नेभिगेशन
खेलकुद

करोडौंको लिग, हजारौंको पुरस्कार : के एन्फाको यु–१६ लिग औपचारिकता मात्र हो ?

ब्रिजेश पाण्डेय

काठमाडौं- नेपालको फुटबलमा केही वर्षयता “युवा विकास” भन्ने शब्द दोहोरिँदोछ। एन्फाले यस्तै उद्देश्य लिएर सुरु गर्न लागेको यु–१६ युथ लिग एक हदसम्म आशा जगाउने प्रयास हो। १४ वटा ए डिभिजन क्लबको यु–१६ टोलीको प्रतिस्पर्धा संरचनात्मक हिसाबले यो लिग ऐतिहासिक ठान्न सकिन्छ।

तर, जब यो लिगको बजेट र पुरस्कार संरचना हेर्छौं, तब स्वाभाविक रूपमा एउटा प्रश्न उठ्छ, के एन्फाको लागि यो लिग खेलाडीलाई सम्मान गर्ने अवसर हो कि केवल फाइल टुक्र्याउने औपचारिकता?

बजेट ठुलो, पुरस्कार सानो- विरोधाभासको पराकाष्ठा
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार यो लिगको कुल अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ छ। यति ठुलो बजेटको लिगमा विजेताले पाउने पुरस्कार केवल १ लाख, उपविजेताले ५० हजार, अनि उत्कृष्ट खेलाडीले मात्र १५ हजार रुपैयाँ।

त्यसो त यो लिग ‘सिर्जनात्मक प्रतिस्पर्धा’को नाममा सुरु गरिएको हो। प्रवक्ताका अनुसार, "लिगको उद्देश्य एक्सपोजर हो, स्रोत सीमित छन्।" तर स्रोत सीमित भन्दैमा सम्मान पनि सीमित हुनुपर्छ भन्ने सोच स्वीकार गर्न गाह्रो छ।

यथार्थ के भन्छ?
नेपालका विभिन्न जिल्लामा हुने गोल्डकपहरूमा नै विजेतालाई ५ लाख रुपैयाँसम्म पुरस्कार दिइन्छ, जबकि त्यहाँको बजेट एन्फाको यति नजिक पनि हुँदैन। त्यस्तोमा राष्ट्रिय स्तरको यु–१६ लिगको पुरस्कार यति सानो हुनुले लिगको ‘value’ आफैं घटाइरहेको छ।

लिगमा सबै क्लबहरूलाई तयारी खर्चस्वरूप ३.५ लाख दिइएको छ, जुन अघिल्लो संस्करणजस्तै हो। जबकि महँगी बढेको छ, क्लबको खर्च बढेको छ, तर समर्थन जस्ताको तस्तै। त्यो पनि विरोधाभास हो।

 १४ क्लब, एक सपना तर कस्तो वातावरण?
यस लिगमा एपिएफ, आर्मी, पुलिस, मच्छिन्द्र, मनाङ, चर्च ब्वाइज, फ्रेन्ड्स, सातदोबाटो, संकटा, एनआरटी, जावलाखेल, हिमालयन शेर्पा, श्री भगवती र प्लानिङ ब्वाइज युनाइटेड जस्ता क्लबको सहभागिता हुनेछ।

क्लबहरूले नयाँ खेलाडी तयार पार्न समय, स्रोत र मेहनत लगाएका छन्। तर जब उनीहरूलाई पुरस्कार स्वरूप सम्मान नै कम दिइन्छ, तब त्यो प्रेरणा होइन, निराशा बन्न सक्छ।

विकासका नाममा देखिने सस्तो सोच
नेपालजस्तो देशमा उमेर समूहका लिग नियमित हुनु आफैमा उत्साहको कुरा हो। एन्फाले ढाँचा बनाएको, क्लब संलग्न गराएको, बजेट मिलाएको सबै प्रशंसनीय प्रयास हुन्। तर यस्तो प्रयासले तबमात्र अर्थ राख्छ, जब त्यसको प्रभाव र प्रेरणा पनि ठुलो हुन्छ।

जब करोडौं बजेटको लिगमा पुरस्कार साना राखिन्छन्, तब त्यो प्रतिस्पर्धा होइन, अभ्यास बन्न पुग्छ। यसले खेलाडीको आत्मबललाई हानी गर्छ।

सोच परिवर्तन नभएसम्म सपना अपूरा 
विकास भन्नु केवल प्रतियोगिता गराउनु होइन। विकास भन्नुको अर्थ हो खेलाडीको प्रतिभा, आत्मबल र भविष्य सबैलाई सम्मान दिनु। करोडौंको बजेट हुने लिगले यदि हजारौंमा खेलाडीको सपना किन्न खोज्छ भने, त्यो खेलको नहीं, सोचको हार हो। अब एन्फाले सोच्नुपर्ने बेला आएको छ ।"सस्तो बजेटमा ठुलो सोच ल्याउने कि ठुलो बजेटमा सस्तो सोच देखाउने?"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद