कोही खुशी होस् या दुखी होस् भनेर होइन, कमजोरी कहाँनेर छ र आशामा किन निराशा हावी भैरहेको छ भन्ने प्रश्न खड्कियो भने लेखिने हो।
लेखिने विषयलाई बिरोध ठान्ने प्रचलन हावी हुँदा कस्तो सुसंस्कृत राजनीति र त्यसका समर्थक बनाएछौं भन्ने आत्मग्लानी पनि कहिँ न कहिँ हुनुपर्ने हो तर त्यसो छैन आक्रोशचाहिँ देखिन्छ।
लेख्दै जाँदा र एक प्रकारका पाठकका गाली, आवेग र आवेशपूर्ण टिप्पणी र प्रश्न हुन्छन्– कि केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड वा एमाले, कांग्रेस र माओवादीका खराबी किन लेख्दैनस्? त्यसैको झोले हो?
ओलीले भनेजस्तो ‘झोले’को बिरोधी नै हो। त्यसमा कुनै ब्रान्डिङ गर्नु छैन। तर यत्ति प्रष्टीकरण हो– पुरानासँग आशा नै खरानी भैसकेका कारण नयाँ नबिग्रिउन् र भविष्यको आशा बनुन् भन्ने हेतुले आलोचनासहित कमजोरी देखाइन्छ ताकि सच्चिन सकुन्।
एक जनाले एउटा मात्र चिज सच्याउँदा पनि त्यसले केही न केही प्रभाव पार्छ भन्ने टिप्पणीकार ठान्छ।
७० बर्षदेखिको दलीय संगीन रोपिएको तल्लो तहको संरचनासम्ममा नयाँ केही आशासहित आजको पुस्ता र भोलीका निम्ति योगदानदाता हुन्छन् भन्ने परिकल्पना गर्नु अस्वभाविक होइन। तर, अहिले हेर्ने हो भने निक्कै बरालिएको र बिस्कुनजसरी बस्दा धरमराउने अवस्थामा पुगेको पनि लाग्छ।
यसबाहेक स्वतन्त्र बिजेताको लयले स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने दल छ। त्यो दल जम्माजम्मी सभापति रवि लामिछानेको बिगतको दलदललाई सफा गर्न केन्द्रित भएको देखिन्छ भने भविष्य र आगतका निम्ति कुनै पनि मार्गचित्र नभएको कम्पनी लिमिटेड हो कि भन्ने लाग्छ।
स्वतन्त्रको श्रीविन्दु गरेका स्थानीय सरकार जो जनतासँग प्रत्यक्ष र सिधा सम्पर्कमा रहन्छ, उसमा जित निकालेकाहरुको विषयतिर पनि केन्द्रित बनौं। खासमा विषय नै उनीहरुको हो।
स्थानीय सरकारमा गण्य स्वतन्त्र उम्मेदवारले जित निकाले पनि चर्चामा रहेका पात्रचाहिँ बालेन, हर्क र गोपी हुन्। बालेन र हर्कको चर्चा र विवाद आए पनि गोपीले मिडियामा थोरै आएर धेरै काम गरेको बताइन्छ।
तर, ०७९ मा स्वतन्त्रलाई जिताएर जगाएको आशाचाहिँ बिस्कुनजसरी बाँडिएका कारण विस्तारै गलिरहेको प्रतीत हुन्छ। यसमा मलजल गर्ने काम स्वतन्त्रको आवरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको जनमतलाई सभापति रवि लामिछानेको निजी र अति नै विवादास्पद विषयमा उन्मुक्ति दिलाउने आवाज बनाउने कोशिशले गरेको भान हुन्छ।
पछिल्लो पटक काठमाडौं महानगरपालिकामा आएको ढिलोगरीको बजेट होस् या धरान उपमहानगरपालिकामा बजेट नै आउन नसक्नेगरी भैरहेको विवादको अवस्था। यस्तो विवाद किन हुन्छ? साना तिना कुराले बिजेताहरुप्रतिको विश्वास खस्किन दिन हुन्न भन्ने मान्यता टिप्पणीकार राख्छ।
स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन जित्ने व्यक्ति कुनै राजनीतिक दलको आधिकारिक समर्थनबिना जनताबाट मत प्राप्त गरी प्रतिनिधि बन्न सफल हुन्छ। यस्तो अवस्थामा उनलाई विशिष्ट जिम्मेवारी, उच्च नैतिक आचरण र व्यवहारिक दूरदृष्टि आवश्यक पर्छ। दलको निर्देशनबाट स्वतन्त्र भएकाले यस्ता जनप्रतिनिधिले अनुशासनभन्दा माथि उठेर जनताको पक्षमा काम गर्न सजिलो त हुन्छ, तर चुनौती पनि धेरै हुन्छ।
स्वतन्त्र बिजयीको पहिलो कर्तव्य भनेको उनीमाथि विश्वास गरेर मत दिएको जनसमुदायसँग नियमित संवाद कायम गर्नु हो। उनीहरूका समस्या, चाहना र प्राथमिकताहरू बुझ्ने प्रयास हुनुपर्छ। यो संवाद स्थायी प्रकृतिको हुनुपर्छ केवल निर्वाचनपछिको धन्यवाद कार्यक्रम वा फोटा सेसनमात्र होइन।
स्वतन्त्र जनप्रतिनिधिले बजेटको उचित सदुपयोगमा विशेष ध्यान दिनुपर्छ। बजेट कहाँ खर्च भइरहेको छ, त्यसको असर के भइरहेको छ भन्ने बारे जनतालाई स्पष्ट जानकारी दिनुपर्छ। विकास योजनामा प्राथमिकता निर्धारण गर्दा क्षेत्रीय सन्तुलन, गरिबी निवारण, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता क्षेत्रमा ध्यान दिनुपर्छ।
अहिले धरानमा भैरहेको विवादको विषय नै बजेटको खर्चको जानकारी नदिनु रहेको भन्न सतहमा आएकै छ। यसकारण यो विवाद मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिको इगो बनेको छ। अनि, अडान र प्रतिष्ठाको विषय पनि।
स्वतन्त्र बिजयी संसद वा स्थानीय तहमा दलहरूसँग निरन्तर सहकार्य गर्नुपर्ने अवस्थामा हुन्छन्। तर उनीहरू कुनै एक दलमा निर्भर भए जस्तो नदेखिने ख्याल गर्नुपर्छ। आवश्यक परे मत दिन वा रोक्न विवेक प्रयोग गरेर जनताको हकमा निर्णय लिनुपर्छ। अवसरवादी राजनीतिको आरोप लाग्न नदिने जिम्मेवारी उनकै हो।
स्वतन्त्र जनप्रतिनिधिलाई देखेर जनताले नयाँ आशा राख्छन्। तसर्थ, उनीहरूले भ्रष्टाचारबाट टाढा रहनैपर्छ। आफू, आफन्त वा निकटका व्यक्तिको फाइदाका लागि पदको दुरुपयोग गर्नु स्वाभाविक असफलता हो। उनीहरूको आचरण नै स्वतन्त्रताको प्रमाण हो।
जनप्रतिनिधिले एक्लै सबै काम गर्न सक्दैनन्। उनीहरूले स्थानीय संघ–संस्था, युवाहरू, स्वयंसेवकहरू, शिक्षक, बुद्धिजीवी, पत्रकार आदिलाई मिलाएर नागरिक सहभागितामूलक शासन पद्धति अघि बढाउनुपर्छ। यसले दिगो विकास र विश्वास निर्माणमा टेवा पुग्छ।
बहुसंख्यक स्वतन्त्र उम्मेदवार स्थानीय जनसमस्या समाधानका एजेन्डासहित जितेका हुन्छन्। उनीहरूले सरकारी विद्यालय सुधार, स्थानीय अस्पतालको सेवा सुधार, महिला तथा बालबालिकाको सशक्तिकरणमा विशेष जोड दिनुपर्छ। अनुगमन, दबाब र सुझावमार्फत सेवा गुणस्तर अभिवृद्धि गर्न सकिन्छ।
डिजिटल प्लेटफर्ममार्फत जनतालाई कामको विवरण दिनु आवश्यक छ। सामाजिक सञ्जाल, वेबसाइट वा मोबाइल एपमार्फत बजेट, योजना, कामको प्रगति, गुनासो व्यवस्थापनजस्ता पक्षमा पारदर्शिता ल्याउन सकिन्छ। यसले विश्वसनीयता वृद्धि गर्छ।
स्वतन्त्र प्रतिनिधिले सबै जात, वर्ग, धर्म र समुदायलाई समान सम्मान र सेवा दिनुपर्छ। विकासमा सीमान्तकृत वर्गलाई प्राथमिकता दिनु लोकतान्त्रिक उत्तरदायित्व हो।
तर अहिले खासगरी देखिएको बिजेताहरुको समान कमजोरी भनेको संवादमा कमी जस्तो देखिन्छ। कुनै पनि जनप्रतिनिधिमाथि सामाजिक रुपमा प्रश्न उठ्छ, त्यो प्रश्नको जवाफ उचित स्थानमा दिन सकेको खण्डमा जनता सन्तुष्ट हुन सक्छन्। जवाफदेहिताबाट टाढा रहने कुराले क्षम्य हुने अवस्था छैन।
बिस्कुनजसरी छरिएका स्वतन्त्र बिजेता असफल बन्यो भने आगामी दिनमा हुने चुनावमा जनताले आशाको मतलाई निराशामा बदल्न सक्छ या मत नै नदिन सक्छ। अथवा, स्वतन्त्र उम्मेदवारलाई नपत्याउन सक्छ। ०७९ मा जनमतले दिएको सानै आशा होस् तर यसको दायरा फराकिलो बनाउने परिक्षाका कसी र पहिलो विन्दु बनेका पात्र आफैं विवादको टाकुरामा उभिन हुन्न, यसले आउने पुस्ताको राजनीतिमाथि चासो विस्तारै हराउन सक्छ।
यसर्थ सुझाव छ– अबको पुस्ताले राजनीतिमाथि आशा देखेको वा चिन्तन सुरु गरेका पात्रका रुपमा रहेका बालेन, हर्क र गोपी जस्ता मानिसले कामले प्रेरित गर्नुपर्छ। संसदीय राजनीतिमा पुगेका अनुहार त ०८४ मा निर्वाचन भएको खण्डमा चुनावी प्रचारमा पनि सभापति निर्दोष छन् राजनीतिक प्रतिशोध भयो भनेर दगुर्नेबाहेक कुनै नयाँ सपनाको मार्गचित्र देखाउन सक्ने जस्तो देखिँदैन। यसर्थ, समाजको आइडल बन्नुस्, आइडियावाल पनि बन्नुस्, आइरन म्यान पनि बन्नुस्।