नेभिगेशन
राजनीति

ओलीले सुरु गरे तानाशाही शैलीः विद्याको पक्षमा खुलेका युवा संघ प्रदेश अध्यक्षलाई कारबाही

दाङ । राष्ट्रिय युवा संघले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका लुम्बिनी अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनु पर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।

खरेलले भने आफूमाथि पूर्वाग्रही तरिकाले स्पष्टिकरण सोधिएको भन्दै भौतिकरूपमा उपस्थित नभई लिखित स्पष्टिकरण दिएका थिए । उनले स्पष्टीकरणको जवाफमा आफूले कसैलाई अभद्र व्यवहार नगरेको दावी परेका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै महासचिव चौलागाईले उनलाई एक वर्षका लागि निलम्बन गरेको पत्र पठाएका छन्।

उनले संगठनको बिधानको धारा ४१ तथा धारा ४२ (क) र (ख) को हवाला दिंदै संगठनका सबै जिम्मेवारीबाट पदमुक्तका साथै एक वर्षका लागि निलम्बन गरिएको उल्लेख गरेका छन् । निलम्बन पत्रमा साउन ९ गते पदाधिकारी बैठकले निलम्बन गरेको उल्लेख छ । तर, एक पदाधिकारीका अनुसार युवा संघको पदाधिकारी बैठक साउन ९ मा बसेकै छैन् ।

‘म क्षितिज थेवेकै प्यानलबाट जितेको मान्छे हुँ ।’ एक पदाधिकारीले भने, ‘बैठक बसेकोबारे मलाई जानकारी भएन । म काठमाडौंमै छु । बैठक बसेको भए मलाई जानकारी हुने थियो । बैठक बसेको छैन् ।’ लुम्बिनी प्रदेश अध्यक्षलाई निलम्बन गरिनु गलत भएको उनको भनाइ छ ।

निलम्बनमा परेका खरेलले भने महाचिव चौलागाईले गरेको निलम्बन अस्विकार गर्ने जनाएका छन् । संगठनमा फरक मत राखेकै कारण हुँदै नभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने बताए । संगठनका गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ छ । ‘मलाई गलत आरोप लगाएर निलम्बन गरिएको पत्र पठाइएको छ’, उनले भने, ‘निलम्बन स्विकार्य हुँदैन । मैले संगठनका गतिविधि निरन्तर गर्छु ।’

0

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति