नेभिगेशन
राजनीति
टिप्पणी

देउवा, ओली र प्रचण्डका ‘डिफ्याक्टो’हरूः जसले नेपथ्यबाट पार्टी, सत्ता र सरकार चलाउँछन्

काठमाडौं– नयाँ र पुराना तीन उदाहरणसहितका व्याख्या छन्, सुरुमा।

पहिलो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेता तथा राष्ट्र प्रमुखको हैसियतमा नै चीनको भ्रमण गरिन्। उनलाई त्यसकै मान्यता अनुसार स्वागत गरियो।

दोस्रो, नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘भाउजू’लाई पनि तान्ने स्थिति आएपछि रातारात सरकार परिवर्तन भयो। कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गरे।

र तेस्रो, भारत भ्रमणका क्रममा कुटनीतिक मर्यादाविपरित छोरी गंगा दाहालसहित पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वार्ता। माओवादीले भन्यो,‘उहाँ प्रथम महिलाको हैसियतमा बस्नु भएको हो।’

राजनीतिको केन्द्रविन्दुमा रहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ‘डिफ्याक्टो’बारे चर्चा गर्नुअघि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले बिम्स्टेक सम्मेलनका बेला सुजाता कोइरालाले तय गरेको हैसियतको चर्चा गरौं। 

बिम्स्टेक सम्मेलनमा सहभागी भएका सदस्य देशका प्रथम महिलाहरुलाई कोइरालाले भक्तपुरको दरबार स्क्वायरलगायत भ्रमण गराउँदा सरकारका तर्फबाट जवाफ आयो– उनले प्रथम महिलाको हैसियतमा भ्रमण गराएकी हुन्।

ओली, देउवा र प्रचण्डले नेतृत्व गरे पनि नेपथ्यमा रहेका शक्ति भनेका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, हालकी परराष्ट्रमन्त्री आरजु राणा र प्रचण्डपुत्री गंगा दाहाल देखिएका छन्। 

उनीहरूको राजनीतिक सक्रियता यसका उदाहरण हुन्। उनीहरू डिफ्याक्टोका रुपमा सक्रिय छन्।

डिफ्याक्टोको अर्थ के हो होला? यो पनि बुझौं।

‘डिफ्याक्टो’ एउटा ल्याटिन शब्द हो, जसको अर्थ ‘वास्तविक रूपमा’ अथवा वास्तविक स्थितिअनुसार भन्ने हुन्छ। यो शब्द सामान्यतया विधि, शासन, कानुन, राजनीति, प्रशासन, तथा समाजशास्त्र जस्ता क्षेत्रहरूमा प्रयोग गरिन्छ। 

डिफ्याक्टो भन्ने शब्द त्यस्तो अवस्थामा प्रयोग गरिन्छ, जहाँ कुनै कुरा औपचारिक रूपमा मान्यता प्राप्त नभए पनि व्यवहारमा वा कार्यान्वयनमा अवस्थित हुन्छ।

उदाहरणका लागि, कुनै देशमा दुई सरकार हुन सक्छन् — एउटा ‘डिजुरे सरकार’, जसलाई कानुनी मान्यता प्राप्त हुन्छ, र अर्को ‘डिफ्याक्टो सरकार’, जसले वास्तवमै शासन गरिरहेको हुन्छ। यस अवस्थामा, डिफ्याक्टो सरकार कानुनी रूपमा मान्य नभए पनि जनतामा, सुरक्षाकर्मीहरूमा वा सेवाहरूमा यसको नियन्त्रण हुन्छ।

सामान्य जीवनमा पनि हामीले डिफ्याक्टो स्थिति देख्न सक्छौं। उदाहरणका लागि, कुनै व्यक्तिले संगठनको नेतृत्व गरिरहेको छ भने, उसलाई आधिकारिक रूपमा ‘प्रमुख’ भनिएको नहुन सक्छ, तर व्यवहारमा उसैको निर्देशनअनुसार सबै निर्णय हुन्छन् भने उसलाई डिफ्याक्टो नेता भनिन्छ।

डिफ्याक्टो र डिजुरेबीचको फरक बुझ्न पनि यो शब्द उपयोगी हुन्छ। डिजुरे भनेको ‘कानुनी रूपमा मान्यता प्राप्त’ हो भने, डिफ्याक्टो भनेको ‘वास्तविकतामा भइरहेको’ स्थिति हो। दुबै बीचको भिन्नता धेरैजसो राजनीतिक, सामाजिक वा प्रशासनिक विवादहरूमा देखिन्छ।

संक्षेपमा भन्नुपर्दा, ‘डिफ्याक्टो’ भन्नाले कुनै कुरा कानुनी मान्यताको आधारमा नभई व्यवहारमा अस्तित्वमा रहेको स्थिति बुझिन्छ। यसको प्रयोगले हामीलाई व्यवहारिक यथार्थ बुझ्न मद्दत गर्छ, जुन कागजी कानुनभन्दा फरक हुन सक्छ।

डिफ्याक्टोका विषयमा यत्ति ब्याख्या गरेपछि अब माथि उल्लेख गरेका पात्र कसरी यसभित्र चित्रण हुन सक्छन् भन्ने केही उदाहरण पेश गरौं।

सत्ता समीकरण बन्ने अवस्था आएपछि ओलीले भण्डारीलाई दुई पटक राष्ट्रपति बनाए, अन्य पात्र भए पनि उनको महत्वमा भण्डारी नै परिन्। यति मात्र होइन ओली सरकारमा भण्डारीको मन्त्री पनि भागवन्डामा परेको थियो।

यसबाहेक राष्ट्रपतिको कार्यकाल सकिएपछि राजनीतिक सक्रियता र पाइरहेको मान्यतासहित पार्टीसहित सरकारले दिएको महत्वलाई हेर्दा बुझ्न सकिन्छ कि भण्डारी कति शक्तिशाली छिन्। उनी एमालेको साधारण सदस्य हुन् तर नीति निर्माणदेखि सत्ता, पार्टी राजनीतिमा उनको प्रभाव ओलीसरह रहेको छ।

सरकारमा परराष्ट्रमन्त्री रहेकी राणाका विषयमा त भन्नै पर्दैन। उनको विषय सदनमा विपक्षी दलका सांसददेखि यो देशका ब्यापारी, व्यावसायी र कांग्रेसका सदस्यले नै ब्याख्या गर्छन्। सभापति देउवा भए पनि कांग्रेस पार्टी, त्यसको समीकरण रहेको सत्ता र विभिन्न प्रशासनयन्त्रमा राणाको प्रभाव ब्यापक छ।

वैधानिक हिसाबले देउवा सभापति र समीकरणका साझेदार नेता भए पनि राणाको बोली नै सबैथोक रहेको बताउने कम छैनन्। त्यसैले कतिपयले आगामी महाधिवेशनमा देउवाको उत्तराधिकारी नै राणा रहेको भनी पनि चर्चा गरिरहेका छन्।

यता अहिले प्रतिपक्षी कित्तामा रहेका प्रचण्डका दैनिक गतिविधिदेखि लिएर सचिवालयमा सदस्य मात्र रहे पनि त्यसको नेतृत्व गंगा दाहालले गरिरहेकी छन्। 

रुपमा अन्य नेता विभिन्न जिम्मेवारीमा भए पनि दाहालको अनुमतिबिना प्रचण्डको दैलोसम्म माओवादीका नेता नै पुग्न कठिन छ। हालसालै मात्र प्रतिपक्षी दलको मोर्चाको बैठकमा अन्य दलका सांसद र नेता बस्दा मात्रै पनि दाहालको अनिवार्य उपस्थिति रहनुको अर्थ हो, उनी प्रचण्डकी डिफ्याक्टो हुन्।

‘यो त देखिएको सत्य हो नि। उल्लेख गरिएका महिला पात्रको इच्छाबिना न पार्टी न त सरकारले नै कुनै निर्णय लिन सक्ला। लिने खण्डमा पनि उनीहरुको इच्छाअनुसारको नीतिगत निर्णय नै हुन्छ’, विश्लेषकहरू भन्छन्,‘त्यसैले राजनीतिको उपल्लो स्थानमा उनीहरु स्वतः आएको खण्डमा अचम्म मान्नुपर्ने स्थिति छैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति