नेभिगेशन
राजनीति

एमाले ११औं महाधिवेशनमा अध्यक्षको दाबेदार पूर्वराष्ट्रपति विद्या भण्डारी

एमाले विभाजनअघि ओली खेमामा रहेकी र दुई पटक सर्वोच्च पदमा पुगे पनि राजनीतिमा विचारको फरक नेतृत्वमा उभिनु स्वभाविक प्रक्रिया ठानिन्छ

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घन्टासम्म भएको भेटवार्ताका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि भनेकी थिइन्,‘अब म सक्रिय राजनीतिमा आएँ, बाम एकता गराउँछु, तपाईले विश्राम लिने बेला आयो।’

एमालेको विधानअनुसार दुई कार्यकाल अध्यक्ष बनिसकेका ओलीलाई यस्तो सन्देश दिएपछि राजनीतिमा सक्रिय रहेकी भण्डारी पार्टीका गतिविधिमा पनि सक्रिय भइन्। 

छिमेकी मुलुक चीनले ओलीलाई पत्याए पनि भारतले खासै चासो नदिएको अवस्थामा भण्डारीको पुनरागमन यसै भएको होइन। उनी केही समयपछि भारतको भ्रमणमा पनि जानेछिन्। 

चीन भ्रमणका क्रममा विशेष सम्मान पाएकी उनले त्यहाँबाट फर्केपछि ओलीसँग यस्तो बताएकी थिइन्। भण्डारी सक्रिय राजनीतिमा आउने विषय विस्तारै बलियोगरी चर्चा हुन थालेपछि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ओलीसँग यस विषयमा हालै मात्र चासो राखेका थिए। 

भण्डारीलाई नैतिक रुपमा राजनीतिमा खुल्नका लागि सहज किन पनि भयो भने पूर्वउपराष्ट्रपति रहेका नन्दबहादुर पुनः पासाङ माओवादी केन्द्रको जिम्मेवारीसहित उपाध्यक्ष पदमा फर्काइए। 

भण्डारीले अहिले एमाले नेता भन्न सकिने र अध्यक्षको दाबेदार रहेका विषय सतहमा आएका छन्। तर, उनी आगामी महाधिवेशनका लागि अध्यक्षमा विधानले योग्य र काबिल उम्मेदवार हुन्। 

एमाले विधान सम्मेलनका क्रममा ७० बर्षको उमेर हद र दुई पटक नेतृत्व सम्हालेपछि पुनः सक्रिय हुन नपाउने पारित गरेको थियो। तर, राष्ट्राध्यक्ष भएपछि राजनीतिमा आउन नपाइने भन्नेचाहिँ सम्मेलनमा कहिँ पनि पारित भएको छैन भने विधानमा पनि उल्लेख नभएका कारण भण्डारी एमालेको ११औं महाधिवेशनमा स्वभाविक अध्यक्षको उम्मेदवार हुन्। 

त्यसो त राष्ट्रपतिको पदीय दायित्व पूरा हुनासाथ उनी राजनीतिक गतिविधिमा लागेकी थिइन्। उनले पति मदन भण्डारीको गृह जिल्ला मोरङबाट राजनीतिक गतिविधिमा सहभागीता मात्र जनाइनन्, सोही जिल्लाबाट एमालेभित्र मौन विद्रोहको थालनी भएको थियो। 

जहाँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीको निर्देशनअनुसार सहमति नभै निर्वाचन भयो र भण्डारी पक्षमा रहेका विनोद ढकाल समूहले क्लिन स्वीप गरिदियो। यति मात्र होइन, मोरङकै महानगर कमिटीमा पनि ओली अर्थात् संस्थापन समूहलाई क्लिन स्वीप गरेको थियो।

‘एमालेको सक्रिय राजनीतिमा आउन कसैले पनि रोक्न सक्तैन, बन्देज लगाउने कुरा स्वीकार गर्न पनि मिल्दैन’, एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भनेका छन्,‘आगामी नेतृत्वमा आउनका लागि विद्या भण्डारी तयार हुनहुन्छ।’

एमालेको आगामी महाधिवेशन नजिकिँदै गर्दा धेरै नेताहरु उमेरसीमाका कारण नेतृत्वमा रहन सक्ने अवस्था छैन। तर, भण्डारीको पक्षमा लविङ गर्ने धेरै छन्। बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरmे उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायतका नेता भण्डारीको खेमामा उभिइसकेका छन्।

‘ओलीको एकल नेतृत्वले पार्टीमा सन्तुलन भएन। सन्तुलनका लागि पनि अर्को बलियो नेताको खाँचो थियो’, एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्,‘एमालेमा रहन नसक्नेगरी भड्कन नदिनका लागि पनि भण्डारीको नेतृत्व अनिवार्य छ।’

एमाले विभाजनअघि ओली खेमामा रहेकी र दुई पटक सर्वोच्च पदमा पुगे पनि राजनीतिमा विचारको फरक नेतृत्वमा उभिनु स्वभाविक प्रक्रिया ठानिन्छ।

‘आठौं महाधिवेशनमा त ओलीलाई अध्यक्ष जिताउनका लागि माधवकुमार नेपाल लाग्नुभएको थियो। नवौंमा बामदेव गौतम पनि ओलीको पक्षमा लाग्नुभएको हो’, एक नेता भन्छन्,‘राजनीतिमा यो सामान्य विषय हो अब टुटेफुटे र बरालिएका एमालेका सच्चा नेता फर्किने आशा पनि छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति