काठमाडौँ- सरकारले यस वर्षको महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी) का रुपमा रिलायन्स स्पिनिङ मिललाई सम्मानित गरेको छ । भारततर्फ निर्यात गरेर सबैभन्दा बढी रकम आर्जन गरेको आधारमा रिलायन्स मिल्सलाई सरकारले सम्मानित गरेको हो ।
रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०-८१ मा १२ अर्ब ४९ करोड रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रले राष्ट्रिय अर्थतन्त्रमा उद्योग तथा वाणिज्य क्षेत्रमा योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट व्यवसायीहरूलाई सम्मान र कदर गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्सले यसअघि विभिन्न सम्मान तथा अवार्ड पाउँदै आएको छ । २०८१ पुसमा मात्रै रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट रोजगारदाता उद्योगको रुपमा सम्मानित भएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएर योगदान गरेको भन्दै नेपाल समुन्द्रपार निकासी पैठारी संघले रिलायन्सलाई सम्मानित गरेको थियो । यसबाहेक रिलायन्स अन्य थुप्रै निकायहरूबाट सम्मानित हुँदै आएको छ ।
रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०७७-७७ मा भारततर्फ ३ अर्ब ३३ करोड ५१ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात गरेकोमा चालु आवसम्ममा ४८.६ प्रतिशत बढी पुगेको छ । रिलायन्सले आव २०७७-७८ मा ४ अर्ब ६४ करोड ९३ लाख ९० हजार रुपैयाँ भन्दा बढीको निर्यात गरेकोमा आव २०७८-७९ मा ५ अर्ब ५० करोड ५७ लाख ६२ हजार रुपैयाँभन्दा बढी, आव २०७९-८० मा ६ अर्ब ४ करोड २८ लाख २० हजार रुपैयाँभन्दा बढीको र आव २०८०-८१ मा ६ अर्ब ४३ करोड ९३ लाख ३७ हजार रुपैयाँ भन्दा बढीको निर्यात गरेको छ । यससँगै कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ ।
कारोबारतर्फ पनि कम्पनीले पाँच वर्षमा ४१. ४ प्रतिशत वृद्धि गरेको छ ।आव २०७६-७७ मा ६ अर्ब १२ करोड ६२ लाख ८ हजार रुपैयाँ कुल कारोबार रहेकोमा २०७७-७८ मा ७ अर्ब ६२ करोड ४५ लाख ४० हजार, आव २०७८-७९ मा ९ अर्ब ८९ करोड १ लाख ६९ हजार, आव २०७९-८० मा ९ अर्ब ५१ करोड ९८ लाख ३३ हजार र आव २०८०-८१ मा ८ अर्ब ६६ करोड ३४ लाख २२ हजार रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।
पाँच वर्षको अवधिमा कम्पनीले उत्पादनमा पनि ३८.१ प्रतिशतको वृद्धि गरेको छ । आव २०७६-७७ मा २२ हजार ४०४ मेट्रिक टन उत्पादन गरेकोमा आव २०७७-78 मा २८ हजार ५१७ मेट्रिक टन, आव २०७८-७९ मा २९ हजार ३४१ मेट्रिक टन, आव २०७९-८० मा ३२ हजार २९५ मेट्रिक टन र आव २०८०-८१ मा ३० हजार ९३१ मेट्रिक टन उत्पादन भएको छ । यसरी हेर्दा रिलायन्सले हरेक वर्ष उत्पादन पनि बढाउँदै लगेको छ ।
३६ वर्षीय अक्षय गोल्यानको नेतृत्वमा रहेको यस उद्योग आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । विगत १२ वर्षभन्दा लामो समयदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका अक्षयले विभिन्न कम्पनीहरूलाई नेतृत्व गरिरहेका छन् । अक्षयले कृषि, होटल, ऊर्जा, उत्पादन (म्यानुफ्याक्चरिङ) लगायतका विभिन्न उद्योगहरूमा नेतृत्व सम्हाल्दै आएका छन् । उनले रिलायन्स स्पिनिङ मिल्स, गोल्यान पावर, गोल्यान होटल्स, हायात सेन्ट्रिक काठमाडौं लगायतको नेतृत्व गर्दै आइरहेका छन् । साथै प्योर इनर्जीको अध्यक्षको भूमिकामा समेत रहेका अक्षय जैविक र प्राकृतिक उत्पादनहरू उपलब्ध गराउने माटोमा निर्देशकको भूमिकामा छन् ।
उत्कृष्ट रोजगारदाता रिलायन्स
आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो छुट्टै पहिचान रिलायन्स स्पिनिङ मिल्स उत्कृष्ट उद्योगमात्र नभएर उत्कृष्ट रोजगारदाता समेत हो । लामो विरासत बोकेको यस उद्योगमा ४ हजार भन्दा बढीले रोजगारी पाइरहेका छन् । रिलायन्समा आवद्ध जनशक्तिलाई उद्योगपरिसरमै आवासीय सुविधा समेत रहेको छ । कम्पनीमा स्थापना कालदेखि अहिलेसम्म बन्दहड्ताल भएको रेकर्ड छैन । यसले यस उद्योग जनशक्तिहरूको रुचाइको उद्योग समेत बन्न सफल भएको देखाउँछ ।
उद्योग परिसरमै कर्मचारीहरुका लागि सुबिधा सम्पन्न 'लेबर कोलोन', खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित बिशेषज्ञ डाक्टरको सुबिधा पनि उपलब्ध छ । महिलाहरुका लागि स्तनपान कक्ष, बालबालिकाहरुका लागि 'डे केयर-सेन्टर र कर्मचारीका छोराछोरीहरुका लागि कक्षा १२ सम्म अध्ययनको व्यवस्था पनि दिँदै आएको छ । कर्मचारीहरुको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै रिलायन्सले मनोसामाजिक परामर्श पनि दिने गरेको छ । कम्पनीले कर्मचारीहरूका लागि सामाजिक सुरक्षा कोषको समेत व्यवस्था गरेको छ ।
रिलायन्स २०५४ सालमा स्थापना भएको यस उद्योग नेपालकै सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । यस उद्योगले कपास, पोलिएस्टर, भिस्कोज, एक्रिलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । स्थापनाको २७ वर्षसम्ममा रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ । सुरूवातमा ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको यस उद्योगले हालसम्म कुल १ लाख २ हजार ८२४ स्पिन्डल (७९,८२४ रिङ स्पिन्डल र २,४०० भर्टेक्स स्पिन्डल, जुन ४८,००० रिङ स्पिन्डल बराबर) को जडित क्षमता सहित सञ्चालन भइरहेको छ ।
कम्पनीले ६ वर्षको अवधिमा ३९.३ प्रतिशत प्रतिशत उत्पादन क्षमता वृद्धि गरिसकेको छ । आव २०७६-७७ मा ३० हजार मेट्रिक टन उत्पादन क्षमता रहेकोमा आव २०७७-७८ मा ३७ हजार ९४२ मेट्रिक टन, आव २०७८-७९ मा ४० हजार ६८० मेट्रिक टन, आव २०७९-८० मा ४२ हजार ९५७ मेट्रिक टन, आव २०८०-८१ मा ४८ हजार ९६० मेट्रिक टन र आव २०८१-८२ मा ५० हजार १६३ मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले यसअवधिमा उद्योगको युनिट सात र युनिट ८ मा ४ वटा मेसिन थपेर क्षमता वृद्धि गरेको छ । साथै सोलार प्लान्ट समेत जोडेको छ। जसले गर्दा विद्युत प्राधिकरणले गर्ने अघोषित लोडशेडिङमा पनि निर्बाध रुपमा उद्योगले उत्पादन गरिरहेको छ । सो सोलार प्लान्टबाट ९.२ मेगावाट (डिसी) विद्युत उत्पादन गर्छ ।
यस क्षमताले प्रति वर्ष ५० हजार १६३ मेट्रिक टन उत्पादन गर्ने क्षमता राख्दछ भने प्रति दिन १३६ मेट्रिक टन उत्पादन गर्न सक्छ । यसमा ओपन-एन्ड प्लान्टको उत्पादन समेत समावेश गरिएको छ।