नेभिगेशन
मनोरञ्जन

दिलिप रायमाझीकी छोरी दिव्याको थामेन मन, दुई दिन विदा सक्किएसी एक्टर टेक वान रिलिज

काठमाडौं  - ‘एक्टर’ र ‘एक्टर टेक वन’का निर्माताबीच फिल्मको नामलाई लिएर चलिरहेको विवाद टुंगिएको छ । ‘एक्टर’का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने भएपछि भोलिबाट चलचित्र हलमा लाग्ने बाटो खुलेको छ ।

‘एक्टर टेक वन’ प्रदर्शनको बाटो खुलेसँगै चलचित्रको निर्माण टिमले प्रेसमिटको आयोजना गर्यो । निर्देशन राजन भुसाल, कलाकार प्रदीप खड्का, दिव्य रायमाझी लगायत कलाकार उपस्थित थिए । कार्यक्रममा अभिनेत्री रायमाझी त भावुक समेत भइन् । बोल्दाबोल्दै भक्कानिइन् ।

उनलाई ‘पहिलो फिल्ममा नै यस्तो समस्या आइलाग्यो, कस्तो महसुस भइरहेको छ’ भनेर पत्रकारले सोधे । रायमाझीले माइक लिइन् र बोल्न सुरु गरिन्, ‘छोटो समयका लागि त यहाँ केही हुँदैन रैछ भन्ने लाग्यो । म त कहाँ आइपुगेँ जस्तो लाग्यो । त्यति धेरै सपना बोकेर आइपुगेकी थिएँ । त्यति धेरै अपेक्षा बोकेर आइपुगेकी थिएँ । त्यो सबै।।।। (एकछिन रोकिइन्) रिलिजको एक दिन अगाडि फिल्म नै रोकिने भन्दा चाहिँ एकदमै दुःख लाग्यो।।। ।’

यसपछि उनी थप बोल्न सकिनन् । अभिनेता खड्का बोल्न थाले । केहीबेर सम्हालिएपछि रायमाझीले फेरि माइक समातिन् । अनि बोलिन्, ‘भर्खरै चलचित्र क्षेत्रमा आएकी थिएँ, तर त्यस्तो हुँदा के भनुँ भन्ने भइरहेको थियो । सपना पूरा हुँदैछ भन्ने लागेको थियो । प्रिमियरले एकदमै खुसी भएकी थिएँ । तर एक्कासी फिल्म रोकिएको न्युज थाहा पाएँ । अनि त के गरुँ, गरुँ भन्ने भयो । यस्तो समस्या नयाँ कलाकारले मात्रै होइन, कसैले पनि भोग्न नपरोस् ।’

अभिनेता प्रदीप खड्काले भने ‘भोलिबाट फिल्म रिलिज हुँदैछ’ भन्ने जानकारीका लागि मात्रै कार्यक्रमको आयोजना गरिएको बताए । सँगै उनले भने, ‘बितेको एक दुई दिन एकदमै तनावग्रस्त रुपमा बित्यो । त्यसको कारण जेसुकै भए पनि यो देशमा गरिखान गाह्रै छ भन्ने कुराको ज्वलन्त उदाहरण सामना गरियो । जनतासँग भएको आवाज थियो, तर आवाज पनि उठाउन नमिल्ने अवस्था आयो ।’

खड्काले जिल्ला अदालत काठमाडौंको फिल्म प्रदर्शन रोक्नुपर्ने अल्पकालीन आदेशलाई इंगित गर्दै भने, ‘कुनै निकायको विरुद्धमा बालेमा कारबाही भोग्न सकिने अवस्था थियो । अबका दिनमा यस्तो समस्या कसैले भोग्न नपरोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन