नेभिगेशन
विचार
टिप्पणी

सञ्चारकर्मबाट राजनीतिमा उदाएका दुई ‘रवि’: एउटालाई जेल, अर्कालाई नेल

काठमाडौं– अहिले सोची ल्याउँदा हामीले पढेका अमेरिकी १६औं राष्ट्रपति अब्राहम लिङ्कनका भनाई पनि उत्तानो परेको प्रतीत हुन्छ। उनी भन्थे,‘गोलीभन्दा मतपत्र बलियो हुन्छ।’

नेपालको राजनीतिक अवस्थामा यो गलत साबित भएको भनाई हो। किनभने यहाँ गोलीले ८३ सीट लिएर माओवादी बिना मतपत्र सदनमा छिरेको थियो।

त्यहि गोली बिसाएपछि ३२ सीटमा खुम्चिएको छ। गोली नबिसाउँदा उसले पहिलो संविधानसभा निर्वाचनमा १२० प्रत्यक्षसहित समानुपातिकमा सर्वेसर्वा पाएको थियो। गोली बिसाएपछि उत्तानो हुनेगरी लड्यो। अनि, सत्ताको वरिपरि कहिले यता र कहिले उता टाँसिन बाध्य भयो। 

यो उदाहरण दिनुको अर्थ हो, गोलीका अगाडि मतपत्र फिक्का हुन्छ। अहिले नेपालमा गोलीधारी विद्रोही छैनन्। त्यसैले गोली राज्यसँग छ। त्यहि गोलीको बलमा सञ्चारकर्मबाट उदाएका दुई राजनीतिज्ञ अहिले एउटा जेलमा र अर्को नेल लगाएर अदालतमा हाजिरी गरिरहेका छन्।

सञ्चारकर्मको पृष्ठभूमीबाट राजनीतिमा हाम फाले दुई रवि। एउटा रवि लामिछाने अर्का रविन्द्र मिश्र।

राज्यले यी दुवैजनालाई जेल र नेलको सकस दिएको छ। घटना प्रकृति फरक छन्। तर, सञ्चारकर्ममा आर्जेका ज्ञान र राजनीतिको फोहोर सफा गर्न त्यसमै डुबुल्की मार्न हिँडेका दुई रवि मकवानपुरमा भासिएको मालबाहक जीप जस्तो डुबाउन खोजिएको छ।

रास्वपा सभापति समेत रहेका लामिछानेलाई सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा छ। एक ठाउँ हैन, ५ ठाउँका मुद्दा छन्। एकबाट पार लागे अर्कामा फँस्ने आधार पर्याप्त छन्।

२०७९ असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना गरे। सोही वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट उम्मेदवारी दिँदै ४९,३०० मत प्राप्त गरी विजयी भए। उनको पार्टीले २० सांसदसहित संसदमा प्रवेश गरेको थियो, जसले रास्वपालाई चौथो ठूलो दल बनायो। 

रास्वपाले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा समर्थन जनाउँदै रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनायो। तर, नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदियो। उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै अदालतले यस्तो निर्णय गरेको थियो। 

नागरिकता विवादपछि चितवन–२ मा पुनः निर्वाचन भयो, जसमा रवि लामिछानेले ५४,२७६ मत प्राप्त गर्दै पुनः विजयी भए। यसले जनतामा उनको लोकप्रियता यथावत् रहेको प्रमाणित गरेको थियो। उनी फेरि उनै प्रचण्डको सरकारमा सहभागी भए। तर, उनलाई अर्को अबगाल थपियो, सहकारी ठगी प्रकरणको। 

अहिले सोही प्रकरणमा पूर्पक्षका लागि थुनामा भैरहवा जेलमा लामखुट्टेका खुट्टा गनेर बसिरहेका होलान्, बरा। 

धर्मयुद्ध यानकी न्यायको युद्ध। यसकारण यसमा ब्यालेटको माध्यम त छ तर यसैगरी पेलानको अवस्था रहन्छ भने विकल्पको बाटो पनि रोज्न आवश्यक हुन सक्छ

अर्का रवि हुन्, मिश्र। जसले बीबीसी नेपाली सेवा जस्तो सञ्चारकर्ममा ब्यापकता पाए। लोकप्रियता कमाए। पुस्तक लेखे। अनि, नेपालको राजनीतिमा हाम फाले। भन्थे फोहोर सफा गर्न फोहोरमा हाम फाल्नु परेको। 

उनी कसरी आए?  

रवीन्द्र मिश्रले लामो समय बीबीसी नेपाली सेवामा पत्रकारिता गरेपछि, २०७३ सालको फागुनमा सो पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरे। उनले पारदर्शिता, सुशासन र योग्यता आधारित प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले साझा पार्टीको स्थापना गरे।

साझा पार्टीको स्थापना पछि, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मिश्रले काठमाडौं–१ बाट उम्मेदवारी दिए। गठन भएको पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्दा पनि उनले नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहसँग मात्र ८१८ मतले पराजित भए, जुन नयाँ पार्टीका लागि उल्लेखनीय उपलब्धि थियो ।

साझा पार्टी र उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली पार्टीबीच एकीकरण भई विवेकशील साझा पार्टी बनेको थियो। तर, मिश्रले पार्टीभित्र राजतन्त्रको वकालत गर्न थालेपछि आन्तरिक विवाद उत्पन्न भयो। यसले पार्टीमा विभाजन ल्यायो र अन्ततः मिश्रले पार्टी परित्याग गरे।

मिश्र राजावादी कित्तामा उभिए र राप्रपामा बिलिन भए। उनी बरिष्ठ उपाध्यक्ष् छन्। तर, राजावादी आन्दोलनमा सहभागी भएको भनी प्रहरीले पक्राउ गरेका उनलाई हत्कडी (नेल) लगाएर अहिले अदालतमा म्याथ थप्ने हाजिरी गराइन्छ।

अति भएपछि उनले आइतबार अदालतमा भनेछन्,‘यहाँले बुझ्नु भए पनि हुन्छ, म हिरासतमा रहँदा पनि मैले कानूनको दृढ पालना गरेको छु र कानूनी प्रक्रियालाई सदैव सहयोग नै गर्नेछु। तर आज मलाई अन्याय भएको महसुस भइरहेको छ।’

उनले चैत १५ को घटनामा आफूलाई जस्तै मुद्दा लागेको भगवती रोक्कालाई छोडिएको तर सबै कानूनी प्रक्रिया पूरा हुँदा आफूलाई पटक पटक म्याद थपिनुको आशय बुझ्न नसकेको बताए। उनले सरकारी वकिललाई सबै घटनालाई एउटै बास्केटमा हालेर नहेर्न पनि अनुरोध गरे।

यसअघि १० गते भएको आदेश प्रहरी र अदालतबाटै पालना नभएको गुनासो पनि मिश्रले गरेका थिए। ‘वैशाख १० गतेको आदेश बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी छोड्नु भन्ने आदेश पालना भएन, झनै गोलमटोल भयो’, उनले भनेका थिए।

१० गतेको आदेशमा न्यायाधीशले मिश्रको हकमा प्रहरीले के के प्रमाण जुटाउन बाँकी छ भनेर पेश गर्ने आदेश दिएका थिए। यदि त्यस्तो विवरण पेश गर्न नसकेको खण्डमा मिश्रलाई छोड्न सकिने संकेत आदेशमा गरिएको थियो। तर, प्रहरीले केही पनि पेश नगरीकन १४ गते एक हप्ता म्याद थपेको मिश्रका वकिलको आरोप छ।

खैर, जेल र नेलका यी हत्कण्डा लामो समय पनि जान सक्ला। किनभने यहाँ उदाउन सजिलो भए पनि अस्ताउने मार्ग राज्य हाँक्नेले गरेकै छन्। 

यी दुई रविमा भएको समनता थियो– वैकल्पिक राजनीति। राजनीतिमा खराब पक्षको आलोचना हुन्छन्। त्यो गर्न छुट छ। तर, यहाँ राज्यले यतिबिध्न पनि गरेको राम्रो होइन कि भन्ने पनि छन्। यी भन्नेहरुसँग सहमति जनाउन सकिन्छ। 

नेपाली राजनीतिमा सय कौरब छैनन्। ती कौरबले नै पूरा राजनीतिक महाभारत चलाइरहेका छन्। एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड। यी तीन कौरबले एकअर्काको जति बिरोध गरे पनि नयाँ अनुहारलाई राजनीतिमा प्रवेश र आफ्ना विकल्पमा प्रतिस्थापन गर्लान् कि भन्ने त्रासमा छन्। त्यसैले कसैले जेल र कसैले नेल भोग्नुपर्ने स्थिति छ।

तर, महाभारतको कुरुक्षेत्रको युद्धमा श्रीकृष्णले अर्जुनलाई आफ्नो क्षत्रीय धर्म अनुसार युद्ध गर्नु नै उचित हो भन्ने सम्झाए। 

त्यसैले यो राजनीतिक कुरुक्षेत्र, सीमाहिन आपराधिक प्रवृत्तिको क्षेत्रमा दुई रविले पनि के बुझ्न पर्छ भने यो नेपाली जनताका निम्ति हुने धर्मयुद्ध हो।

धर्मयुद्ध यानकी न्यायको युद्ध। यसकारण यसमा ब्यालेटको माध्यम त छ तर यसैगरी पेलानको अवस्था रहन्छ भने विकल्पको बाटो पनि रोज्न आवश्यक हुन सक्छ। योगी आदित्यनाथले भनेका छन् धर्मको रक्षाका निम्ति योगीसँग शास्त्र र शस्त्र दुवै हुन्छ। यसकारण नेपालको न्यायको, राजनीतिक धर्मको रक्षार्थ शास्त्र या शस्त्र दुबैको आवश्यक पर्न नसक्ला भन्न सकिन्न। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार