टिप्पणी

कांग्रेस केन्द्रीय समितिमा उठ्नुपर्ने प्रश्न– सभापति देउवा नागरिक हुन् की प्रचण्डका रैति?

बुधबार, पुस ११, २०८०

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक विहीबारदेखि हुने बताइएको छ । यसअघिको बैठकमा खासै गहन विषयमाथि कुनै निर्णय भएन। यो बैठकमा सरकारमा रहेका मन्त्रीको कार्य सम्पादनको विषय उठान हुने बताइन्छ ।

तर, त्यसअघि सभापति शेरबहादुर देउवाको कार्यशैली, सत्ता गठबन्धनमा कांग्रेसको हैसियतका विषयमा प्रश्न उठ्न आवश्यक छ । कांग्रेस कुनै गठबन्धन नगरी एकल रुपमा प्रजातान्त्रिक प्रणालीबाट चुनावमा होमिनुपर्ने आवाज उठे पनि सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति संगठनको विश्वास गरेको पाइँदैन ।

सत्ता साझेदार भए पनि प्रचण्डलाई दबाबमा राख्नुपर्ने ठूलो दल कांग्रेस किन आफैं दबिएर बसेको छ भन्ने प्रश्न आवश्यक रहेको कतिपय नेता बताउँछन् । तर, केन्द्रीय समितिको बैठकमा मुख खोलेर नै यस्तो प्रश्न गर्ने हैसियत र हिम्मत भने देखिएको छैन ।

कांग्रेसको जननी र आदर्शपुरुष मानिने वीपी कोइरालाले भनेका थिए– राजनैतिक अधिकारबाट बञ्चित भएको नागरिक राष्ट्रको नागरिक हुँदैन। त्यो शोषित रैति हुन्छ। नागरिक र रैतिमा धेरै फरक छ ।

ठिक गठबन्धनमा देउवाको हालत यस्तै–यस्तै देखिन्छ । सत्ता गठबन्धनको निर्णय नमानेर कांग्रेसको हैसियत देखाउन सके जित निकाल्न सकिन्छ भन्ने उदाहरण डा. शेखर कोइराला बनेका थिए ।

अहिले सत्ता गठबन्धनमा प्रचण्ड हावी हुँदा सभापति देउवा नागरिक हुन्छन् कि रैति ? यो प्रश्न उठ्न आवश्यक रहेको छ ।

वीपीले यसै सन्दर्भमा भनेका थिए– नागरिक देशका समस्यालाई बुझ्ने, बुझ्न खोज्ने, चनाखो, आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेको व्यक्ति हो। रैति निमुखो हुन्छ । त्यो अर्काको खटनमा हिँड्छ । उसलाई देशका प्रति न चाख हुन्छ, न अधिकारका प्रति जागरूकता। त्यो कुनै जिम्मेवारी लिँदैन, किनभने आज्ञा पालन गर्ने स्वभाव उसमा निर्मित भएको हुन्छ। नागरिकहरूबाट राष्ट्र बन्छ, रैतिबाट बन्न सक्दैन ।

ठिक गठबन्धनमा देउवाको हालत यस्तै–यस्तै देखिन्छ । सत्ता गठबन्धनको निर्णय नमानेर कांग्रेसको हैसियत देखाउन सके जित निकाल्न सकिन्छ भन्ने उदाहरण डा. शेखर कोइराला बनेका थिए ।

उनले कोशीको मुख्यमन्त्री नियुक्तिको विषयमा गठबन्धनभन्दा माथि उठ्दा गठबन्धनका अन्य दल निहुरिन बाध्य भएको थियो। देउवा किन त्यसो गर्न सक्तैनन् ?

वीपी भन्थे,‘ठूला–ठूला महल र अट्टालिमा बस्नेलाई म जनता भन्दिन । त्यो त एक प्रतिशत पनि छैन जो मोटरमा हिँड्छ, राम्रो लगाउँछ र राम्रो खान्छ। जनता त गाउँमा बस्छन् ।’

वीपीले भनेजस्तो कांग्रेस जनतासँग नजिक पुग्नका लागि, गाउँमा पुग्नका लागि अहिलेसम्म के कस्ता कार्यक्रम तय गरिए ? देउवा आफैं कति पटक जनतासँग प्रत्यक्ष जोडिएका उदाहरण छन्। यसको खोजी केन्द्रीय समितिमा हुनुपर्ने देखिन्छ ।

वीपी भन्थे– अर्धनग्न हाम्रा निरीह जनता आफ्नो पुर्ख्यौली थलोमा जीविकाको केही उपाय नदेखेर प्राण रक्षाका लागि हिन्दुस्तानतिर पस्छन् ।

वीपी भन्थे– मलाई नेपाली जनताले श्रेय दिन खोज्दछ भने एउटै कुरामा देओस् कि मैले देशभित्र, देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु ।

वीपीको भनाईको सन्दर्भभन्दा पनि अहिले कहालीलाग्दो स्थिति छ । हिन्दुस्तान मात्र होइन अहिले खाडी मुलुकतिर दैनिक २ हजार भन्दा बढीको दरमा जाने क्रम रोकिएको छैन । यस विषयमा सत्ता गठबन्धनमा कांग्रेस सभापतिले कति प्रश्न उठाए? कति दबाबमा राखे, सरकार? यो प्रश्न उठ्न आवश्यक छ ।

वीपी भन्थे– मलाई नेपाली जनताले श्रेय दिन खोज्दछ भने एउटै कुरामा देओस् कि मैले देशभित्र, देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु ।

आखिर के देउवालाई जनताले दिने श्रेय के हो ? यसबारेमा कांग्रेस केन्द्रीय सदस्यले प्रश्न गर्न सक्छन् ?

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्