नेभिगेशन
विचार

रास्वपा, राजनीतिमा ‘मिराज इफेक्ट’

पश्चिमाविरुद्ध रुस, भारत र चीनको गठबन्धन बन्ने सम्भावना बलियो बनिरहेको छ। उपसभापति छन्, आरआईसी गठबन्धनका बिरोधी अनि कुटनीतिक मामलामा दलको धारणा के हो? भन्ने नै स्पष्ट छैन

नेताहरूका दौडधुप, संवाद अनि अनेक चिजले नेपाली राजनीतिको गोरेंटो कुन कुइनेटोमा झ्याप्प फरक हुन्छ, यी सम्भावित आँकलनभन्दा अरु केही भन्न सक्ने अवस्था छैन।

फेरि शीर्षकमा नै रास्वपा परिदियो। उदण्ड, सहनशक्ति, पढ्ने क्षमता कम भएका र बुझ्नु पर्दैन गाली गरिदिए हुन्छ भन्नेले श्राप दिने जोखिम छ।

भनि त हाल्छन्, केपी बा, कांग्रेस र माओवादीको भेटिनस् फेरि रास्वपा र रविको खैरो खन्न आएको?

यी भन्नेहरू मिराज इफेक्ट जस्ता भ्रममा छन्। खासमा रास्वपा नेपाली राजनीतिमा आफैंमा एउटा मिराज इफेक्ट हो। समयकाल र परिस्थितिले यसलाई पुष्टि गर्नेछ।

मिराज इफेक्ट भनेको सडकमा देखिने दिग्भ्रमित पार्ने छाल हो। पाठक मध्यले गर्मी महिनामा गाडीको बर्नेटमा बसेर लामो यात्रा गर्नुभएको छ भने भोग्नु भएको छ। खासगरी यो तराईको समथर र सिधा सडकमा देखिन्छ अक्सर, नेपालमा।

यसलाई अझ सहज हिसाबले बुझौं– 

सडकमा प्रयोग हुने छाल (पिच÷डामर) मूलतः यातायात सहज बनाउने उद्देश्यले प्रयोग गरिन्छ। तर पछिल्ला वर्षहरूमा कतिपय सडक छालहरू ‘भ्रममा पार्ने’ खालका बन्न थालेका छन्। 

यस्ता छालहरू निर्माणको गुणस्तरमा गम्भीर त्रुटि हुन्छ, जसले गर्दा सडकको सतह अस्वाभाविक रूपमा चम्किलो, फिसल्ने, वा चसक्क देखिने हुन्छ। सडक निर्माणमा प्रयोग हुने तारकोल, बिटुमिन वा ग्राभेलको मात्राको असन्तुलनले यस्तो समस्या निम्त्याउँछ।

प्राविधिक भाषामा भन्नुपर्दा, केही छालहरू अत्यधिक पिचयुक्त वा कम गिट्टीयुक्त हुँदा सवारी साधनका चालकलाई वास्तविक सतहभन्दा फरक देखिन्छ। 

घाम पर्दा यस्ता छाल अत्यधिक चम्किने गर्छन्, जसले सडकमै पानी परिरहेको भान गराउँछ, जसलाई अंग्रेजीमा मिराज इफेक्ट पनि भनिन्छ। साथै, केही छालहरूमा बनाइएका अनावश्यक डिजाइन वा रेखाहरूले पनि सवारीचालकलाई दिग्भ्रमित बनाउँछ।

सडक छालमा भ्रम सृजना हुने यस्तो अवस्था दुर्घटनाको मुख्य कारण बन्न सक्छ। विशेषतः रातिको समयमा वा वर्षातमा यस्तो समस्या झन भयावह हुन्छ। चालकले सन्तुलन गुमाउन सक्छन्, सवारी दुर्घटनामा पर्न सक्छन्, र पैदलयात्री पनि जोखिममा पर्न सक्छन्।

यस समस्याको समाधान भनेको सडक निर्माणमा प्रविधि र गुणस्तरको कडाइका साथ पालना गर्नु हो। डिजाईन, समतलता, र सामग्रीको सन्तुलन सुनिश्चित गर्न प्राविधिक परीक्षण अनिवार्य गर्नुपर्छ। 

अन्यथा, यस्ता ‘भ्रम सिर्जना गर्ने छाल’ न केवल दृश्य भ्रमको कारण बन्दछन्, ती जनजीवनका लागि पनि खतरा बन्छन्।

अब राजनीतिमा रास्वपा किन मिराज इफेक्ट हो?

हाम्रो राजनीतिक राजमार्ग सहज थिएन, छैन र हुनेछैन। पुराना दलको अकर्मण्यताको आवेगको प्रतिध्वनीका रुपमा रास्वपा जन्माइयो।

यो कुनै सिद्धान्त, विधान र फिलोसोफीका आधारमा स्थापित भएन। झ्याप्प चुनावभन्दा ६ महिनाअघि दल खुल्यो, आए आँप गए झटारो भन्ने शैलीमा मैदानमा होमियो। असन्तोषका मत प्रायः यहि दलमा खसे। पछि, मान्छे बटुल्दै सिद्धान्तको कसी पनि आवश्यक छ भनेर महोत्तरीमा पुगेर टालटुले राजनीतिक प्रस्ताव या प्रतिवेदन जे भने पनि बन्यो। त्यो पनि स्पष्ट छैन।

रास्वपा मास बेस पार्टी हो कि क्याडर बेस भन्ने पनि स्पष्ट छैन। न उसले त्यसबारेको आफ्नो लैंगिक पहिचान दिन सकेको छ। एकाध सांसद अलिअलि पढेलेखेका र बुझेका छन् अरु घोकन्ती भाषण गर्नेभन्दा बाहेक देखिँदैनन्।

राजनीतिक प्रतिशोध होस् या जे भने पनि टेलिभिजनको अकर्मण्यतामा असफल भएपछि राजनीतिमा च्याँखेदाऊ थापेका रवि लामिछाने अन्ततः आफ्नै कर्मफलको हिरासतयोगमा छन्।

पार्टी नीति र नेतृत्वबिहीन छ। टुर्स एन्ड ट्राभल्स, मनि ट्रान्सफर चलाउने मासि कार्यबाहक सभापति भनिएको छ, जाने बाटो कता हो भन्ने स्पष्ट धारणा दिन सक्तैनन्। अहिलेको नयाँ महामन्त्री गैर सरकारी संस्था चलाएर अग्राएर बसेका तर प्रश्नको उत्तर दिनुको साटो आवेग पोख्ने प्रवृत्तिले ओतप्रोत छन्।

अर्का उपसभापति सेनाको संख्या घटाउनुपर्छ, एमसीसी ल्याउनुपर्छ भन्ने र विश्व बैंकलगायत पश्चिमा फन्डेड संगठनमा काम गरेका, त्यताबाट प्रशिक्षित छन्। 

पश्चिमाविरुद्ध रुस, भारत र चीनको गठबन्धन बन्ने सम्भावना बलियो बनिरहेको छ। उपसभापति छन्, आरआईसी गठबन्धनका बिरोधी अनि कुटनीतिक मामलामा दलको धारणा के हो? भन्ने नै स्पष्ट छैन।

भुँईमान्छेका मुद्दा कहिल्यै पनि सक्किँदैनन्। नेपालमा मात्र होइन दुनियाँमा कहिँ पनि सकिँदैनन् यो सत्य हो। अनि, भुईँमान्छेको असन्तोषमा दल त खडा भयो, भोली एक पल्ट बहुमत पनि ल्याएर एकलै सरकार चलाए पनि भयो। तर, सबै मुद्दा समाधान हुन्छन्?

चार महिना दोस्रो पटक अनि १ महिना पहिलो पटक सत्तामा हतारो गरेर जाँदा ५ महिनामा के कति काम गरियो? त्यसको फेहरिस्त छ भन्ने चर्चा छ तर गरेको केही छैन। 

सजिलो छैन। कांग्रेस र एमालेले ४६ सालदेखि र माओवादीले ५२ सालदेखि पारेको समाजको तल्लो तहसम्मको भ्वाङलाई पुर्नका लागि ठूलो चुनौती छ। त्यो खाडलमा आफैं पर्ने सम्भावना हुन्छ। ०६४ मा त्यहि खाडल पुर्न आएको माओवादी आफैं जाकिएको छ।

यद्यपि उसँग त राजनीतिक मुद्दा र एजेन्डा थियो। रास्वपासँग के छ? हल्ला गर्ने, गाली गर्ने कार्यकर्ता अनि अप्रमाणित तर चर्को स्वरमा बोलेर सदन र सडकमा तमासा गराउने सांसद र नेताहरु मात्र?

जनता अहिले मिराज इफेक्टमा छन्। त्यो हुनु पनि पर्छ। रास्वपा आए त छु मन्तर सबै समाधान हुन्छ भन्ने त्यो छाल जस्तो भ्रम स्वभाविक पनि हो। तर त्यहाँ पुग्दा शितल हुन्छ भन्ने आशमा बर्नेटको तातोले पिँध खुइल्याइसकेको हुन्छ, यत्तिचाहिँ बुझ्न आवश्यक छ।

त्यसैले राजनीतिक दलको भिँडमा बाजेको पेडा पसल जस्तै नयाँ पसल थपियो। केही दिन त राम्रै पेडा चखाउला तर जनताले किन्नचाहिँ असली चिनेर नै किन्नेछन्। एकान दुईकान मैदान हुँदै असली बुढा खोजिनेछन्। यसर्थ, राजनीतिको मिराज इफेक्टलाई स्वीकार्ने कि काँध हाल्ने कि अर्को विकल्पको खोजीनीति गर्ने त्यो व्यक्तिको निजी मामला भयो, हामीले बुझेको कुरा जनतामाझ भनिदिने हो, बाँकी राम जाने।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार