समाचार टिप्पणी

राप्रपा आक्रामक नबन्दा स्खलित हुने बाटोमा ‘राजसंस्था’

आइतबार, मंसिर ३, २०८०

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणि पाठकले मंसिर ९ गते झापामा हुने कार्यक्रमको बारेमा औपचारिक जानकारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आयोजनामा हुन लागेको पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रमको प्रमुख आतिथ्यता राजा ज्ञानेन्द्रले गर्ने निधो भएको आधिकारिक जानकारी पाठकले दिएका हुन् ।

उक्त कार्यक्रमका लागि उपत्यका छाड्ने तयारीमा छन् राजा ज्ञानेन्द्र ।

तर राप्रपालाई नै ओझेल पार्नेगरी राजसंस्थाको एजेन्डालाई आक्रामक रुपमा दुर्गा प्रसाईंले काठमाडौंमा राख्ने भएका छन् । मंसिर ७ गते काठमाडौंमा महाअभियानका रुपमा राजसंस्थाको डंका पिट्ने पूर्वघोषणा भइसकेको छ । उक्त कार्यक्रममा राजावादीको ठूलो समूह उपस्थित हुने दाबी समेत गरिएको छ ।

नयाँ दिल्लीमा भएको नेकपा माओवादी र तत्कालिन ७ दलको १२ बुँदे समझदारी, शान्ति सम्झौता हुँदै पहिलो संविधान सभाबाट राजसंस्था हटाउने घोषणालाई ज्ञानेन्द्रले सहज रुपमा स्वीकार गरे पनि आवाज नामेट भएको थिएन ।

बेलामौका राजनीतिक दलसँग भद्र सहमति भएको उल्लेख गरेका ज्ञानेन्द्र राजसंस्था जनताको चाहनामा फर्किन सक्ने र फर्किए नेतृत्व लिन तयार रहेको पनि बताइरहेका थिए । तर, बेलामौका राजसंस्थाको आवश्यकतालाई कतिपय दलले सत्ताको स्वाद लिने माध्यम मात्र बनाएका उदाहरण पनि पेश भए ।

०६४ सालको संविधानसभा असफल भएपछि राजसंस्थाको क्रेज एकाएक बढ्न सुरु गरेको थियो । 

०७० को संविधानसभा निर्वाचनमा राजसंस्था र हिन्दूत्वको एजेन्डा बोकेर कमल थापाको राप्रपा नेपाल चुनावी मैदानमा थियो । काठमाडौंमा नारा लाग्यो– एक भोट दाईलाई, एक भोट गाईलाई। राप्रपा नेपाल २५ सिटसहित संविधानसभा प्रवेश गरेको थियो । तर, उक्त जनमतलाई कमल थापाले सत्तामा जाने कसी बनाउँदा ०७४ को निर्वाचनमा एक सिटमा खस्कियो । त्यसमा पनि एमालेको सहयोगमा राजेन्द्र लिङ्देन मात्र प्रतिनिधि सभा छिर्न पाए ।

०७९ को निर्वाचनमा १४ सिटमा उक्लिएको राप्रपाको अहिले पनि राजसंस्था सैद्धान्तिक लाइन कायम छ । तर, उसले बेजोड रुपमा आफूलाई उभ्याउन नसक्दा, दुर्गा प्रसाईंजस्ता विवादीत व्यावसायीको एजेन्डा बनिरहेको छ । यसले सम्भावी रहेको राजसंस्था र हिन्दूत्वको विषय प्रायोजित रुपमा नै स्खलित हुन सक्ने आँकलन गर्न सकिन्छ ।

राजसंस्थाको आवाज बलियो होइन, गरिमा धुमिल बनाउने काममा प्रसाईंको नेतृत्व लाग्न सक्ने उनको विगतले स्पष्ट बनाउँछ । किनभने, कांग्रेस हुँदा तुष्टि पूरा भएन, माआवादी बनी आफन्तलाई नै नांगेझार बनाएका प्रसाईं एमालेतिर ढल्किए ।

स्वार्थ सिद्धि नभएपछि अहिले एमालेविरुद्ध आगो ओकलिरहेका छन् । न राजनीतिक दर्शन र सिद्धान्त न संगठन फगत ऋण नतिर्ने समूहलाई बोकेर हिँडेका उनले हिन्दूवादी धर्म गुरुहरूलाई भेला पारी हिन्दूत्वलाई पनि संकटमा पारिरहेका छन् ।

राजसंस्थालाई सैद्धान्तिक लाइन नै बनाएको राप्रपाका कतिपय नेताले प्रसाईंको अभियानमार्फत मुद्दा स्थापित हुन सक्छ भन्ने त्यसलाई समर्थन गर्नुपर्ने बताउँछन् ।

तर उनको नेतृत्वमा हुने आन्दोलनमा राप्रपा संस्थागत समर्थनमा उत्रिन्छ या उत्रिँदैन भन्ने अध्यक्ष राजेन्द्र लिङ्देनले भन्न सकेका छैनन् भने अन्य नेता पनि मौन छन् ।

बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भने राजसंस्थाको अनिवार्यता रहेको बताउँछन् । उनले ज्ञानेन्द्रलाई नै फर्काउने कि नाती पुस्तामा जाने भन्ने तर्क गर्न सकिने बताउँदै भनेका छन्, ‘जनमत संग्रह नगरी हटाएका कारण यसको औचित्य जीवित रहेको छ भन्ने सबैले मान्नुपर्छ ।’

पञ्चायतकालिन अवस्था देखि नै मूलधारको राजनीतिमा नामेट नभएको राप्रपाले राजसंस्थाको एजेन्डा संस्थागत गर्न सक्ने आधार देखिन्छ तर कुनै अमुक व्यक्तिको आवेशमा उत्रिएको भिँडले त्यसलाई अनुमोदन गर्नेमा भने शंका छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्