नयाँ अनुहारलाई चुनौती:  गल्ती गर्ने छुट छैन

जनताको अपेक्षा– सुशासन कायम होस्
मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ– अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको छ । पुराना राजनीतिक दलहरू प्रति जनताको वितृष्णाका कारण नयाँ अनुहारको पनि उल्लेख्य संङ्ख्यामा उपस्थिति रहेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट लिएको छ । समानुपातिकमा पनि करिब १४ जना संसद्मा उपस्थित हुने वातावरण बनेको छ । 


नयाँ अनुहार रवि लामिछाने नेतृत्वको पार्टीबाट मात्र संसद्मा प्रवेश गर्ने छैनन् । नागरिक उन्मुक्ति पार्टीले पनि प्रत्यक्षमा ३ सिट जितेको छ । त्यहाँ पनि सबै नयाँ अनुहार नै छन् । सिके राउत पनि प्रत्यक्षमा एक्लै जिते पनि समानुपातिकबाट केही स्थान प्रतिनिधिसभामा उपस्थित गराउने छन् । उनको पार्टी र उनी पनि नयाँ नै हुन् । 


नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको गणतन्त्र विरोधी र राजसंस्था पुनर्स्थापना गर्नु पर्छ भन्ने राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संसद्मा राम्रो उपस्थिति जनाउँदै छ । उनीहरू राजसंस्था पुनर्स्थापनाको मुद्दालाई आधार बनाएर संसद्मा छिर्दै छन् । गणतन्त्र भएको मुलुकमा उनीहरूले पाएको मत पनि पुराना राजनीतिक दल प्रति जनताको वितृष्णाकै सङ्केत हो । त्यसमा पनि राजेन्द्र लिङ्देन बाहेक सबै प्रत्यक्षबाट निर्वाचन जित्नेहरू नयाँ अनुहार हुन् । 

नयाँ अनुहार संसद् प्रवेश गरेपछि मतदाताले पनि नयाँ अपेक्षा गर्नु स्वाभाविक विषय हो ।  पुराना राजनीतिक दल र तिनका नेताहरूसँग रुष्ट भएका मतदाताले केही अपेक्षा गरेर नै नयाँ अनुहारलाई संसद्मा पठाएका छन् । काठमाडौँ क्षेत्र नंं २ बाट मतदान गरेका रमन श्रेष्ठ नयाँ बाट सुशासनको अपेक्षा गरेको बताउँछन् । 


क्यानडा नेपालसँगको कुराकानीमा श्रेष्ठले पुराना दलबाट जनताका अपेक्षाहरू पुरा नभएका कारण आफ्नो मत परिवर्तन गरेको सुनाए । पेप्सीकोलामा व्यवसाय गर्ने उनले भने, ‘मतदान यो वर्ष परिवर्तन गरियो । कान्छो विदेशमा छ । उसले पनि सबैको भोट घण्टीलाई दिनु पर्छ भन्न थाल्यो । हामी पनि हेरौँ न भनेर घण्टीलाई नै भोट दिएका छौँ ।’ 


नयाँ अनुहारसँग युवा पुस्ताको अपेक्षा धेरै छ । रमनका कान्छा छोरा मात्र होइनन् विदेशमा भएका धेरैले नयाँ पुस्तालाई मतदान गर्न घरमा आग्रह गरेको सुनिन्छ । रमनले थपे, ‘मुख्य त सुशासनको विषय हो । देशमा सुशासन नभएर देशको हालत यस्तो भएको हो । अझै पनि पुराना दलहरूले सुशासनका लागि काम गर्छन् भन्ने लाग्दैन । त्यसैले पनि नयाँ पुस्तालाई मत दिएका हौँ ।’


काठमाडौँ क्षेत्र नं १ मा नयाँ पुस्ताका पुकार बमलाई मत दिएका विमल क्षेत्री क्रान्ति भएको सम्झना गर्छन् । अहिलेको मत परिवर्तनले राजनीतिक क्रान्तिको रूप लिएको उनको भनाइ छ । नयाँ बानेश्वरका व्यवसायी क्षेत्री आफूले मतदान गरेका व्यक्तिले नजिते पनि मत खेर नगएको र सही ठाउँमा मतदान गरेको बताउँछन् । ‘मत दिएकाले जित्नु पर्छ भन्ने त हो ।’ उनी सम्झन्छन्, ‘तर, जिते जस्तै भएको छ । सही ठाउँमा मत दिएको रहिछु भन्ने लागेको छ। युवा पुस्ताले कम्तीमा सुशासनको लागि काम गर्छ भन्ने मेरो विश्वास हो । अहिलेको निर्वाचनलाई मैले त शान्तिपूर्ण क्रान्तिको रूपमा बुझेको छु ।’


नुवाकोटमा मतदाता नामावली भएका राजु तामाङ पनि मतदान गरेपछि काठमाडौँ फर्केका छन् । काठमाडौँको नयाँ  बानेश्वरलाई कर्मथलो बनाएका उनी अलिअलि राजनीति गफ गर्छन् । सानै उमेरमा माओवादीको परिवर्तन गर्ने एजेन्डा मन पराएर भूमिगत भएका उनी अहिलेसम्म मत परिवर्तन नगरेको बताउँछन् ।

‘पार्टीको जिम्मेवार पदमा बसेका कारण मत परिवर्तन त गरिएन ।’ उनले सुनाए, ‘ अहिले नयाँ अनुहारले पाएको मत राजनीतिक दल प्रतिको वितृष्णा हो । यो ध्रुव सत्य कुरा हो । घाम जस्तै छर्लङ्ग छ ।’


नयाँ पुस्तामा सिद्धान्तको कमी भएको तामाङको बुझाइ छ । उनले थपे, ‘रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्र हेर्ने हो भने पनि प्रस्ट हुन्छ यिनीहरू सिद्धान्त विहीन जस्तै छन् । कुनै विधान बिना यत्रो मत पाएको छ। जनताको फ्रस्टेसनको मत हो तर सदुपयोग कसरी हुन्छ भन्ने विषय चुनौतीपूर्ण छ।’


पूर्वी  तराई , पश्चिम तराई र राजधानी उपत्यका लगायतका क्षेत्रमा भएको नयाँ अनुहारको आगमले जनतामा अपेक्षा पलाए पनि कसरी जनभावनाको कदर हुन्छ भन्ने विषय हेर्नै पर्ने हुन्छ । चितवन घर भई काठमाडौँको पेप्सिकोलालाई कार्यक्षेत्र बनाएका दिवस आचार्य पनि जन भावनाको कदर हुनेमा सशङ्कित नै छन् ।

उनले भने, ‘मत पाउनु ठुलो कुरा भएन । मत पाएका जन प्रतिनिधिले कसरी जनभावनालाई सम्बोधन गर्छन् भन्ने विषय महत्त्वपूर्ण हो । हामीले पहिलो मतदान गरेका नेताहरूबाट पनि कम अपेक्षा गरेका थिएनौँ । उहाँहरूका घोषणापत्र हेर्दा, उहाँहरूको बोलेको कुरा सुन्दा पनि परिवर्तन त गजब हुन्छ भन्ने लाग्थ्यो । तर, त्यसो देखिएन। नयाँले पनि के गर्लान् र खै ?’

प्रतिनिधिमूलक स्थानीयको आवाजले मतदाता अपेक्षा र निराशाकै सङ्घारमा छन् । बहुमतको टाउका गन्तीबाट ठुला ठुला निर्णय हुने संसदीय व्यवस्था नै गलत भएको बताउनेहरू पनि छन् । कतिपयले आफूहरू राजनीतिक बन्धनमा रहेको कारण प्रतिक्रिया नदिने पनि बताइरहेका थिए । त कतिपय जति जोगी आए पनि कानै चिरेका हुने बताइरहेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्