टिप्पणी

प्रश्नको घेराबाहिर छैनन् रवि लामिछाने, विषयान्तरको भाष्य स्वीकार्य छैन रमेश जी

मंगलबार, माघ २३, २०८०

काठमाडौं– लोकतन्त्रमा प्रश्नको घेराबाहिर कोही पनि छैन । आफूले बारम्बार अरुलाई प्रश्न उठाउँदा आफूमाथि उठेका प्रश्नको विषयान्तर गरी लोक रिझाँईका बेतुके तर्कमा रमाउनु बेग्लै कुरा हो ।

आज फेरि समाचार आएको छ– पोखराको सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताले रवि लामिछानेसहित दिपेश पुनःलगायतविरुद्ध उजुरी प्रहरीमा दिएका छन्, त्यो पूरक उजुरी हो ।

रवि लामिछानेको पछिल्लो परिचय हो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति। यो प्रकरण त्यसअघिको रहेको र टेलिभिजन चलाउँदाको थियो ।

ग्यलेक्सी फोरके टेलिभिजन चलाउने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालिन तीन सञ्चालक थिए, अध्यक्ष गितेन्द्रबाबु राई उर्फ जीबी, उपाध्यक्ष छविलाल जोशी र प्रबन्ध निर्देशक रवि लामिछाने ।

जीबी फरार सूचीमा छन् । जोशी पनि अर्को प्रकरणका अभियुक्त हुन् तर उनी विवादमा आएपछि टेलिभिजनको जिम्मेवारीबाट अलग गराइएको थियो ।

त्यहि टेलिभिजनमा कार्यक्रम चलाउने दिग्गज, अब्बल र प्रखर वक्ता रमेश प्रसाईंको एउटा अन्तरवार्ता हेरेको थिएँ। उनले बुझेर हो या नबुझेर सहकारी प्रकरण हुँदै टेलिभिजन सञ्चालनका सम्बन्धमा भनेका थिए– रवि लामिछानेको भूमिका प्रबन्ध निर्देशक मात्र थियो । उहाँले समाचारीय र कार्यक्रम उत्पादनको मात्र जिम्मेवारी लिनुभएको हो । त्यसवापत श्वेत शेयर पाउनुभएको हो ।

मिडिया क्षेत्रमा, पत्रकारिताको दुनियाँमा लामो समय ब्यतित गरेका कारण जनतामा यस्तो गलत भाष्यको टिप्पणी नगर्नु उपयुक्त हुने रमेश जीलाई सुझाव दिन्छु ।

प्रबन्ध निर्देशक भन्ने पद र जिम्मेवारी कुनै टेलिभिजनका लागि मात्र नभएर हरेक कम्पनी सञ्चालनका लागि कार्यकारी हुन्छ। जीव राई सञ्चालक समितिको अध्यक्ष मात्र थिए, उनी कार्यकारी अध्यक्ष थिएनन् भन्ने भुल्न हुन्न ।

यसकारण टेलिभिजनको आयव्ययदेखि लगानीको स्रोत, खर्चको तारतम्यको जिम्मेवारी प्रबन्ध निर्देशकको हुन्छ । यस मानेमा लामिछानेलाई लगानीको स्रोतबारे थाहा थिएन भन्नु ‘जनता मूर्ख’ छन् जे भन्दा पनि पत्याउँछन् भन्ने हो ।

यदि, रविको भूमिका कार्यकारी थिएन भने पछिल्लो पटकको पत्रकार सम्मेलनमा उनले सञ्चालक समितिमा भएको निर्णयको ‘माइन्युट’ ल्याउन सक्ने थिएनन् । बोर्डमा कार्यकारी भूमिका भएका व्यक्तिसँग मात्र माइन्युट एक्सेस हुन्छ । लामिछानेसँग त त्यसको सबै निर्णयका कपि छन्, हुन्छन् ।

अर्को, कम्पनीको प्रयोजनका निम्ति सञ्चालकहरूले नागरिकताको प्रयोग, रकम जम्माको भौचर तयार पारेका हुन सक्छन् भन्ने त रवि लामिछाने आफैंले कबोल गरेका थिए । यसको अर्थ हरेक चिज उनको सहमतिमा भएको हुँदाहुँदै ‘मलाई थाहा भएन’ भन्ने गैरजिम्मेवार र झूठो तर्क विश्वासयोग्य हुँदैन ।

नेपाली मिडिया क्षेत्रमा एउटा चातुर्य अनुहार र लोकप्रियता प्रमाणका थाक र गोप्य सूचनाका सबै आधार पत्ता लगाउन सक्ने व्यक्तित्वबाट निर्माण भएको रविको छविलाई हेर्दा उनलाई केही थाहा थिएन होला र ? हामी मिडियामा काम गरेकालाई त थाहा हुन्छ भने उनका सन्दर्भमा बचाऊका लागि दिइने तर्क झूठको उद्योगमा नै बन्ने गरेको छ, रमेश जीलाई राम्रो थाहा छ ।

अन्य तर्क पनि छन् । श्वेत शेयरको प्रावधान हुँदैन भन्ने जान्दा जान्दै कानुन मिचेर किर्ते कागज बनाउने कर्मलाई क्षम्य मान्न सकिएलारु यति मात्र होइन, शेयरवापतको रकम जम्मा भएको भौचरको विषय मात्र होइन, कपाली तमसुक समेत गरी रकम पाइँन भन्ने व्यवाहारिक तर्क रहला तर कानुनका दफाले त्यो भन्ने ठाउँ दिएको छ ?

एकथरी रवि समर्थक भन्न रुचाउने, रास्वपाबाट राजनीतिक बाटो खोलीरहेका र अवसरको खोपी देखिरहेकाहरू भ्रममाथि पनि पर्दा हाल्न खोजीरहेका छन् ।

अन्य ठूला दल र तिनका नेतालाई प्रश्न किन नगरेकोरु त्यत्रो विगार्दा गर्नु पर्दैनरु यस्ता कुतर्क र गाली आउँछन् । खासमा अन्य दलका नेताहरूले तयार पारेका भेडा कार्यकर्ताभन्दा रविका समर्थक अलग कहाँ छन् र ? तिनले कार्यकर्ताको बलमा शक्तिको दुरुयोग गरी सत्ता राजनीति कब्जा गरेर प्रताडित बनाए ।

रवि पनि त्यहि मार्गका एक प्यादाका रुपमा अगाडि बढे। उनलाई सहकारीको रकमले टेलिभिजन चलाउँदा लामो समय जाँदैन भन्ने थाहा भएका कारण नै राजनीतिमा आएको नयाँ आयामबीच आफ्नो लोकप्रियताको मार्केटिङ गरे । कतिसम्म भने उनले स्वतन्त्रहरूको गज्जबको उदय भएको देखेपछि पार्टीको नाम नै स्वतन्त्र समेत राख्न भ्याएकै हुन् । रमेश जी धेरै छन्, तर्क ।

अर्को, कानुनमा छिद्र छ भन्ने थाहा पाएपछि त्यसको प्रयोग गर्नुपर्छ र पछि माफि माग्दा मिनाहा पाइन्छ भन्ने धारणा राख्ने व्यक्तिको नेतृत्वमा खडा भएको पार्टीले कुन सुशासनको नियात्रा तय गर्ला ?

यस्तो पार्टी सत्ता र शक्तिमा आयो भने कानुनका छिद्रको कति दुरुपयोग गर्ला, जति अहिलेका पार्टीले गरिरहेका छन् । आफ्नो सुविधाका लागि मिचिने विषयलाई नजरअन्दाज गरिदिनुपर्ने भन्ने र त्यहि नै सत्य हो भन्ने भाष्य निर्माण गर्न नीति निर्माण तहमा रहेका सांसदले वकालत गर्नु उपयुक्त हो त ?

प्रश्न धेरै छन्। रवि लामिछाने प्रश्नको घेराभन्दा बाहिर छैनन् । विषयान्तरको नयाँ भाष्य तयार नगरियोस् । हिजो नागरिकताको औचित्यमा नै प्रश्न उठेपछि निराकरण गर्न बाध्य भएका लामिछानेले आज सहकारी घोटालामा प्रश्न उठेपछि त्यसलाई निराकरण गर्न सहयोग गर्नुपर्छ । उनको राजनीतिक उदय, दुई तिहाई बहुमत या पतनसित टिप्पणीकारको कुनै सरोकार छैन । जसले प्रश्नको थाक तयार पारेर राजनीतिमा फड्को मारेको थियो, उसले पनि प्रश्नबाट अलग भएर, विषयान्तर गरेर हिँड्ने छुट पाउँदैन ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्