नेभिगेशन
राजनीति

अफताब आलमका मेयर छोराको पत्रकार सम्मेलनः गौरीशंकर राम कृत्रिम पात्र खडा गरियो

काठमाडौं– रौतहटमा राजनीतिक गर्ने शैलेन्द्र साहका कारण आफ्ना बाबु अफताब आलमलाई झूठा मुद्दा चलाएको भन्दै डा. रजिक आलमले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेका छन्।

उनी अफताबका कान्छा छोरा हुन् भने राजपुर नगरपालिकाका मेयर हुन्। सम्भवतः उनी देशकै निर्वाचित कान्छा पालिका प्रमुख समेत हुन्। 

रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बाबुविरुद्ध तत्कालीन एमालेका उम्मेदवार साहले झूठा मुद्दा लगाएको दाबी गरे।

रजिकले २०६४ को निर्वाचनमा त्यहाँ घटना नै नघटेको बताए। उनले आफ्ना बाबुविरुद्ध एमाले नेता साहले प्रतिशोध राखेर काम गरेको दाबी गरे।

‘बम बिष्फोट भएकै छैन, घटना घटेकै होईन। यो मुद्दाको उठान कहाँबाट भयो भन्ने तपाईँहरुले बुझिदिनुपर्छ। मेरो बुबासँग २०६४ सालमा शैलेन्द्र साह भन्ने चुनाव लडेको थियो। यो जुन घटना भनिएको छ, वैशाख ३० गते। त्यो भन्दा एक महिना पहिला शैलेन्द्र साहले निर्वाचन अधिकृतलाई निवेदन दिनुभएको थियो, उहाँले चुनावमा धाँधली गर्नुहुन्छ, बुथ कब्जा गर्नुहुन्छ भनेर एक महिना पहिला नै निवेदन दिनुभएको थियो।’ 

अचानक वैशाख ३० गते गएर उनले सीडिओ अफिसमा निवेदन गरेको बताउँदै रजिकले भने,‘अफताब आलमको घरमा बम पड्किएको छ भनेर। यसरी यो मुद्दा सुरुवात भएको छ। मेरो बुबासँग चुनाव लड्ने व्यक्तिको रिसिबी थिएन भनेर कसरी पत्याउनु। केही दिनअघि उहाँ गौरिशंकर राम चमारलाई लिएर यहाँ उपस्थित हुनुभएको थियो।’

आलमको मुद्दाको सन्दर्भमा प्रहरीले गौरिशंकरलाई एक वर्ष थुनामै राखेको उनको दाबी छ। 

‘नेपाल प्रहरीले उहाँलाई एक वर्षसम्म थुनेर राखेको थियो। यो पहिला मुद्दा होला, जहाँ साक्षीलाई एक वर्ष थुनेर राखेको। के कारणले थुनेर राखिएको थियो? यो देशलाई ढाँट्ने काम भयो कि भएन?’, रजिकको प्रश्न छ।

रजिकले गौरीशंकर रामलाई कृत्रिम पात्र खडा गरिएको दाबी गरेका छन्।

अधिवक्ता सञ्जिवकुमार मल्लिकले गौरिशंकरले २०६८ सालमा गरेको बयानमा आफ्नो मुहारमा भएको खत सानोमा स्टोभ पड्किएर भएको भनी उल्लेख गरिएको ठोकुवा गरे। 

‘गौरीशंकर राम यसमा एक जना पात्र बनाइएको छ। त्यो बनावटी पात्र हो। उहाँको अदालतको कागज छ। अदालतमा आफैं निवेदन दिनुभएको छ, बयान गर्नुभएको छ। मलाई जबरजस्ती प्रहरीले र त्यहाँका अन्य दलका कार्यकर्ताले मलाई समातेर ल्याएर थुनेर कागज गराएको भनेको छ’, मल्लिकले भने।

उनले प्रष्ट पार्दै जोडे,‘अफताब आलम निर्दोष हो। कुनै बम काण्ड, घटना भएको छैन। म त खाना पकाउने बेलामा २०५५–०६५ सालतिर स्टोभ पड्केर घाइते भएको थिएँ। त्यसैमा मेरो मुख जलेको थियो। आजको होइन भन्ने गौरीशंकरको लिखित बयान रहेको छ। त्यो अरुलाई होइन, अदालतलाई दिएको बयान हो।’

दाबी प्रमाणित गर्ने भार वादीमा हुने बताउँदै उनले घटना भएको पुष्टि गर्ने प्रमाण पेश गर्न नसकिएको उनले बताए। 

गौरीशंकरले आलमको घरमा बम पड्किएर भएको घाउको खत भनी बोलेको कुरा पुष्टि हुन नसक्ने उनले दाबी गरे।

यस प्रकरणमा संलग्न रहेका शैलेन्द्र साहका अर्का मित्र हाल एमालेमा प्रवेश गरेका किरण साहले यस्तो विषयलाई सदनमा पनि उठाएका छन्। ‘यो तहको झूठ कुरा सदनमा उठाएर गुमराहमा पार्ने र गलत हल्ला चलाउने काम भयो’, रजिकले भनेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति