Nic Ad Nic Ad
Nic Ad Nic Ad

नातिको लाठी प्रहारबाट ८२ वर्षीय हजुरबुबाको मृत्यु

सोमबार, मंसिर ११, २०८०

वीरगञ्ज– पर्साको ठोरी गाउँपालिकामा नातिको कुटाइबाट ८२ वर्षीय वृद्ध हजुरबुबाको मृत्यु भएको छ । 

पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ गौतम नगरका ३६ वर्षीय कृष्णबहादुर खड्काले आफ्नै ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेका हुन् ।  

इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार आफ्नै छोरीका छोरा (नाति) खड्काले लाठी प्रहार गरी ८२ वर्षीय हजुरबुबाको हत्या गरेका हुन् । स्थानीयवासीका अनुसार घरनजिकै छिमेकीको घरमा छोरीका छोरा (नाति) खड्काले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण त्यहाँ पुगी छाडिदेऊ म कोदो चुट्छु भन्दा आवेशमा आएर खड्काले हजुरबुबा लक्ष्मणमाथि कोदो चुटिरहेको लाठी प्रहार गरेका थिए । 

लाठी प्रहारबाट बेहोस भएका लक्ष्मणलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापश्चात् लुकेका खड्कालाई गाउँलेहरूले समातेर प्रहरीलाई बुझाएका थिए । 

वृद्धको शव परीक्षणको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्