नेभिगेशन
सुरक्षा–अपराध

भारतमा १५ तोला सुनका गहना र ७ लाख लुटेर आएका ६ जना कोहलपुरमा पक्राउ

काठमाडौँ । भारतबाट लुटपाट गरी आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कालिकोटको रासकोट नगरपालिका-१ बस्ने ४२ वर्षीय मनबहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका-८ बस्ने १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेम बहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र नरहरिनाथ गाउँपालिका-९ बस्ने २८ वर्षीया सरिता शाही पक्राउ परेका हुन् ।

उनीहरूलाई कोहलपुर नगरपालिका-११ स्थित होटेल न्यू कालिकोटेमा कोठा भाडा लिई बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारतबाट सुनका गहना र नगद चोरी गरी कोहलपुरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

होटेलको कोठा नम्बर ८ मा बसेका उनीहरूबाट १५ तोला सुनका गरगहना, नेपाली रू. ७ लाख ८७ हजार रकमसमेत बरामद गरिएको छ । उनीहरू रोजगारीको बाहनामा भारत जाने र त्यहाँ चोरी धन्दा गर्दै नेपाल आउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध