Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्री लामिछाने संलग्न संस्थामाथि बैंक ठगीको अर्को आरोप, करोड लिएर कार्यक्रम चुर्लुम्म

मंगलबार, जेठ १, २०८१

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न गोर्खा मिडिया नेटवर्क प्रालिको ग्यालेक्सी फोरके टेलिभिजनमाथि एउटा वाणिज्य बैंकले एक करोड ठगी गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा परेको नयाँ खुलासा भएको छ।

एकातिर सहकारी ठगीको आरोप खेपिरहेका गोर्खा मिडियाका अध्यक्ष जीबी राई र लामिछानेमाथि तत्कालिन सिभिल बैंक हाल हिमालयन बैंकले एक करोड ठगी भएको मुद्दा जिल्ला अदालतमा दर्ता भएको विवरण सतहमा आएको हो। 

हिमालयन बैंकले गोर्खा मिडिया नेटवर्कविरुद्ध २०८१ वैशाख ४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी क्यानडानेपालले प्राप्त गरेको हो। 

ग्यालेक्सी फोरके टेलिभिजनले ‘को बन्छ करोडपति?’ नामक कार्यक्रम प्रायोजन गर्न तत्कालीन सिभिल बैंकसँग सम्झौता गरेको थियो। एक करोड रुपियाँको स्पोन्सर गरेको रकम दिए पनि कार्यक्रम प्रशारण नभएको भनी बैंकले मुद्दा दायर गरेको हो। 

उक्त कार्यक्रम नायक राजेश हमालले सञ्चालन गर्ने विज्ञापन पनि टेलिभिजनमा बजेको थियो। सिभिल बैंक अहिले हिमालयन बैंकसँग मर्ज भएको छ। 
गोर्खा मिडियासँग पटक पटक सम्पर्क गर्दा पनि उक्त मिडिया बैंकको सम्पर्कमा आउन नचाहेको बताइन्छ। 

उक्त बैंकका सुदीप जोशीले सिभिल बैंक हुँदा सम्झौता राम्रो रकममा भएको बताए। तर, कति रकममा भएको र मुद्दाका बारे आफू जानकार नभएको बताएका उनले कार्यक्रम सञ्चालन नभएको बारेमा जानकारीमा रहेको उल्लेख गरे। 

२०७८ फागुन २५ गते गोर्खा मिडिया नेटवर्कसँग बैंकले उक्त कार्यक्रम प्रायोजन गर्ने भनेर ६२ लाख १५ हजार रुपैयाँ एडभान्स भुक्तानी गरेको थियो। उक्त कागजातमा विपिन आचार्यले हस्ताक्षर गरेका छन्। आचार्य पनि बैंकको सम्पर्कमा नआएपछि बैंकले सावाँ ब्याजसहित १ करोड २४ लाख ३० हजार रकम फिर्ता लिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको बताइन्छ।

बैंक अधिकारी जोशी भन्छन्,‘रकम विवरण मेरो जानकारीमा छैन। तर, राम्रो रकममा सम्झौता भएको जानकारीमा छ।’
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्