महोत्तरी कारागारमा ‘लिटिल बुद्ध’

सामान्य कैदीबन्दीको खाना खाएनन्, ७ जोगीलाई बनेको सादा परिकार

शुक्रबार, पुस २७, २०८०

काठमाडौं– सर्लाही जिल्ला अदालतले यौन शोषको अभियोगमा पूर्पक्षका लागि थुनामा पठाएका लिटिल बुद्ध भनिने तपस्वी रामबहादुर उर्फ रामलाल बमजनले सामान्य कैदीबन्दीका लागि बनेको खाना अस्वीकार गरेका छन्।

महोत्तरीको जलेश्वर कारागारमा पठाइएका उनले प्याज, लसुन र बेसार नभएको खानाको डिमान्ड गरेका छन्। ‘अन्यले खाने खाना मलाई नदिनू, मलाई सादा परिकार दिनू’, बमजनको मागबारे कारागार प्रशासनले भन्यो,‘हामीले उहाँको चित्तबुझ्ने खालको परिकार दिएका छौं।’

साँझ साढे ७ बजे कारागार लगिएका बमजनका लागि अलग र विशेष कक्ष तयार पारिएको छैन। सामान्य कैदीबन्दी बस्ने ठाउँमा नै राखिएको छ। 

जलेश्वर कारागारमा बमजन जस्तै ७ जना जोगी रहेका कारण तिनलाई बनेको खाना नै दिने प्रबन्ध कारागार प्रशासनले मिलाएको छ। ‘विभिन्न अभियोगमा कारागारमा रहेका अन्य ७ जना जोगीलाई दिने खाना नै बमजनका लागि पनि दिइएको छ’, स्रोतले भन्यो,‘विशेष भनेर अलगचाहिँ छैन।’
आफ्ना अनुयायी आनीको यौन शोषण गरेको अभियोगमा जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएर अनुसन्धान गर्ने बाटो खोलिदिएको हो। 

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरी सर्लाही पठाएको थियो। उनको घरबाट विभिन्न मुलुकका मुद्रा ३५ लाखसहित नेपाली तीन करोड ५ लाख रुपैंया भेटिएको थियो। अन्य विभिन्न जिन्सि सामग्री पनि प्रहरीले जफत गरेको थियो। 

सीआईबीले उक्त रकमको स्रोतलगायतका थप अनुसन्धान जारी राखेको छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्