नेभिगेशन
सुरक्षा–अपराध

अन्डरवर्ल्ड डन दाउद इब्राहिमका दुश्मन छोटे राजनको नेपाल साइनो र अपराध

सन् २०१४ मा छोटे राजनले नक्कली भारतीय राहदानी बनाएको खुलासा भएपछि नेपालमा बसेर नेपाली नागरिकता प्राप्त गर्ने प्रयास पनि गरेका थिए

काठमाडौं– ९० को दशकसम्म भारतको मुम्बईमा आक्रान्त रहेको अन्डरवर्ल्ड डनहरूको दुश्मनीको कथा असामान्य छन्। तर, त्यो आपराधिक दुनियाँको बाछिटा नेपालसम्म पनि जोडिएका घटना छन्।

खासगरी खुला सीमा र प्रशासनयन्त्रको कमजोर उपस्थितिलाई सीमापार अपराध र लगानी गर्न त्यसबेलाका डन हिचकिचाएनन्। 

कतिपयले चर्चित रहेका दाउद इब्राहिमको नेपालका क्यासिनोमा लगानी रहेको पनि चर्चा गरेका थिए। 

यस्तै दाउदलाई दबाउनका निम्ति भारतीय प्रशासनले नै चलाएको भनिएको अर्को छोटे राजन समूहको बिगबिगी पनि काठमाडौंमा रहेको थियो। कतिसम्म भने लाजिम्पाटमा दिउँसै हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहको घटनासँग छोटे राजन जोडिए। 

दाउद इब्राहिमका दुश्मनका रुपमा परिचिय स्थापित गरेका छोटे राजनको समूहले नै शाहको हत्या गरेको भन्ने चर्चा भयो। 

यसबाहेक छोटे राजनको नेपाल नता रहेको पनि चर्चा थिए। इन्डोनेशियामा पक्राउ गरिएका उनलाई भारतमा मात्र २० हत्या अभियोग थियो। 

छोटे राजनको असली नाम राजेन्द्र सदाशिव निखलजे हो। भारतीय अन्डरवल्र्डको कुख्यात नाम हो। १९८० र १९९० को दशकमा मुम्बईको अन्डरवल्र्डमा दाउद इब्राहिमसँगको भागीदारी अनि पछि दुश्मनीपछि उनी फरार भए। 

उनी धेरै वर्षसम्म अन्तर्राष्ट्रिय माफिया नेटवर्क संचालन गर्दै आएका थिए। यिनको गतिविधि भारतमा मात्र सीमित थिएन; यिनीले नेपाल, थाइल्यान्ड, मलेसिया, अष्ट्रेलिया, दुबई हुँदै युरोपसम्म विस्तार गरेका थिए। 

यस सन्दर्भमा नेपालको भूमिकाले निकै चर्चा पायो, विशेषतः उनी भारत र दाउद इब्राहिमबाट टाढा रहन खोजिरहेका बेला।

rajan-1752383819.jpg
‘छोटे राजनले १९९५ पछि दाउद इब्राहिमसँग दुश्मनी भएपछि आफूलाई सुरक्षित राख्न वैकल्पिक ठाँउहरू खोज्न थाले। भारतको प्रहरी र दाउदको मानिस दुवैबाट जोगिनुपथ्र्यो। यही क्रममा उनले नेपालको प्रयोग गरेका थिए’, सुरक्षा मामिला जानकार प्रहरीका पूर्वअधिकारी बताउँछन्।

नेपाल–भारत खुला सीमाना र कमजोर आप्रवासन नीति उनका लागि लाभदायक बन्यो। उनले धेरै पटक नेपाल प्रवेश गरेर आफ्नो अपराधिक नेटवर्कको ‘हाइटेक कम्युनिकेशन सिस्टम’ नेपालबाट चलाएका थिए भन्ने आरोप लागेका थिए।

खासगरी दाउदको मुम्बईमा चलेको आततायी समयलाई सन्तुलनमा ल्याउनका लागि नै सोही गिरोहमा पहिला रहेका छोटे राजनलाई भारतीय प्रशासनले सहयोग गरेको पनि बताइन्छ।

सन् १९९८ देखि २००२ को बीचमा उनलाई काठमाडौं र पोखरामा देखिएको भनिएको थियो। 

भारतीय अनुसन्धान एजेन्सीको अनुसार, उनले विभिन्न नक्कली नाममा नेपाली राहदानी बनाएका थिए। त्यतिबेला नेपालमा राहदानी किन्न सजिलो मानिन्थ्यो र उनले त्यसकै फाइदा उठाएको बताइन्छ। 

एक समय उनलाई ‘राजु भाट’ वा ‘राजु शेखर’ भन्ने नाममा काठमाडौँमा अपार्टमेन्ट भाडामा लिएर बसेको रिपोर्टहरू सार्वजनिक भएका थिए।

छोटे राजनको गिरोहले नेपाल–भारत खुला सीमाको प्रयोग गरेर हतियार र लागुऔषध तस्करी गरेको प्रमाणित छ। 

भारतीय अनुसन्धान एजेन्सीहरूले उल्लेख गरेका छन् कि छोटेलाई समर्थन गर्ने केही नेपाली समूहहरू पनि थिए, जसले उनलाई जानकारी, लुक्ने स्थान र स्थानीय सहयोग गर्दथे। 

भारतको गुप्तचर संस्था रअले उनलाई दाउदको विरोधीको रूपमा सहयोग गरेको आरोप पनि लगाइएको छ र यस सन्दर्भमा नेपाल एक ‘स्ट्राटेजिक हब’ बनेको थियो।

सन् २०११ मा भारतमा चर्चित पत्रकार ज्योतिर्मय डे को हत्यामा छोटे राजनको हात रहेको खुलासा भयो। त्यसबेला उनको गिरोहले नेपाल हुँदै भारतमा मानिस पठाएको अनुसन्धानमा देखियो। 

हत्यापछि नेपाल फर्किएका गिरोह सदस्यहरू केही समय नेपालमै लुकेका थिए भन्ने अनुसन्धान रिपोर्टहरू भेटिएका छन्। यसले छोटे राजनको नेपाल कनेक्शन अझ स्पष्ट बनाउँछ।

सन् २०१४ मा छोटे राजनले नक्कली भारतीय राहदानी बनाएको खुलासा भएपछि नेपालमा बसेर नेपाली नागरिकता प्राप्त गर्ने प्रयास पनि गरेका थिए। 

नेपालमा राहदानी प्रणालीमा भएको कमजोरीले अन्तर्राष्ट्रिय अपराधीहरूलाई आकर्षित गरेको थियो। यही कारण छोटे राजनको नाम धेरैपटक नेपाल सरकारको राहदानी वितरण प्रणाली सुधार्न आवश्यक भएको तर्कमा उठाइएको थियो।

सन् २०१५ मा छोटे राजनलाई इन्डोनेसियाको बालीमा पक्राउ गरियो। तर त्यहाँ पुग्नुअघि उनले थाइल्यान्ड, मलेसिया, अष्ट्रेलिया, र नेपाल हुँदै यात्रा गरेको प्रमाण मिलेको थियो। नेपालस्थित एयरपोर्टहरूबाट उनले विभिन्न नाम र राहदानी प्रयोग गरेर अन्तर्राष्ट्रिय यात्रा गरेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएका छन्।

रेड कर्नर नोटिसमा दिइएको १८ औंठा छाप नमूनाहरू मध्ये १ उनको नमूनासँग मेल खायो, जसले उनी राजेन्द्र सदाशिव निकालजे भएको पुष्टि भयो।

राजनलाई ६ नोभेम्बर २०१५ मा भारत सुपुर्दगी गरिएको थियो र उनी हाल तिहाड जेलमा छन्। लगभग ७० मुद्दामो सुनुवाइको पर्खाइमा छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध