नेभिगेशन
सुरक्षा–अपराध

कपनमा निरा र कञ्चनपुरमा नारुको त्यो हत्याकाण्ड जसको उद्देश्य यस्तो थियो

काठमाडौं– काठमाडौंको कपन र कञ्चनपुरको सामुदायिक बनको भवनमा शव भेटिएका दुई हत्याकाण्डका उद्देश्य लुटपाटका थिए।

यी दुई प्रकरण महँगा गरगहना लगाउँदा अकालमा ज्यान गुमाउनुपर्छ भन्ने उदाहरण हुन्।

प्रहरीले अनुसन्धान गरी हत्यामा संलग्नलाई त कारबाही प्रक्रियामा लगेकै थिए तर दुई जनाको ज्यान भने यसै गएको थियो।

सिक्री लुट्दा प्रतिकार गरेपछि कपनमा निरा पाण्डेको हत्या भएको थियो।

विनोद विश्वकर्माले हत्या गरेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फरार विश्वकर्मालाई पक्राउ गरी झापाबाट काठमाडौं ल्याएको थियो।

तत्कालिन सीआईबी प्रमुख किरण बज्राचार्यको नेतृत्वमा समिति बनेको थियो। इन्ड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले ८ मिनेटको बीचमा हत्या गरेको खुलेको थियो।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थलमा पुगेका बिनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए। तर उनले हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन।

‘यो घटना अनुसन्धानमा निक्कै मिहेनत गर्नुपरेको थियो’, त्यसबेला अनुसन्धानमा खटिएका अधिकारी भन्छन्,‘सामान किन्ने बाहना बनाएर सिक्रि लुट्न खोजिएको थियो।’ 

पछि सिक्री लुट्न खोज्दा निरुले प्रतिकार गरेको र अनि चक्कु प्रहार गरेको खुलेको छ। निरुको शरीरका करिव २० ठाउँमा चक्कु हानिएको थियो। 

निरुको हत्यापछि विनोदले निरुको सिक्री लुटेका थिए। लुटेको सिक्री काठमाडौंमै बेचेर उनी झापा पुगेको खुलेको छ। प्रहरीले लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको हो। 

विश्वकर्माले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै सिक्री बिक्री गरेको पसलबारे पनि बताइसकेका छन्। 

उनी काठमाडौंकै एक नाइट क्लबका बाउन्सर थिए।

यस्तै कञ्चनपुरमा अर्को घटना पनि भएको थियो। सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिलाको हत्या भएको छ।

मृत भेटिएकी जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको खुलेको थियो। जोशीको हत्यामा संलग्नसहित अन्य पाँच जना मतियारलाई प्रहरीले पक्राउ गरेको थियो।

महिलाको हत्या गरेर उनले कान र नाकमा लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा सोही ठाउँ बस्ने महेश डगौरासहितका ६ जनालाई पक्राउ गरिएको थियो।

पक्राउ पर्नेमा डगौरालाई लुटिएका गहना बिक्रि गर्न सहयोग गर्ने  डगौराका साथी धनगढी उपमहानगरपालिका–१३ बस्ने लक्ष्मण चौधरी, निरज भट्ट तथा बिल नभएरसुन खरिद गर्ने दिया सुनचाँदी पसलका खगेन्द्र बहादुर सोव, बर्दादेवी ज्वैलर्सका ईन्द्र बराल सुनार र सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती रहेका थिए।

मृतक जोशीलाई घटनाका मुख्य अभियुक्त डगौराले घाँस काट्न एक्लै जंगलतिर गइरहेको देखेपछि लुट्ने उद्देश्यले आफू पनि महिलाकै पछि पछि गएको देखिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ थियो। 

डगौराले जंगलभित्र पुगेर मृतक महिलासँग घाँस काटिदिन्छु भन्दै हँसिया मागेका थिए। हँसियालाई केही टाढा फाल्दै मृतकको घाँटी थिचेको र हल्ला गर्न थालेपछि नाकमुख च्यापि पुनः घाँटिमा हातले दबाएर मृतककै चुन्नी जस्तो कपडाले घाँटी कसी मारेको बयान प्रहरीलाई डगौराले दिएका थिए।

जोशीको हत्या गरिसकेपछि मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुलि निकालेर धनगढी गएका थिए। 

धनगढीमा बस्ने साथीहरुको सहयोगमा लुटपाट गरिएको सुन बिक्री गरेर नेपालगञ्ज, मुम्बई हुँदै बैंलोरसम्म गएर ३० कात्तिकमा फेरि धनगढी फर्किएका थिए।

धनगढी फर्किएपछि साथी लक्ष्मण चौधरीसँग छाडेर गएको लुटेको बुलाकी बिक्री गरेपछि उनकै कोठामा बसेको बयान दिएका थिए।

मृतकका छोरा मोहनराज जोशीले मुख्य अभियुक्त महेश डँगौरासहितका नाममा कर्तव्य ज्यान तथा लुटपाट शीर्षकमा जाहेरी दर्ता गरेपछि अदालतबाट म्याद थपेर अनुसन्धान गरिएको थियो।

यी प्रतिनिधि घटना हुन्। कुनैबेला काठमाडौंमा गहना लुट्ने बाहनामा चेन स्न्याचिङका घटना शिलशिलेबार हुने गरेका थिए। त्यस्ता घटनालाई न्यूनिकरण गर्न प्रहरीले अभियान नै चलाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध