नेभिगेशन
सुरक्षा–अपराध

रिक्त एउटा एआईजीमा फड्को मारी आईजी बन्ने ध्याउन्नमा छन् सशस्त्र प्रहरीका यी डीआईजीहरू

काठमाडौं– वैशाख २ गतेदेखि खाली भएको अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा हुँदै तीन बर्षपछि महानिरिक्षक (आईजी) बन्ने ध्याउन्नमा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक (डीआईजी)हरू लागि परेका छन्।

मन्त्रिपरिषदको निर्णय गराई एक बर्ष कार्यावधि थप्नका लागि राजी गराएका डीआईजीहरू नै यस खेलमा सक्रिय रहेको उच्च स्रोतहरूले दाबी गरेका छन्। 

एक साताअघि सशस्त्र एआईजी चन्द्रप्रकाश (सीपी) गौतम उमेरका कारण सेवानिवृत्त भएका थिए। प्रतिस्पर्धी डीआईजीहरूको दौडधुपले एआईजी बढुवा सिफारिसमा ढिलाइ भएको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ। 

सशस्त्र प्रहरीमा पनि बढुवामा ढिलाइ भइरहेको छ। बढुवाको प्रतिस्पर्धामा मुख्य गरी चारजना डीआईजीहरू लागेका छन्। डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी मुख्य प्रतिस्पर्धी हुन्। तर यीमध्ये पनि कमल गिरी र गणेश ठाडा मगरको धौडधुप चर्को छ।

सरकारले गएको पुस २२ गते उनीहरू चारैजनाको पदावधि एक वर्ष थप गरेको थियो। पुस २३ गते डीआईजीको चार वर्षे पदावधि सकिएर अवकाश हुन लागे पनि सशस्त्र प्रहरी नियमावलीको नियम ६५ अनुसार एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था छ। 

एआईजीका लागि दौडधुप चर्किनुको मुख्य कारण भनेको भावी नेतृत्व समेत जोडिएको हो। अहिले एआईजी नबने ८ महिनामै डीआईजीबाट अवकाश अनिवार्य छ। एआईजीमा बढुवा भएमा ३ वर्षपछि आईजीपी बन्ने बलियो सम्भावना छ। 

हालका आईजी राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश हुनेछन्। अर्यालको अवकाशपछि उनकै ब्याचका एआईजी नारायणदत्त पौडेल र वंशी दाहालमध्ये एकजना आईजीपी बन्नेछन्। 

अब अर्को एआईजीको दरबन्दी २०८३ वैशाखमा मात्रै खाली हुनेछ। एक वर्ष नै जुनियर हुने भएकाले एक वर्ष सिनियरलाई छाडेर उनलाई आईजीपी बनाउने सम्भावना कम छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!