रामबहादुर बमजन पक्राउ

तपस्वीसँग थामिनसक्नु सम्पत्ति र अपराधको जालो, लिटिल बुद्धका नाममा रामलालले केसम्म गरेनछन् र !

बुधबार, पुस २५, २०८०

काठमाडौं– तपस्वीको भेषमा रहेका लिटिल बुद्ध भनिने रामबहादुर बमजनको असली नाम रामलाल रहेको अनुसन्धानका क्रममा प्रहरीले खुलाएको छ । 

तपस्वीका भेषमा रहेका रामलालको घरबाट तीन करोड ३५ लाख रुपैंया बराबरको रकम प्रहरीले जफत गरेको छ । 

बाल यौन दुराचारको अभियोगमा उजुरी परेको, अनुयायी बेपत्ता पारेको अभियोग समेत रहेका रामलाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुढानिलकण्ठ–६ स्थित टनगाउँबाट पक्राउ गरेको थियो । 

Bomjam_revelied_cib-1704889189.JPG

सो क्रममा खानतलासी गर्दा सीआईबीले नेपाली तीन करोड तीन लाख रुपैंया नगदसहित विदेशी मुद्रा समेत फेला पारेको थियो। यसबाहेक सीआईबीले रामलाल बस्दै आएको घरबाट तीन वटा मोटरसाइकलको बिलबुक, हाइलक्सको एउटा चाबी, २० वटा पेनड्राइभ, सोनीको भ्वाईस रेकर्डर १, २ वटा विभिन्न ब्रान्डका मेमोरी कार्ड फेला पारेको थियो। जुन पत्रकार सम्मेलनका क्रममा सीआईबीले सार्वजनिक गरेको छ। 

bomjan-1704871878.jpg

यसैगरी, १४ वटा मोबाइल, २ वटा ल्यापटप, ५ वटा आईप्याड समेत प्रहरीले जफत गरेको छ।

लिटिल बुद्ध भनिने साधु भेषका रामलालले टोयोटाको फोर्चुनर चढ्ने गरेका थिए भने सेतो रङको ल्यान्ड क्रुजर जेडएक्स गाडी पनित महर्जनको गाडी ५ करोडमा लिनेगरी तीन करोड दिइसकेको अनुसन्धानका क्रममा खुलेको छ।

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले अन्य बेपत्ता पारिएका भनिएको विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको बताइन्।

२०७६ साल माघ २३ गते उनीविरुद्ध आनीको रुपमा रामलालको आश्रममा बसेकी एक किशोरीलाई यौन शोषण गरेको उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको थियो। रामलाल त्यसपछि प्रहरीबाट उम्किँदै आएका थिए।

pic-1-1704871953.jpg

सर्लाही जिल्ला अदालतको अनुमतिमा रामलाललाई खोजतलास सुरु भएको थियो। तर, उनी फरार रहेका थिए। रामलाल बाराको निजगढ नगरापालिका–१२ का स्थायी बासिन्दा हुन्।

‘उनले गरेका अपराधका बारेमा अन्यले पनि उजुरी दिएको विषय आएका छन् । त्यसबारे पनि अनुसन्धान हुनेछ’, सीआईबी अधिकारी भन्छन्,‘उनलाई सर्लाही जिल्ला अदालतमा पेस गरी म्याद थप गरिनेछ र अनुसन्धान जारी हुनेछ।’

रामलालको बचाऊका लागि पूर्वराज्यमन्त्री यशोदाकुमारी लामासहितका उनका अनुयायी बताउने सीआईबी कार्यालयमा पुगेका थिए। यहाँसम्मकी रामलाल आफ्ना भगवान रहेको भनी निजी गाडीमा सर्लाही लग्न दिनका लागि पूर्वराज्यमन्त्री लामाले आग्रह  गरेकी थिइन्।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्