नेभिगेशन
सुरक्षा–अपराध

नाम गंगाहरि न्यौपाने, काम झूठा र किर्ते ठगी गरी खानेः सिन्धुलीमा प्रहरीले भेट्टायो

काठमाडौं– गृह मन्त्रालयको कर्मचारी रहेको भनी करारमा जागिर लगाउने भन्दै ठगी गर्ने सिन्धुली कमलामाई नगरपालिका–१३ का गंगाहरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।

न्यौपाने सातौं पटक यस्तै किर्ते र ठगी प्रकरणमा पक्राउ गरिएका व्यक्ति हुन्। 

उनको ०६९ सालदेखिकै प्रहरीमा आपराधिक रेकर्ड रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा पक्राउ गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

४६ बर्षिय न्यौपान काठमाडौं–३१ नयाँ वानेश्वरमा बस्दै आएका थिए। 

उनको १३ बर्षअघिदेखिको ठगी प्रकरणका रेकर्ड फेला परेका छन्। ०६९ साल भदौ २६ गते सैनिक अनुसन्धान तथा आचरणसम्बन्धी मुद्दामा कागज किर्ते गरी कारागारमा पेश गरी छुटेको भन्ने पहिलो रेकर्ड थियो।

यसबाहेक प्रहरीसँग न्यौपानेको ‘भीआईपी कोटामा नेपाली सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाउँछु भनेर चार लाख रुपैंया ठगी गरेको’ रेकर्ड रहेको छ। 

२०७४ साल वैशाख ८ गते उनले यो ठगीको काम गरेका थिए। 

सोही बर्षको चैत ८ गते नख्खु कारागारबाट कैदी चुटाइदिन्छु भनी आफन्तबाट १२ लाख रुपैंया ठगेको अभियोगमा पनि पक्राउ गरिएका थिए।

२०७५ साल जेठ २२ गते उनले जग्गा विक्रि गराएदिन्छु भनी लालपुर्जा लिएर आफैंले जग्गा बेचेर ठगी गरेको अर्को रेकर्ड समेत रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसैगरी सोही बर्षको भदौ ९ गते नेपाली सेनाको सहायक सेनानी बनाइदिने भन्दै ठगी गरेको अभियोगको रेकर्ड पनि प्रहरीमा रहेको छ। 
यसैगरी, २०७९ साल पुस ७ गते जिल्ला अदालतको कागज नै किर्ते गरेको अभियोग पनि उनीमाथि रहेको प्रहरी रेकर्डमा छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध