नेभिगेशन
विचार
संश्लेषण

बालेन जीतको ‘नाभिकमलसम्भव’ रविकृत प्रकरण रक्षार्थ रास्वपाको गति

व्यक्ति तोकेर नभनौं, तर रास्वपा जुन कसीबाट उभिएर राजनीतिक मैदानमा उत्रियो यसले फरक यात्रा तय गर्न सकेको छैन

चर्का आवाज, तिव्र बिरोध, आफूतिर आएका प्रश्नलाई ओभरल्याप हुनेगरीका जवाफ राजनीतिका आयाम होइनन्। ति आवाजहरू जनजीविका रेखाचित्र, सिद्धान्त र व्यवाहारिक विषयको मार्गचित्र बन्न सकेन भने एउटा राजनीतिक दल स्थापित हुनुको औचित्य उसको स्खलनसँगै प्रष्ट बन्छ, केही बर्षान्तमा।

कुनै पनि राजनीतिक दलमा व्यक्तिको प्रभाव अवश्यभावी हुन्छ। तर, त्यो संस्थागत प्रणालीभित्र नभै व्यक्तिको रक्षार्थ मात्र हुन थाल्यो भने परस्पर प्रतिस्पर्धीको उदय असम्भव छैन भन्ने उदाहरणको कसीमा एमालेकी नेत्री तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अहिलेको यात्रालाई हेर्न सकिन्छ।

उकुसमुकुसको पनि समयसीमा हुन्छ। त्यो कुनै न कुनै रुपमा प्रष्फूटित हुन्छ नै। यो हरेक राजनीतिक दलमा लागू भएजस्तो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पनि हुन्छ।

खासमा रास्वपा ०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदावरको जीतको पराकम्पनमा खडा भएको एउटा आकार हो। यसकारण यो पार्टी काठमाडौंका मेयर बालेन शाहको जीतको नाभिकमलसम्भव यथार्थ हो। अब एउटा हैसियत बनेको उक्त दलभित्र कति मानव, सुसंस्कार र दानवीय सोचको प्रवेश भैसक्यो भन्नेचाहिँ बिस्तारैका यात्राका क्रममा प्रभावका आधारमा देखिँदै जानेछ।

पहिलो उदाहरण त संस्थापक महामन्त्री मुकुल ढकालमाथिको कारबाही अथवा उनले उक्त दलमा देखाउन खोजेको, जमाउन खोजेको शासकीय शैलीविरुद्धको कारबाही, जे भने पनि भयो। 

अब यो नाभिकमलसम्भव किन हो? 
यसलाई धर्मग्रन्थसँग दाँजेर व्याख्या गर्न आवश्यक छ। किनभने यसको चुनाव चिन्ह पनि घन्टी भए जस्तो, घन्टी बज्नेगरी केही बुझ्न आवश्यक हुन्छ। तुलनात्मक हिसाबमा जानैपर्छ। 

हिन्दू धर्मको त्रिदेव (ब्रह्मा, विष्णु र महेश) मध्ये ब्रह्मा सृष्टिकर्ता देवता हुन्। उनी ब्रह्माण्डका रचनाकारका रूपमा मानिन्छन्। यद्यपि उनी त्रिदेवमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भए पनि हिन्दू समाजमा ब्रह्माको पूजा अत्यन्तै सीमित छ र यो विषय सदा रहस्यमय तथा चर्चाको विषय रहँदै आएको छ। 

पुराण र वेदहरूमा ब्रह्माको उत्पत्तिबारे विभिन्न दृष्टिकोण छन्। सबैभन्दा चर्चित व्याख्या अनुसार भगवान विष्णुको नाभीबाट कमलको फुल उत्पन्न हुन्छ र त्यसको मुटुमा ब्रह्मा उत्पन्न हुन्छन्। त्यसैले उनीहरूलाई ‘नाभिकमलसम्भव’ भनिन्छ। ब्रह्मा उत्पन्न भएपछि सृष्टि रचना गर्ने कार्य उनीमाथि सुम्पिएको थियो। उनले चार वेदहरूको सृष्टि गरे, चार मुख भएको प्रतीकात्मक वर्णन त्यसैको लागि गरिएको हो, प्रत्येक मुखबाट एउटा वेदको उच्चारण भएको भनिन्छ।

ब्रह्मा सृष्टिकर्ता हुन्। उनले सृष्टिका जीव, देवता, ऋषिमुनि, र अन्य लोकहरूको रचना गरेका थिए। उनकी पत्नी सरस्वती ज्ञानकी देवी हुन्। ब्रह्माको कार्य सृष्टिको आरम्भ गर्नु हो, त्यसपछि पालन गर्ने कार्य विष्णु र संहार गर्ने कार्य शिवको जिम्मामा रहन्छ।

यति महत्वपूर्ण भूमिका निर्वाह गर्ने देवता ब्रह्माको पूजा प्रचलनमा नहुनु गहिरो धार्मिक, पौराणिक र सांस्कृतिक कारणहरूसँग जोडिएको छ। 

पहिलो, पौराणिक कथाअनुसार ब्रह्मा र विष्णुबीच को महान् भन्ने विवाद थियो। त्यो विवाद समाधान गर्न भगवान शिवले अग्निको ठूलो लिंग (ज्योतिर्लिङ्ग) देखाएका थिए जसको आदि र अन्त नभएको थियो। शिवले ब्रह्मा र विष्णुलाई लिंगको टुप्पो र फेदी खोज्न पठाए। 

विष्णुले फेदी भेट्न नसकेको स्वीकार गरे, तर ब्रह्माले झूट बोलेर उनले टुप्पो भेटेको दाबी गरे। त्यस कारण शिव क्रोधित भए र ब्रह्मालाई श्राप दिए कि पृथ्वीमा उनको पूजा कहिल्यै हुनेछैन।

अर्को प्रसङ्ग अनुसार ब्रह्माले सृष्टि गर्न आफ्नै मस्तिष्कबाट सरस्वतीलाई जन्माए र उनीप्रति आकर्षित भए। उनले पाँचौ टाउको निकालेर उनलाई पछ्याए। यो ‘वासना’ र ‘मोह’ले भरिएको व्यवहारले पनि उनलाई पूज्य नठानिएको हो। शिवले नै उनका पाँच टाउकाहरू मध्ये एक काटिदिएको उल्लेख पाइन्छ।

ब्रह्मा सृष्टिकर्ता भए पनि संरक्षण र विनाशको कार्यमा उनी सक्षम छैनन्। शिव र विष्णुजस्ता देवताहरूले शक्तिशाली कार्य गर्ने भएकोले पनि ब्रह्मालाई जनमानसले कम पूजा गरेको हुनसक्छ। साथै, ब्रह्माले सृष्टि गरेपछि आफ्नो भूमिका समाप्त भएको मानिन्छ।

स्वतन्त्र जीतको सम्भावनामा कोरलिएको पार्टी
स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले सम्भावनाको बाटो कोरिदिए। टेलिभिजनकर्ममा कमाएको फेमलाई रवि लामिछानेले राजनीति दलको एउटा संगठनात्मक समर्थनको आकार दिन हतारमा पार्टी खोलेका थिए। 

उनको पार्टीको नामका विषयमा निर्वाचन आयोगमा उजुरी नपरेको होइन। तैपनि नाम पाए। चुनावमा बालेनका समर्थकलाई समेत उम्मेदवार बनाएर उनी अगाडि बढे र यो एउटा दलका रुपमा चौथो शक्ति बनेर सदनमा पस्यो। 

त्यसबेलासम्म रविकृत विभिन्न प्रकरण (जो अनुसन्धान, न्यायीक प्रक्रियामा छन्)बारे कमैलाई मात्रै थाहा थियो। जब राज्यले यस विषयमा अनुसन्धान सुरु भयो, यो दल संगठित भएर उनको प्रतिरक्षामा अहिले पनि उभिएको छ।

रास्वपा गठनअघिका मुद्दामा दरिलो टेक्न सक्नेगरी दल बनिदिएका कारण रविलाई अहिले सहज पनि बनिदिएको हुनुपर्छ। तर बितेका तीन बर्षमा केही राजनीतिक मुद्दा सदनमा उठाउनेबाहेक रास्वपाका सांसदको काम सभापतिको रक्षार्थ अन्यलाई गाली गर्ने, प्रतिशोध भयो भनेर चर्का आवाज बोल्ने, धुत्कार्ने, सामाजिक सञ्जालमा साइबर सेलजसरी बर्रर बर्सिने जस्ता काम हुन्छन्, भैरहेका छन्। 

कुनै पनि देवत्वकरण या दानबीकरणको अर्थ छैन, राजनीतिमा त झनै यो कामै लाग्दैन। एमाले ओलीकरण भयो भनेर ब्यापक बिरोध गरिरहँदा, मन नपराउँदा रास्वपा रविकृत प्रकरणको रक्षार्थ उभिनु नैतिक धरातलको अपमान ठहर्छ। यो सत्यलाई नजरअन्दाज गरेर अगाडि बढियो या सैद्धान्तिक चित्रलाई छाडेर हिँड्यो भने कहाँ पुगिन्छ?

व्यक्ति तोकेर नभनौं, तर रास्वपा जुन कसीबाट उभिएर राजनीतिक मैदानमा उत्रियो यसले फरक यात्रा तय गर्न सकेको छैन। अवसर पाउनासाथ सत्तामा जाने र सत्ता लडेका दिनदेखि प्रतिशोध हुने कुनै तर्क र तथ्यमा कति मेल खान्छ?

स्वतन्त्रको जीतले कोरलिएको पार्टीका सीमितबाहेकका सांसदको प्रस्तुती, शैली र प्रत्योत्तर दिने प्रवृत्ति राजनीतिक आचरणको मानक जस्तो देखिन्न, त्यो मट्याङ्ग्राको नै नाश हो। युवा भन्नुको अर्थ ‘मनपरी तर्क’ पक्कै होइन, राजनीतिमा यस्तो शैलीको अर्थ के रहला र? बाँकी त उसका आगामी दिनका यात्राका हिसाबमा संश्लेषण गर्न सकिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार