Nic Ad Nic Ad
Nic Ad Nic Ad
नवराज विक हत्या प्रकरण

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैदको फैसला

मंगलबार, मंसिर १९, २०८०

काठमाडौँ–  रुकुम पश्चिम जिल्ला अदालतले नवराज विकसहित ६ जनाको हत्या प्रकरणका आरोपमा २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । 

रुकुम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले आज पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । 

गत आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि रुकुम पश्चिमको सोती घटनामा  विकसहित ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् ।

कोइरालाका अनुसार ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । 

साथै यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । 

साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्