फिल्म ‘नमेटिने घाउ’ मा केपी ओलीले अभिनय गर्ने

आइतबार, माघ १४, २०८०

काठमाडौँ- चलचित्र ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ ।

आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका छन् । उक्त चलचित्रमा ओलीले ‘प्रधानमन्त्री’ रोल निर्वाह गर्ने बताइएको छ । यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए ।

चलचित्र एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन चलचित्र अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन् । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही चलचित्रबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । चलचित्र निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्