सिन्‍धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

मंगलबार, पुस १०, २०८०

सिन्धुली- सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलालाई निर्घात कुटपिट गरिएको छ ।

कमलामाई नगरपालिका–४ ढकाल गाउँकी शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो। गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए।

यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। प्रहरीले हालसम्म उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेकाले उनीहरुको विवरण नखुलाइएको प्रहरीकाे भनाइ छ ।

उनीहरूलाई म्याद थप गरी विस्तृतमा अनुसन्धान गर्ने तयारी रहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्