नेभिगेशन
राजनीति

विद्या भण्डारीको दाबी- म पार्टी सदस्य भएको ४५ वर्ष भयो

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो ।

त्यसपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन,’ भण्डारीले भनेकी छिन् ।

साथै, उनले आफूलाई रोक्ने गरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताएकी छिन् ।

‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यले अस्थायी रूपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन,’ उनले भनिन्, ‘छलफल गरिकन विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जबजको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन ।’

उनले यी सबै कुराहरू भावनामा बगेर नबोलेको पनि पत्रकार सम्मेलनको क्रममा बताइन् ।

‘यो पार्टी बनाउन म लगायत हजारौँ योद्धा र सदस्यले रगत पसिना लगाएको छ । यो कुरा म कुनै भावनामा बगेर गरिरहेको छैन,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति