‘बेहुली फ्रम मेघौली’ चलचित्र शुक्रबारदेखि ओटीटीमा उपलब्ध हुने
काठमाडौं - कम शो दिइएको भन्दै हलबाट उतारिएको ‘बेहुली फ्रम मेघौली’ शुक्रवारदेखि ओटीटीमा उपलब्ध हुने भएको छ । कलाकार, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् ।
बस्नेतका अनुसार यो चलचित्र ‘एमएसएम भिडिओ’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध हुनेछ । तर अहिले पनि यसमा नयाँ अकाउन्ट बनाउँदा ओटीपी नआउने र आए पनि समय लाग्ने समस्या रहेको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
हाल यस प्लेटफर्ममा ‘दिमाग खराब’, ‘महाजात्रा’ र ‘घरज्वाईं’ चलचित्र उपलब्ध छन् । प्लेटफर्ममा चलचित्र हेर्न ‘रेन्ट’मा लिने विकल्प छ । चलचित्रलाई एक हप्ता र दुई हप्तासम्म रेन्टमा लिन सकिने छ । त्यस्तै मासिक, अर्धवार्षिक, वार्षिक र आजीवन गरी प्लेटफर्मको सब्सक्रिप्सन समेत लिन सकिन्छ ।
तर प्रयोगकर्ताहरूले यो प्लेटफर्ममा चलचित्र हेर्नलाई पैसा तिर्ने विकल्प सजिलो नभएको गुनासो गरिरहेका छन् ।