नेभिगेशन
राजनीति

गाडी नम्बर ०३१च८९०२ः एमालेजडित असन्तुष्टि पोखिने बबरमहलस्थित कार्कीको दलान

कार्की ब्याङ्क्वेट नेकपाको इतिहासमा ‘एकता जोगाउने अन्तिम प्रयास’ को स्मरणीय स्थल बन्यो। तर, ती प्रयासहरू विफल भएका थिए

काठमाडौं– खचाखच भिँड। डेढ सय आसपासमा क्यामेराले घेरिएको मञ्च। तेजिलो घामको गर्मीले हप्प बनेको हल। एमाले सम्बद्ध पार्टीका केही नेता कार्यकर्ता, भ्रातृ संगठनका जिम्मेवार व्यक्तिहरुसहित पत्रकारहरुको लामो हुल। 

मोबाइल, क्यामेर र माइक तेर्साएर आफ्ना धारणा राख्ने परिचित, अपरिचित अनुहारहरू। राजनीतिक गफ पेल्न उत्सुक मानिसहरू, समूह पनि सक्रिय। मानौं, शुक्रबार नयाँ केही हुँदैछ बबरमहलस्थित कार्कीको दलानमा। अर्थात्, कार्की ब्याङ्क्वेटमा।

अगाडी नेपाली सेनाको ‘बोलेरो’ जीपको कार्गेट, बीचमा निजी गाडी नम्बर ०३१च८९०२। बीवाईडी कम्पनीको उक्त निजी इलेक्ट्रिक भेईकलबाट कडा सुरक्षामा निस्कन्छिन्– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी।

मञ्चमा मदन भण्डारीको मात्र फोटो टाँसिएको ‘जनताको बहुदलीय जनवाद जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लेखिएको ब्यानरमा थपिएको थियो,‘पत्रकार भेटघाट कार्यक्रम।’

पत्रकारभन्दा पनि समर्थकको बाक्लो घुइँचोबीच हानाथाप र खचाखच भएको रातो कार्पेटको बाटो हुँदै मञ्चतिर उक्लिन्छिन्, भण्डारी।

लिखित प्रेस नोटमा उनको नाम तलपट्टि 'पूर्वउपाध्यक्ष नेकपा एमाले' भनेर उल्लेख थियो।

प्रेस 'नोट'मा मुख्य तीन विषय 'फोकस' थियो।

पहिलो, ‘३५ बर्षसम्मको सदस्यता कायम रहँदा पार्टीको प्रस्तावका आधारमा राष्ट्रपतिको निर्वाचनमा सहभागी भएँ, ४५ बर्ष भयो एमालेको सदस्यता लिएको।’

दोस्रो,‘पार्टी बलियो बनाउन आन्तरिक र बाह्य सम्बन्धलाई पनि कायम गर्न सक्रिय राजनीतिमा आएको र एमाले नै घर भएकाले फर्किएको।’

र, अन्तिम ‘कसैले चहाँदैमा मेरो सदस्यता कायम नहुने भन्ने हुँदैन, यस विषयमा पार्टीमा छलफल हुन्छ।’

एमाले राजनीतिमा अब गाडी नम्बर ०३१च८९०२ रोकिनेवाला नरहेको सन्देश थियो। उक्त सवारीकी सवारकर्ता भण्डारीले भनिन्,‘म मदन भण्डारीले सदस्यता दिएकी मान्छे हुँ, केही मुठिभर मानिसले हुँदैन, होइन र पाइँदैन भन्दैमा मेरो सदस्यता खारेज हुन सक्तैन।’

अक्सर कार्की ब्याङ्क्वेट नेकपा एमालेजडित विवादको मन्थन, निचोड र किनारा लाग्ने पूर्वअभ्यासको थलो बनेको इतिहास छ।

माओवादीसँगको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पनि सोही थलोमा छताछुल्ल मात्र बनेन अनेक हर्कत भएकै थिए, जसको एउटा कारक हालका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै थिए। 

अहिले भण्डारी त्यहाँ पत्रकार भेटघाटका लागि पुग्नुको कारक पनि ओलीको आदेशात्मक पार्टीले अनुमोदन गरेको केन्द्रीय समितिको निर्णय नै थियो।

यसअघि, नेकपा (नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टी) को विभाजनतिर उन्मुख घटनाक्रमको दौरानमा कार्की ब्याङ्क्वेट“भन्ने स्थान निकै चर्चामा आएको थियो। 

यो ब्याङ्क्वेटमा नेकपाका शीर्ष नेताहरूबीच गोप्य, अर्धगोप्य र केही खुला छलफलहरू भएका थिए। विशेषगरी पार्टीभित्र बढ्दो गुटगत असन्तुष्टि र सत्ता–संघर्षका कारण भएको राजनीतिक उथलपुथलमा यो स्थान महत्वपूर्ण बनेको थियो।

कार्की ब्याङ्क्वेट नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबीचको अन्तरसंवादको प्रमुख स्थल बनेको थियो।

झण्डै ४०–५० नेताहरूको उपस्थितिमा थुप्रै बैठकहरू यहीँ बसे, जसलाई सुलह वा टकराव दुवैको सम्भावनाका रूपमा हेरिएको थियो।

ओलीले मन्त्रिपरिषद् र संवैधानिक निकायमा एकलौटी निर्णय लिएको भन्दै प्रचण्ड–माधव नेपाल समूह असन्तुष्ट बनेको थियो। त्यसको समाधान खोज्न यो ब्याङ्क्वेटमा लामो छलफल चलाइयो।

यति मात्र गरिएन यहिँ बसेको बैठकबाट ओलीलाई नेकपाका ७० प्रतिशत केन्द्रीय सदस्यले पार्टीबाट हटाएको निर्णयसहितको दाबी प्रचण्डले गरेका थिए। 

यी बैठकहरूमा सहमति नभएपछि अन्ततः नेकपा विभाजनतिर गयो।

प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टीको ‘एकलौटी चरित्र’ भएको भन्दै आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा बोल्न थालेको पनि कार्कीकै दलानमा थियो। त्यसको प्रतिवादमा ओलीले दिएका उत्तरहरु पनि सोही ब्याङ्क्वेटमा नै भएको थियो।

कार्की ब्याङ्क्वेट नेकपाको इतिहासमा ‘एकता जोगाउने अन्तिम प्रयास’ को स्मरणीय स्थल बन्यो। तर, ती प्रयासहरू विफल भएका थिए।

त्यसपछि केपी ओलीले संसद विघटन गरे, जसले पार्टी झनै विभाजनतिर गयो। त्यसैले यो स्थान नेपालको समकालीन राजनीतिक संकटको रियाल पोलिटिक्स को एउटा थलो पनि बन्यो। 

माओवादी र एमाले पुनर्जिवित भएपछि बगेको राजनीतिमा अहिले देखिएको विवादको अर्को श्रृङ्खलाका उतारचढाव पोखिने क्रम पनि यहिँबाट खुलारुपमा भएको छ। किनभने, भण्डारीले यहिँ गरेको पत्रकार सम्मेलनका क्रममा आफूलाई एमालेको ‘पूर्वउपाध्यक्ष’का रुपमा प्रस्तुत गरेकी छन्। यसको अर्थ उनी एमाले नेत्री हुन् भन्ने ठहर्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति