ओ, स्वर्णिमजीहरू यत्ति साह्रो कृतघ्न नबन्नुस्
हिन्दू ग्रन्थ गीतामा भनिएको छ,‘कर्म ज्ञानको जानकारी नहुने मानिस कुनै महामानव होइन, त्यो जत्तिको अज्ञानी कोही पनि हुँदैन।’
टिप्पणीकारले आलेखमा राखेको शिर्षक एउटा विद्वान भनिएका डा. स्वर्णिम वाग्लेसहितका नेताहरूलाई लिखित रुपमा केही प्रश्न गर्नका लागि हो।
वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पनि हुन्।
उनका नाममा बिम्बात्मक रुपले सबैलाई सम्बोधन गरिएको बुझ्नका लागि टिप्पणीकार अनुरोध गर्दछ।
राजनीतिमा नेपथ्यमा रहेर नेपाली कांग्रेसलाई सहयोग गरे, त्यहि पार्टीबाट राष्ट्रको योजना आयोगको सदस्य र उपाध्यक्ष पनि बने। उनी अहिले दलीय कोटाको बिरोध गरिरहेका छन् तर कांग्रेसको कोटामा नै उनले ति पदहरू लिएका थिए।
उनी योग्य थिए होला तर न्यूनतम योग्यताचाहिँ त्यहाँ पुग्नका लागि उनले आफूलाई कांग्रेस भनेरै साबित गरेका थिए। कांग्रेसको निर्वाचन घोषणापत्र तयार पार्ने टीममा महामन्त्री गगन थापासँग पनि काम गरेका छन्।
अहिले उनी कांग्रेसलाई सबैभन्दा बढी गाली गर्ने रास्वपाका तेस्रो बरियताका मनोनित उपसभापति हुन्। डोलप्रसाद अर्यालपछि उनको बरियता कायम गरिएको छ।
शीषर्कले न्याय पाउनेछ। त्यसबारेमा निचोड उल्लिखित छ। तर, अहिले रास्वपभा सभापति रवि लामिछानेका पक्षमा स्वर्णिमजीले बोल्नु स्वभाविक होला। तर, कांग्रेसका नेतालाई गाली गरेर रास्वपाका नेतालाई गुलामी गर्नु पनि नैतिक प्रश्नको धरातल बन्छ नै।
त्यसअघि राजनीतिक नेता कस्तो हुनुपर्छ र स्वर्णिमजीहरुले मानेका नेतामा ति गुण छन् कि छैनन्? १० बुँदामा ब्याख्या र प्रश्न राख्दै टिप्पणीकार शीर्षकलाई न्याय दिने गतिमा उत्रिनेछ।
राजनीतिक नेता कस्तो हुनुपर्छ? यो अहम् प्रश्न हो।
राजनीतिक नेताहरू कुनै पनि राष्ट्रको प्रगति, स्थायित्व, र समृद्धिको मेरुदण्ड हुन्। उनीहरूको दृष्टिकोण, व्यवहार, निर्णय क्षमता, र नैतिक मूल्यहरूले समाजलाई दिशा दिन्छ।
एक प्रभावशाली र सफल राजनीतिक नेता बन्नका लागि विभिन्न गुणहरूको आवश्यकता पर्छ, जुन केवल व्यक्तिगत फाइदामा सीमित नभई राष्ट्र र जनताको कल्याणमा केन्द्रित हुनुपर्छ।
अब बुँदागत रुपमा स्वर्णिमजीहरुलाई प्रष्टोक्ति र प्रश्न गरिन्छ। नेता कस्तो हुनुपर्छ।
१. इमान्दार र नैतिकता सम्पन्न
राजनीतिक नेताको सबैभन्दा महत्वपूर्ण गुण भनेको इमान्दारिता र नैतिकता हो। इमान्दार नेता कहिल्यै पनि भ्रष्टाचारमा संलग्न हुँदैनन् र जनताको विश्वास जित्न सक्षम हुन्छन्।
उनीहरूले सार्वजनिक सम्पत्ति र स्रोतहरूको सही सदुपयोग गर्छन् र आफ्नो व्यक्तिगत स्वार्थभन्दा देश र जनताको हितलाई प्राथमिकता दिन्छन्। नैतिक मूल्यहरूसँग सम्झौता नगर्ने नेताले मात्र दीर्घकालीन विश्वास र सम्मान पाउँछन्।
नेपाल लगायत विश्वभरकै विभिन्न उदाहरणहरूले देखाएको छ कि इमान्दार नेताहरूले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्षम हुन्छन्। यस्ता नेताहरूले पारदर्शिता र जवाफदेहिता कायम गरी जनताको विश्वास जित्छन्।
स्वर्णिमजीहरूलाई प्रश्न– तपाईंका नेताले परिवर्तन ल्याउन कस्तो भूमिका खेल्नुभयो? अनि, सहकारी प्रकरणलाई पारदर्शी किन बनाउनुभएन? कहिल्यै प्रश्न गर्नुभयो? बरु, ढाकछोपमा पुरै पार्टी पंक्ति एक भएर नारा जुलुसमा निस्किनुभएको होइन?
२. दूरदर्शी र निर्णय क्षमतायुक्त
एक सक्षम नेता दूरदर्शी हुनुपर्छ। उनले केवल वर्तमान समस्याहरूको समाधानमा मात्र होइन, भविष्यका सम्भावित चुनौतीहरूको सामना गर्न रणनीति बनाउनुपर्छ।
देशको दीर्घकालीन विकासका लागि योजना बनाउने र त्यसलाई कार्यान्वयनमा ल्याउने क्षमता दूरदर्शी नेतृत्वको प्रमाण हो।
दूरदर्शिता मात्र पर्याप्त हुँदैन, नेतासँग सही समयमा ठोस निर्णय गर्न सक्ने क्षमता पनि हुनुपर्छ। कहिलेकाहीँ कठिन परिस्थितिमा छिटो र निर्णायक कदम चाल्नुपर्ने हुन्छ, जसले समाजमा ठूलो प्रभाव पार्न सक्छ।
स्वर्णिमजीहरुलाई प्रश्न– जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिँदा हतारिएर बालकोट पुगी सत्ताको स्वाद लिनु कति दूरदर्शिता थियो? एक पटक होइन, दुई–दुई पटक किन यस्तो निर्णय भयो?
३. जनताप्रति उत्तरदायी र सेवा भावी
राजनीतिक नेताको प्रमुख कर्तव्य भनेको जनताको सेवा गर्नु हो। उनीहरूले आफूलाई जनताको प्रतिनिधि र सेवक ठान्नुपर्छ, शासक होइन। जनताको समस्या बुझ्न, उनीहरूको आवाज सुन्न, र समस्याको समाधान खोज्न नेताहरू सधैं तत्पर हुनुपर्छ।
उत्तरदायित्वको भावना भएका नेताहरू जनतासँग प्रत्यक्ष संवाद गर्छन्, उनीहरूको समस्यामा सहभागी हुन्छन् र पारदर्शी शासन प्रणाली अपनाउँछन्। जनता र नेताबीचको विश्वासको सम्बन्ध नै सशक्त लोकतन्त्रको आधार हो।
स्वर्णिमजीहरूलाई प्रश्न– के तपाईका नेतामाथि आफ्नै निर्वाचन क्षेत्रमा रहेको सहकारी ठगीको मुद्दा लाग्दा जनतासँग विश्वासको कसी रह्यो?
४. सक्षम सञ्चारकर्मी र प्रेरणादायी व्यक्तित्व
नेताले आफ्ना विचार र दृष्टिकोण स्पष्ट र प्रभावकारी तरिकाले प्रस्तुत गर्न सक्नुपर्छ। राम्रो सञ्चार कौशल भएका नेताहरू जनतालाई आफ्नो योजनाबारे बुझाउन र समर्थन जुटाउन सफल हुन्छन्।
प्रेरणादायी नेताहरूले जनतालाई सकारात्मक सोच्न, कठिन परिस्थितिमा पनि अघि बढ्न, र परिवर्तनका लागि लाग्न उत्प्रेरित गर्छन्। उनीहरूको शब्द र कार्यले जनतालाई उत्साहित गर्छ र समाजमा आशा र विश्वास जगाउँछ।
स्वर्णिमजीहरुलाई अर्को प्रश्न– संचारकर्मी जगदीश खरेलको एउटा अन्तरवार्ता हेर्नुहोस्। के तपाईका नेता दोहोरो संवादका लागि तयार भए? एकाङ्की हिसाबले प्रस्तुत भएर मात्र जनतासँग कनेक्ट भइन्छ त?
५. सहिष्णु र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने
एक सच्चा नेता सहिष्णु हुनुपर्छ। फरक विचार, संस्कृति, र धर्मप्रति सम्मानजनक व्यवहार गर्नु नेताको कर्तव्य हो। लोकतन्त्रमा विविधता नै शक्ति हो र नेताले सबैलाई समेट्ने प्रयास गर्नुपर्छ।
लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने नेताले आलोचना सहन सक्नुपर्छ र जनताको स्वतन्त्रता, अधिकार, र मर्यादाको रक्षा गर्नुपर्छ। असहमतिप्रति पनि सम्मानजनक व्यवहार देखाउने नेताहरूले मात्र समावेशी समाज निर्माण गर्न सक्छन्।
स्वर्णिमजीहरुलाई प्रश्न– तपाईका नेता र पार्टीका सबै सांसददेखिका कार्यकर्ता आलोचना सहन सक्नुहुन्छ? सक्नुहुन्न, एउटा आलोचना बराबर सयवटा गाली दिने अभियान चलाउनुहुन्छ, किन?
६. संकट व्यवस्थापन र साहस
नेताले संकटको समयमा सशक्त भूमिका खेल्नुपर्छ। प्राकृतिक विपद्, आर्थिक संकट वा राजनीतिक अस्थिरता जस्ता चुनौतीहरू सामना गर्दा नेताले धैर्य, विवेक, र साहस देखाउन सक्नुपर्छ।
साहसी नेताले कठिन निर्णय लिन डराउँदैनन् र सही काम गर्न कुनै पनि दबाब वा डरले रोक्दैन। उनीहरूले सधैं सत्य र न्यायको पक्ष लिन्छन्, चाहे त्यो कति नै चुनौतीपूर्ण किन नहोस्।
स्वर्णिमजीहरुलाई प्रश्न– अहिले राजनीतिक अस्थिरताको अवस्था छ। यस्तो चुनौतीको अवस्थामा तपाई र तपाईका नेताले कहिल्यै धैर्यतापूर्वक प्रस्तुत हुन जानेका छन्?
७. शैक्षिक र व्यावसायिक दक्षता
राजनीतिक नेताको सफलताका लागि शिक्षा र व्यावसायिक दक्षता पनि महत्वपूर्ण छन्। राम्रो शिक्षा र अनुभव भएका नेताहरूले समस्या विश्लेषण गर्न, वैज्ञानिक दृष्टिकोण अपनाउन, र प्रभावकारी नीतिहरू बनाउने क्षमतामा दक्ष हुन्छन्।
नेताले कानूनी, आर्थिक, सामाजिक, र अन्तर्राष्ट्रिय मामिलाको राम्रो समझ राख्नुपर्छ ताकि उनीहरूले सही निर्णय लिन सकून् र देशलाई प्रगतिपथमा लैजान सकून्।
स्वर्णिमजीहरुलाई प्रश्न– तपाईंहरु ८ कक्षा फेल भएकाले शासन चलाए भनी आलोचना गर्नुहुन्छ। तपाईंका नेताको प्रमाणपत्र के हो? विज्ञता के हो? अन्तर्राष्ट्रिय मामिलाको ज्ञान कति छ?
८. भ्रष्टाचारविरोधी र पारदर्शिता कायम गर्ने
नेताले भ्रष्टाचारसँग शून्य सहिष्णुता देखाउनुपर्छ। देशको स्रोत र साधनको दुरुपयोग रोक्न, सुशासन कायम गर्न, र भ्रष्टाचार नियन्त्रण गर्न नेताहरूले उदाहरणीय भूमिका खेल्नुपर्छ।
पारदर्शी प्रशासनिक प्रक्रिया र जनतालाई सुसूचित गर्ने अभ्यासले जनताको विश्वास बढाउँछ र समाजमा इमानदारीताको संस्कार विकास गर्छ।
स्वर्णिमजीहरुलाई प्रश्न– इमान्दारीताको त अब यहाँ चर्चा गर्नु बेकार हुन्छ कि हुँदैन? केका लागि स्थापित भएको थियो दल, अहिले कुन मुद्दा र दलदलमा बहस गरिरहेको छ?
९. निरन्तर सिकाइ र आत्ममूल्यांकन
एक सच्चा नेता सधैं सिक्ने प्रक्रियामा रहन्छ। उनीहरूले आफ्ना सफलताहरू र असफलताहरूबाट पाठ सिक्नुपर्छ र निरन्तर सुधार गर्न तत्पर रहनुपर्छ। आत्ममूल्यांकन गर्ने नेताहरूले आफ्ना कमजोरीहरू पहिचान गरी सुधारको उपाय अपनाउँछन्।
स्वर्णिमजीहरूलाई प्रश्न– कमजोरी पहिचान र स्वीकार अनि सुधारको त प्रश्नै नगरौं। तर्क बेकार हुन्छ।
१०. राष्ट्रियता र समर्पण
नेताले देशप्रतिको प्रेम र समर्पण देखाउनुपर्छ। उनीहरूको सबै काम र निर्णय देशको हितमा केन्द्रित हुनुपर्छ। राष्ट्रियता र देशभक्तिले प्रेरित नेताले बाह्य हस्तक्षेप र स्वार्थी सोचबाट बचेर राष्ट्रको सर्वोपरि हितका लागि काम गर्छन्।
स्वर्णिमजीहरुलाई प्रश्न– यस विषयमा त उपल्ला तहका सबै नेताका विषयमा मज्जाले बहस गर्न सकिन्छ। मनरो डक्ट्रिन भाषणबाजीले स्वयम् स्वर्णिमजी विवादीत बनेको तथ्य धेरै पर छैन।
यो प्रश्न रास्वपालाई मात्र किन? भन्ने अर्कोखाले तर्क रहला। यो प्रश्नबाट बिमुख भएका कांग्रेस, एमाले र माओवादीको विकल्पमा ०८४ मा बहुमत ल्याउने दाबी गर्ने दल प्रश्नहरूबाट अलग हुन सक्तैन। यदि जनताले रास्वपा हेर्न चाहेका हुन् भने यी प्रश्नका उत्तर दिन सक्नुपर्छ।
अब, शीर्षकलाई न्याय गरौं–
कांग्रेसका दाई र भाउजूहरूको खिसिट्युरी गर्ने स्वर्णिमहरू यतिबेला सहकारी ठगी प्रकरणका अभियुक्त रहेका सभापति लामिछानेको भजन कृतनमा व्यस्त छन्।
यसो नगरे रास्वपामा नरहिएला फेरि! यी यस्ता कृतघ्न निस्किए कि सुरुका मुकुल ढकाल रविप्रति जसरी खनिएका छन्, त्यसरी नै योजना आयोगको उपाध्यक्ष बनाउने बाउको बिरासत बोकेको पार्टीलाई गाली गर्न थाले।
राजनीतिमा गालीगलौज नै प्रतिस्थापन मान्ने बौद्धिकताको अर्थ हुन्न। बिरासतलाई इज्जत गर्न सके, परिवर्तनका निम्ति यहाँ वा त्यहाँका दलमा भएका राम्रा मानिसको सम्मान गर्न नजान्ने जान्ने हुँदैन र त्यसले छान्दा पनि छान्दैन। यसर्थ, प्रश्नबाट अलग धलग नबस्नुहोस्।