बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्ने

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं- बलिउड अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नकारात्मक भुमिकामा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन लागेका हुन् ।

फिल्ममा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको थियो । बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन भैरहेको निर्देशक बाबु साहेव बलामीले बताए । करिब ६ दिन फिल्मको अन्तिम चरणको छायांकन हुनेछ । फिल्ममा ह्यारीको विशेष भूमिका रहेने बलामीले जानकारी दिए । फिल्म हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको उनको भनाई छ ।

फिल्म नेपालसँगै भारतमा पनि हलमा रिलिज हुनेछ । दशैंभन्दा अगाडि नै सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन भैसकेको फिल्मको काठमाडौं छायांकनपछि प्याकअप हुनेछ । एक्सन(लभस्टोरी कथामा बनेको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ । मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् ।

अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन् । श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्