नेभिगेशन
राजनीति

एमालेसँग गठजोड सरकारमा कांग्रेसलाई लागेको चोटपटक

काठमाडौं– प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेस र नेकपा एमालेको गठजोड सरकार बनेयता विविध उतार चढाव भए पनि सभापति शेरबहादुर देउवाले साथ छाडेका छैनन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग हात झिकेर एमालेसँग सहकार्य अघि बढेको थियो। कांग्रेसले आलोपालोको पहिलो प्रधानमन्त्रीमा ओलीलाई साथ दिएको छ। तर, यो सरकारमा विभिन्न प्रकरणमा कांग्रेसले मात्र चोटपटक व्यहोरेको संसदीय दलको बैठकमा शनिबार समीक्षा भयो। 

तैपनि सभापति देउवाले यसलाई समान्य लिँदै आफूले पनि विभिन्न समयमा दुख पाएको उदाहरण दिएका थिए। 

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ। सोही कारण उनी स्वतः सांसद पदबाट निलम्बित भए। 

तर संसदीय दलको बैठकमा सहभागी भएर एमालेले टार्गेट गरेको गुनासो गर्दा सभापति देउवाले भने,‘मलाई पनि शाही आयोगले पक्राउ गरेको थियो। केही पनि हुँदैन। मुद्दा तुहिएर जान्छ।’

जबकि टेरामक्स प्रकरणमा तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको पनि बयान लिइएको थियो। बास्कोटा एमाले भएका कारण नै जोगाइएको बस्नेतको ठहर थियो।

सहकारी प्रकरणमा पक्राउ गरिएपछि धरौटीमा रिहा भएकी माया राई त धरधरी रोइन्। उनले रुँदैरुँदै सभापति देउवालाई गुनासो पोखेकी थिइन्।

उनका साथमा मञ्जु खाँण पनि आँसु झार्नेमा परिन्। राईले भनिन्,‘गठबन्धनमा रहेर पनि एमालेले हामीलाई छानीछानी कारबाहीको प्रक्रियामा लगेको हो, यसमा षडयन्त्र मात्र छ।’

सहकारी प्रकरणमा नै लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जलाको नाम मुछिएको थियो। ऋषिकेश एमालेका नेता भएका कारण नै जोगाइएको मायाको गुनासो रहेको स्रोतले जनाएको छ।

त्यसो त उर्जाराज्यमन्त्री कान्छाराम तामाङ पनि आवेशमा आएर आफूलाई प्रधानमन्त्री ओलीले नियोजित रुपमा बर्खास्त गर्दा पार्टीले केही नबोलेको बताएका थिए। यति मात्र होइन पार्टीले भनेको स्थितिमा आफूले राजीनामा नै गरिदिने बताएका उनले अपमानित ढङ्गले बर्खास्त गर्दा समेत बचाऊ नगरेको आरोप लगाएका थिए। 

उनको भनाईमा भने सभापति देउवा मौन रहेको बैठकमा सहभागीले जानकारी दिए।

गठबन्धन सरकारमा कांग्रेसले जहिले पनि पीडा मात्र भोगेको स्मरण गर्दै एक नेताले भने,‘विपक्षमा रहँदा पनि एमालेले कांग्रेसलाई टार्गेटमा राखेको थियो। नेता बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पक्राउ गरियो। अपमानित गरियो।’

सोही क्रममा मोहनबहादुर बस्नेतले थपेका थिए,‘कम्युनिस्टको बिरोधी भएका कारणले नै मलगायत कांग्रेसका अन्य नेतामाथि टार्गेट गरिएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति