नेभिगेशन
राजनीति

ईश्वर जहाँ उभियो त्यहि एमालेको संस्थापन बनेको इतिहास, भण्डारी अगाडि बढाउँदैछन्

काठमाडौं– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अहिले अध्यक्ष केपी शर्मा ओलीको विचारभन्दा अलिक भिन्न छन्। एमालेका सबैले ‘म झोले हो’ भन्दा उनी अलिक अलग देखिए। 

प्रष्ट र खरो रुपमा ओलीको आलोचना नगरे पनि उनका कतिपय तर्कले अबको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने झल्कन्छ। यति मात्र होइन, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अगाडि बढाइसकेका छन्। 

उनले भनेका छन्,‘ नेकपा एमालेको नवौं महाधिवेशनका बेला हामीले संगठनमा लामो छलफल गरेर ७० वर्षीय उमेर हदको निर्णय गरेका हौं। पार्टी जीवनको लोकतान्त्रिकरणको सुरुवातकर्ता, लोकतन्त्रिकरणको कन्सेप्ट ल्याउनु हुने हाम्रो अध्यक्षकै पालामा यसको सुरुवात भएको हो। सातौँ महाधिवेशनमा व्यापक छलफल गरेर हामी आठौंमा बहुपदीय पद्दतिमा गयौं। नवौं महाधिवेशनबाट ७० वर्षीय उमेर हदको निर्णय भएको हो।’

यसको अर्थ पोखरेल यस विषयबाट अलग धारणा राख्ने मतमा छैनन्। तर ओली ७४ बर्षका पुगिसकेका कारण उमेरहदको विषय नरहेको दाबी गरिरहेका छन्। यसबारे फरक टिप्पणी नगरेका पोखरेलले थप भनेका छन्,‘त्यही महाधिवेशनमा कार्यकाल पनि तोक्नुपर्छ भन्ने कुरा भएपछि लगातार दुई कार्यकाल र ७० वर्षको उमेर हद तोक्ने भनेर हामीले महाधिवेशनबाटै पास गरेका थियौं।’

पोखरेलको यो धारणाले स्पष्ट सन्देश दिन्छ कि अब ओलीले पार्टी नेतृत्वको दाबी मात्र होइन, राजनीतिबाट नै विश्राम लिनुपर्छ भलै पोखरेल पनि ७० कटेका हुन्। 

तर, पोखरेल किन यो विषय उठान गरिरहेका छन्? उनी आफैं पनि अध्यक्ष हुन नपाउने हुँदा यो विषयको चर्चा गर्नुको कारण हो– विद्यादेवी भण्डारीको उदय। 

पोखरेलको तर्कमा कतिसम्म दम हुन्छ भने उनी अहिलेसम्म जता लागेका छन्, त्यहि मात्र अध्यक्षमा निर्वाचित भएको छ। माधवकुमार नेपाल महासचिव हुँदा स्थायी कमिटी सदस्य रहेका पोखरेल कोओर्डिनेशन केन्द्रसँगै तत्कालिन महासचिव मदन भण्डारीका सन्निकट पात्र हुन्। 

मदन भण्डारीको जनताको बहुदलीय जनवादको खाँटी ब्याख्याता पोखरेल जहाँ उभियो त्यहि नै एमालेको संस्थापन बनेको छ। अर्थात् महाधिवेशनको ट्रेन्डिङले पनि त्यहि देखाएको छ। 

आठौं बुटवल महाधिवेशनमा ओली–माधव नेपाल मिल्दा पनि पोखरेल भने झलनाथ खनालको खेमामा उभिएर महासचिवका उम्मेदवार थिए। त्यसबेला खनाल नै अध्यक्ष निर्वाचित भएका थिए। 

नवौं महाधिवेशनमा माधव–झलनाथविरुद्ध पोखरेल ओलीतिर उभिए, ओली अध्यक्षमा निर्वाचित भए। १०औं महाधिवेशनमा ओलीलाई सर्वसम्मत गराउन भूमिका खेलेका कारण लगातार १५ देखि १६ बर्षसम्म उनी सक्रिय पदमा पनि छन्। ५० बर्षदेखि जता उभिए त्यतै संस्थापन बनेका बखत अहिले ओलीको कुन्ठासँग अमिल्दो लाइनलाई खडा गरिरहेका छन्।

उमेर सीमा ७० बर्ष लागु हुने बताएका पोखरेलले दुई कार्यकाल ओलीलाई समर्थन गरिसकेका छन्। उनका लागि अध्यक्षको बाटो ब्लक गरिरहेका ओलीलाई किनारा लगाउनका लागि पोखरेलले विद्या भण्डारीलाई अगाडि बढाएका छन्। आगामी महाधिवेशनसम्म पुग्दा ७० को उमेरसीमा कायम रहेमा या विधानअनुसार चलेमा ओली न अध्यक्षका दाबेदार रहनेछन् न उमेरले नै साथ दिनेछ। 

त्यसबेला भण्डारी हरेक हिसाबले अनुकुल पात्र बन्नेछिन्। खासगरी अध्यक्षका लागि पदाधिकारी बनिसकेकी, राष्ट्राध्यक्षको अनुभव सँगाली सकेकी र उमेर पनि ७० नपुगेकी महिला हुनेछिन्। यति मात्र होइन, महिला नेत्री नै मूल नेतृत्वमा आउने विषयले संवेदनात्मक समर्थन पनि पाउनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति