी पठाएर, त्यसअघि पत्रकार सम्मेलनका नाममा निजी जीवनसहित नाक किटी, किटी दागा धरेर पत्रकारिताको बलात्कार गरेका थिए, पत्रकारको हुर्मत लिएका थिए। 

अहिले गणतन्त्रको वकालत सबैभन्दा बढी पत्रकार र पत्रकारिता जगतले गरिदिनु परेको छ। राज्यका लुटतन्त्रलाई पनि ढाकछोप गरिदिनुपर्ने भए मैले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई भन्नुपर्छ– यहि पारा हो भने देवकाटा दाजु, मुलुक बंगलादेश बन्दैछ।

दुई दशक यहि क्षेत्रमा बिताएको अनुभवको आधारमा भन्छु अब चेतावनी होइन। पत्रकारिताले एक्शन लिनुपर्छ। लोकतान्त्रिक आन्दोलनका दौरान तत्कालिन क्रान्तिकारी पत्रकार संघका नेता रहेका धरानका महेश श्रेष्ठले इटहरीको कोणसभामा भनेका थिए,‘अब एक हातमा कलम र अर्को हातमा बन्दुक नबोकी फिल्डमा पत्रकारिता गर्ने दिन रहेनन्, होसियार!’

हिंसामा त विश्वास छैन। त्यो आवेगमा पनि पुग्ने चाहना होइन। तर, राज्य संयन्त्र चलाउनेले यसैगरी बदनाम गरिदिने, चुनौती थपिदिने र दबाउने खेल भयो भने सडकमा उर्लिरहेको व्यवस्थाबिरोधी कित्तामा पत्रकारिता किन नउत्रेला? गणतन्त्रमा लेख्न बोल्न पाइन्न भने लुट्नचाहिँ पाइन्छ? यदि लुटतन्त्र नै स्वीकार गर्ने हो भने पत्रकारिताले पनि भन्नेछ– हजार बढी लुटेराले धेरै लुट्छन्, एउटाले कम लुट्दा अघाउला नि? सन्तोष मानौ। यसर्थ, समयमा हेक्का राखियोस्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार