नेभिगेशन
समाज विविध

नेपाल एयरलाइन्सका ‘क्याबिन क्रू’ लाई हाजिर गराउन आदेश

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) विमान परिचारिका (क्याविन क्रु) लाई काममा लगाउन श्रम अदालतले आदेश दिएको छ ।  

श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो । 

अन्तरिम आदेशमार्फत सर्वोच्चले सेवाबाट अवकाश नदिनू भन्दाभन्दै निगमले अवकाश दिए उपर श्रम अदालतमा दायर भएको मुद्दाको सुनुवाइपश्चात् आज वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन श्रम अदालतले उक्त आदेश दिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा एक सय ३५ जना परिचारक र परिचारिकाको सेवा सुविधा र उमेर हदको विभेद उपरको मुद्दा विचाराधीन अवस्थामा छ । कार्कीलाई असोज १८ देखिकै खण्डित अवधिको सेवा सुविधा उपलब्ध गराउन श्रम अदालतको आदेशमा भनिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विकास भट्टराई र विशाल थापाले कार्कीको तर्फबाट बहस गर्दै सर्वोच्च अदालतको आदेश विपरीत सेवाबाट हटाउन नमिल्ने जिकिर गरेका थिए । श्रम अदालतले काममा लगाएर असार १८ मा अन्तरिम आदेशको निरन्तरताका सम्बन्धमा छलफलमा उपस्थित हुन निगमलाई आदेश दिएको कार्कीका कानुन व्यवसायी अधिवक्ता लुइँटेलले जानकारी दिए ।

नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३ (१) (ख) मा ५० वर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध साँधेर कार्कीलाई ४५ वर्ष पुग्ने बित्तिकै अवकाश दिएको थियो । जबरजस्ती हटाए उपर सर्वोच्च अदालतमा निगम सञ्चालक समिति विरुद्ध अवहेलनाको मुद्दा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इललासले गम्भीर संवैधानिक विषयको व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै उक्त मुद्दा जेठ १३ मा संवैधानिक इजलासमा सुनुवाइको लागि पठाइसकेको छ । उक्त इजलासले निवेदकहरूको पक्षमा एक वर्षअघि नै जारी अन्तरिम आदेशलाई निरन्तरता दिइसकेको छ ।

रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकामा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउन सक्ने, सेवा अवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान नदिनेलगायत प्रावधानको बदर माग गरिएको छ ।

रिटमा जिन्दगीभर एउटै पदमा काम लगाएरविना कुनै सुविधा जहिल्यै सुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरूको दाबी छ । सामान्य कम्पनीले सामाजिक सेवा सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेपाल सरकार स्वामित्वको वायुसेवा निगम जस्तो निकायले आफ्ना क्याविन क्रुमाथि गम्भीर विभेद गरेको उनीहरूको गुनासो छ। आफूहरूले पटक पटक व्यवस्थापनसमक्ष कुरा राख्दा सुधारको प्रक्रिया अघि नसारेकाले सर्वोच्च अदालतमा रिट निवेदन दिनुपरेको रिट निवेदनमा उल्लेख छ ।

श्रम अदालतको आदेश पश्चात् परिचारिका कार्कीले न्याय पाएको प्रतिक्रिया दिए । उनले विनियमावलीमा भएको विवादास्पद प्रावधान हटाएर समान व्यवहार गर्न व्यवस्थासमक्ष पटक पटक आग्रह गर्दा सुनुवाइ नभएकोमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभरका २२ स्थानमा सडक अवरूद्ध