नेभिगेशन
सुरक्षा–अपराध

हाइप्रोफाइलले गरेको मोडल जेसिकाको हत्याः अपराधको दुनियाँमा मुटु हल्लाउने प्रकरण

एउटा हाइप्रोफाइल क्लबमा सयभन्दा बढी मानिसको उपस्थितिमा जेसिकालाई गोली दागियो

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको हत्याको विषय हरेक गृहमन्त्री र प्रत्येक प्रहरी प्रमुखका लागि पेचिलो घटना बन्छ। यो प्रकरण अहिलेसम्म सुल्झिएको छैन।

नेपालमा भएको यस्तो घटना एउटा उदाहरण हो, अनेक प्रकारका आशंका पनि चलाइए। 

तर कतिपय हत्या भयानक हुन्छन् भन्ने उदाहरण त भारतमा जोडिएका हाइप्रोफाइल मानिसको संदीग्धतामा रहेका छन्।

बलिउडमा फिल्म समेत बनेको ‘नो वन किल्ड जेसिका’ यो एउटा सत्य अपराध प्रकरणमा न्यायका लागि मिडियाले चलाएको अभियान थियो। 

यो प्रकरण के थियो त?
यो प्रकरण नयाँ दिल्लीकी परिचित मोडल जेसिका लालको हो। उनै जेसिका जसको हत्या कुनै हाइप्रोफाइल व्यक्तिको छोरालाई एक पेग रक्सी नहाल्दिँदा वा हाल्न नमान्दा भएको थियो।

तिनै जेसिका जसको हत्याकाण्डमा सन् २०११ मा सुपरहिट फिल्म ‘नो वन किल्ड जेसिका’ पनि बन्यो।

एउटा हाइप्रोफाइल क्लबमा सयभन्दा बढी मानिसको उपस्थितिमा जेसिकालाई गोली दागियो। मानिसले गोली चलेको आवाज सुने, हत्यारा भागेको देखे तर जब मुद्दा अदालतमा पुग्यो ३३ जना प्रत्यक्षदर्शी बयान दिनेहरु पछाडि सरे।

उनीहरुले जेसिकाको हत्या भएको त बताए तर कसले गरेको भन्ने थाहा नभएको बयान दिए। अनि अखबारमा समाचार छापियो ‘नो वन किल्ड जेसिका।’

यो मुद्दा लामो समयसम्म चल्यो। अदालतले सबैलाई छाडिदियो। तर जेसिकाकी बहिनी सबरिना र जनताले हार मानेनन्। यो विषयमा १० बर्षपछि जेसिकालाई न्याय मिल्यो। 

भनिन्थ्यो, आज जेसिका जीवित रहेकी भए बलिउडकी फिल्म क्षेत्रमा हुने थिइन्। तर, त्यसो हुन सकेन।

जेसिकाको बिगत, घटनाक्रम र न्यायसम्मको यस्तो छ कहानी

जन्म र पृष्ठभूमिः
५ जनवरी १९६५ मा जेसिका लालको जन्म भारतको नयाँ दिल्लीमा भएको थियो। घरमा उनलाई सबैले ‘शोना’ भनेर माया गर्थे। उनी परिवारकी जेठी छोरी थिइन् र उनकी कान्छी बहिनी सबरीना थिइन्। 

सानैदेखि हिरोइन बन्ने सपना देख्ने जेसिकाले किशोरावस्थादेखि नै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी थिइन्। दिल्लीमा उनले राम्रो नाम कमाइन्, तर जब पैसाको खाँचो पथ्र्यो, उनले साना कामहरू गरेर आफ्नो खर्च चलाउँथिन्।

मोडलिङकै क्रममा जेसिकाको भेट मालिनी रमानीसँग भयो। मालिनी पनि मोडल थिइन् र उनकी आमा बीना रमानीको दिल्लीको महरौलीस्थित कुतुब कोलोनेट हवेलीमा ‘टैमरिन्ड कोर्ट’ नामक रेस्टुराँ थियो। बीना रमानी उच्च वर्गीय समाजकी प्रतिष्ठित महिला थिइन्, जो शोम्यान राज कपूरकी राखीबहिनीसमेत थिइन्।

घटनाको सुरुवातः
मई १९९९ मा मालिनीका बुवा जर्ज मेलहट क्यानडामा बसाइँ सर्न लागेका थिए। त्यसैको उपलक्ष्यमा २९ अप्रिल १९९९ मा बीना रमानीले हाईप्रोफाइल विदाई पार्टी आयोजना गरिन्। 

मालिनीले बारटेन्डरको कामका लागि जेसिकालाई प्रस्ताव गरिन् र जेसिकाले अतिरिक्त आम्दानीका लागि खुशीसाथ सहमति जनाइन्।
पार्टीका दिन, जेसिका बिहान सबरीनासँग घरबाट निस्किन् र उनलाई ‘साँझमा पार्टीमा आउनू’ भनेर भनिन्। जेसिकासँगै उनका साथी र मोडल शयान मुंशी पनि बारटेन्डरको रूपमा सहभागी थिए।

घटना विवरणः
टैमरिन्ड कोर्ट रेस्टुराँमा त्यो रात कुनै पनि प्रकारको रक्सी बिक्री गर्न कानुनी इजाजत थिएन, तर पार्टीमा अवैध रूपमा रक्सी परोसीएको थियो। 

पार्टी अन्त्यतिर रातको करिब २ बजे मनु शर्मा (वास्तविक नाम सिद्धार्थ शर्मा) आफ्नो साथीहरू विकास यादव, अमरदीप गिल र आलोक खन्नासँग पार्टीमा प्रवेश गर्छन्।

मनु शर्माले जेसिकासँग रक्सी मागे तर उनले अस्वीकृत गरिन्। रिसको झोकमा उनले एक हजार रुपैयाँ दिएर फेरि मागे। जेसिकाले फेरि पनि इन्कार गरिन्। 

मनु शर्माले अपमान महसुस गर्दै २२ क्यालिबरको पिस्तोल निकालेर पहिले हवाई फायर गरे। जेसिकाले डर नमानि तेस्रोपटक पनि इन्कार गर्दा उनले उनको टाउकोमा गोली हाने।

घटनास्थलमै जेसिका ढलेपछि शयान मुंशीले चिच्याउन थाले। बीना रमानी आइन् र गोली हान्नेबारे सोध्दा मनुले इन्कार गरे र भागे। जेसिकालाई अस्पताल लगियो तर अपोलो अस्पतालमा उनलाई मृत घोषणा गरियो।

अनुसन्धान र राजनीतिक दबाबः
मनु शर्मा फरार भए, उनका दुई साथीहरू र रेस्टुराँ मालिक बीना रमानी र उनका परिवार पक्राउ परे। बीना र उनको परिवारमाथि अवैध रक्सी राखेको र घटनापछि खून सफा गराएको आरोप लाग्यो।

३ अगस्ट १९९९ मा मुद्दा दर्ता गरियो। एक सय जनाभन्दा बढीले अदालतमा बयान दिए, तर कोही पनि मनु शर्माविरुद्ध खुलेर बोलेनन्। 

मुख्य प्रत्यक्षदर्शी शयान मुंशी पनि अदालतमा बयानबाट पछि हटे। उनले हिन्दी नआउने भन्दै बयान अस्वीकार गरे। अदालतले प्रमाण नपुगेको भन्दै सबैलाई २१ फेब्रुअरी २००६ मा सफाइ दियो।

सञ्चारमाध्यम र जनआन्दोलनः
‘नो वन किल्ड जेसिका’ भन्ने हेडलाइनले सम्पूर्ण भारतमा जनआक्रोश फैलियो। मिडिया, विशेषतः एनडीटीभी र तहलका जस्ता संस्थाहरूले आन्दोलन चलाए। तहलकाले स्टिङ अपरेसनमार्फत प्रमाण प्रस्तुत गरे कि बयानकर्ता साक्षीहरूले पैसा लिएर बयान बदलेका थिए।

जनदबाबपछि १५ डिसेम्बर २००६ मा दिल्ली उच्च अदालतले मनु शर्मालाई दोषी ठहर गर्दै २० डिसेम्बरमा उनलाई जन्मकैदको सजाय सुनायो। सुप्रीम कोर्टले सन् २०१० मा यो फैसला सदर गरिदियो। 

घटनापछिको अवस्थाः
यस घटनाका मुख्य अपराधी मनु शर्माः २०२० मा जेलमा राम्रो आचरण देखाएको भन्दै रिहा गरियो। अहिले परिवारको व्यवसायमा संलग्न छन्। 

सबरीना लाल दिदी जेसिकाको लागि लगातार न्यायको लडाइँ लडेकी सबरीनाको सन् २०२१ मा कलेजोसम्बन्धी रोगका कारण मृत्यु भयो।

शयान मुंशी अहिले बलिउडमा अभिनेता छन्।

बीना रमानी रेस्टुराँ बन्द भएपछि उनी अहिले फेसन डिजाइनर, लेखक र सामाजिक अभियन्ताका रूपमा सक्रिय छन्।

मालिनी रमानी योग प्रशिक्षक तथा इन्टेरियर डिजाइनरका रूपमा काम गरिरहेकी छन्।

विकास यादव नीतीश कटारा हत्याकाण्डमा दोषी ठहर भई अझै जेलमै छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध