महेश बस्नेतविरुद्धको उजुरी ‘फेक’ भएको प्रहरीको निचोड, युवा नेता भन्छन्– पाठकका कति नाटक!

बुधबार, वैशाख ५, २०८१

प्रष्टोक्तिः भ्रुण हत्या र बलात्कारसम्बन्धी विषयमा पीडित भनिएकी शोभा पाठक आफैं मिडियामा सार्वजनिक रुपमा खुलेर आएका कारण यहाँ नाम उल्लेख गर्न उपयुक्त ठानिएको छ– सम्पादक
 

काठमाडौं– एमाले युवा फाँट इञ्चार्ज महेश बस्नेतविरुद्ध भ्रुण हत्या र बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको उजुरी ‘फेक’ रहेको निचोड निकाल्दै तामेलीमा राखिएको छ।

प्रहरीको उक्त निर्णय सरकारी वकिलको कार्यालयले सदर गरिदिएको छ। यसको अर्थ अब पाठकको उजुरीमा तत्काल अनुसन्धान नहुने भएको छ। यति हुँदा पनि बस्नेतको राजनीतिक जीवन नै अप्ठ्यारोमा पार्नेगरी पाठक मिडियाबाजीमा उत्रिएकी छन्।

झण्डै तीन साताअघि उनले बस्नेतविरूद्ध प्रहरी र सरकारी वकिललाई हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। प्रहरीले फाइल अगाडि नबढाएको भनी पाठक सार्वजनिक रुपमा मिडिया र पत्रकार सम्मेलनमा आउँदै ‘प्रमाणसहित आएकी छु’ भनी उक्त उजुरी आफैंले दिएको स्वीकार गरेकी छन्।

सरकारी वकिल कार्यालयले आवश्यक छानबिन अघि बढाउन लेखी पठाएपछि प्रहरीले दर्ता गरेर जाहेरीबारे नै छानबिन गरेको थियो। जिल्ला प्रहरी परिसरका अनुसार छानबिन गर्दा जाहेरी झुटा र काल्पनिक देखिएको हो। प्रहरीले मुलुकी कार्यविधि संहिताको दफा ११ बमोजिम तामेलीमा राख्ने राय सरकारी वकिलकहाँ पठाएको थियो।

अहिले तामेलीमा राख्ने प्रहरीको रायलाई सदर गरे पनि पछि प्रमाण जुटाएर अनुसन्धान हुन सक्ने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। 

बस्नेतसँगको सहवासबाट बच्चा बसेको गर्भ गलत औषधि खुवाएर पतन गराइदिएको महिलाको उजुरीमा सत्यता नभएको प्रहरी प्रतिवेदनमा उल्लेख थियो। 

भक्तपुर सामुदायिक अस्पतालले बस्नेतको २०७२ सालमै परिवार नियोजन गरेको भन्दै पठाएको पत्रानुसार पाठकको दाबी झूठो रहेको बताइन्छ। 

महिलाले जाहेरीमा यसअघि पोखरास्थित चरक अस्पतालमा गर्भपतन गराउँदा बस्नेतले हस्ताक्षर गरेको रिपोर्टको फोटोकपी जाहेरीसाथ पेस गरेकी थिइन्। त्यो रिपोर्ट नै आफ्नो नभएको भनेर चरक अस्पतालले लेखी पठाएको पत्रलाई पनि जाहेरी झुटो भएको प्रमाणका रूपमा प्रहरीले लिएको एक अधिकारीले जानकारी दिए। 

उनले आफूलाई सार्वजनिक गरेको लिंक यहाँ हेर्नुहोस् 

यसअघि आफूहरूबारे भ्रम फैलाएको भन्दै बस्नेत र ती महिलाले प्रहरीमा युट्युबर मनोज मानवविरूद्ध संयुक्त जाहेरी दिएका थिए। अहिले उनी साइबर क्राइमको अभियोगमा पूर्पक्षका लागि थुनामा छन्। त्यो जाहेरीअघि नै आफूलाई बस्नेतले बलात्कार गरेको भनेर अहिले आएर महिलाले उजुरी दिनुलाई नै प्रहरीले शंकास्पद मानेको छ।

यता पाठक भने केही विवादीत व्यक्तिको सहयोगमा बस्नेतको चरित्र हत्यामा अग्रसर रहेको एमालेको युवा संगठनका नेताले आरोप लगाएका छन्। केही नेताले पाठकले नाटक गरिरहेको भनी आरोप लगाएका छन्। 

पाठक बस्नेत उद्योगमन्त्री रहेका बेला सचिवालयमा सक्रिय रहेकी थिइन्। यसबाहेक विभिन्न व्यक्तिसँग उनको सम्बन्ध रहेको विवरणहरू सार्वजनिक भएका थिए। पाठक आफैं लाइभमा आएर पनि एमाले र बस्नेतविरुद्ध आवेगमा खनिने गरेको पाइन्छ।

केही अघि भने बस्नेतसँग नै दशैंको टिका लगाउने, ‘मेरो राजा’ भनी सम्बोधन गरेका कतिपय विवरण सार्वजनिक भइसकेका छन्। उनले युट्युबर मनोज मानवसँग वार्ताका क्रममा धम्की दिएलगायतका अडिओ पनि सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्