विचार

मरेकाहरूले मात्र युद्धको अन्त्य देखेका छन्ः प्रचण्ड, 'तिम्रो समाजवादमा जिउँदा लासहरू छन्'

बुधबार, कात्तिक १५, २०८०

दशकको युद्धपछि देखिएको शान्ति र निर्वाचनबाट समाजवादी उदय हुन्छ भन्ने आमसाधारणको अपेक्षा थियो। पुष्पकमल दाहाल प्रचण्डले रचेको युद्ध राजनीतिले समाजवाद होइन, विदेशवादको कहालीलाग्दो कथा लेखिसकेको छ।

प्लेटो भन्छन्,‘ मरेकाहरूले मात्र युद्धको अन्त्य देखेका छन्। हो, प्लेटोसित असहमत हुने ठाउँ छैन। युद्धमा मरेकाहरूले एउटा अन्त्य देखे तर मानिसहरू गणतन्त्र, नयाँ संविधानसँगै नयाँ समाजवादमा जिउँदो लास सरह छन्।

समाजवादोन्मुख संविधानको कात्रो बरेर मुलुक छाड्दाको पीडालाई कुन समाजवादले सम्बोधन गर्ने हो, प्रचण्ड। तिम्रो समाजवाद कुन हो? त्यसको खोजीनीति आवश्यक देखियो।

तर, खास अर्थको समाजवादबारे केही शव्दमा वर्णन गर्ने प्रयत्न गर्छु।

समाजवाद एक राजनीतिक दर्शन र आन्दोलन हो जसमा आर्थिक र सामाजिक प्रणालीहरूको व्यापक दायरा समावेश हुन्छ।

जुन उत्पादनका साधनहरूमा सामाजिक स्वामित्वको विशेषता हो। यसले आर्थिक, राजनीतिक र सामाजिक सिद्धान्तहरू र त्यस्ता प्रणालीहरूको कार्यान्वयनसँग सम्बन्धित आन्दोलनहरू वर्णन गर्दछ।

सामाजिक स्वामित्व सार्वजनिक, समुदाय, सामूहिक, सहकारी, वा कर्मचारी हुन सक्छ। जबकि कुनै एकल परिभाषाले धेरै प्रकारको समाजवादलाई समावेश गर्दैन।

विभिन्न प्रकारका समाजवादहरू बजारको भूमिका र स्रोत बाँडफाँडमा योजना, संगठनहरूमा व्यवस्थापनको संरचनामा र तल वा माथिका दृष्टिकोणहरूमा आधारित हुन्छन्।

सरसर्ती बुझेअनुसार ५ प्रकारका समाजवाद छन्। 

लोकतान्त्रिक समाजवादः लोकतान्त्रिक समाजवादमा उत्पादनका कारकहरू निर्वाचित प्रशासनको व्यवस्थापनमा हुन्छन्। ऊर्जा, आवास र ट्रान्जिट जस्ता महत्वपूर्ण वस्तुहरू र सेवाहरू केन्द्रीकृत योजनामार्फत वितरण गरिन्छ, जबकि उपभोक्ता उत्पादनहरू वितरण गर्न स्वतन्त्र बजार प्रणाली प्रयोग गरिन्छ।

प्रचण्डलाई प्रश्न छयो व्याख्यामा उल्लिखित भएको समाजवाद तिम्रो युद्धले ल्यायो? आम जनताले केन्द्रिकृत प्रणालीबाट यो दुई दशकको नजिक के पाए?

क्रान्तिकारी समाजवादः क्रान्तिकारी समाजवादको चालु दर्शन भनेको पुँजीवाद खेलिरहेको अवस्थामा समाजवादी व्यवस्थाको उदय हुन सक्दैन। विशुद्ध समाजवादी व्यवस्थाको बाटोमा धेरै संघर्ष गर्नुपर्ने क्रान्तिकारीहरू विश्वास गर्छन्। यस्तो प्रणालीमा, उत्पादनका कारकहरू राम्रोसँग विकसित र केन्द्रीकृत संरचना मार्फत श्रमिकहरूद्वारा स्वामित्व र सञ्चालन हुन्छन्।

प्रचण्डलाई अर्को प्रश्नः तिम्रो युद्ध क्रान्तिले गति लिएको समाजवादमा श्रमिकले स्वामित्व पाए? कि, देश नै खाली हुनेगरी खाडीतिरको समाजवादमा योगदान गरिरहेका छन्? तिनको रगत र पसिनाको कमाईले तिम्रो सत्ता चलिरहनु समाजवाद हो?

मुक्तिवादी समाजवादः स्वतन्त्रतावादी समाजवादले मानिसहरू सधैं तर्कसंगत, आत्मनिर्णय र स्वायत्त हुन्छन् भन्ने धारणामा काम गर्दछ। यदि पुँजीवाद हटाइयो भने, मानिसहरू स्वाभाविक रूपमा समाजवादी प्रणालीमा फर्कन्छन् किनभने यसले उनीहरूको आवश्यकताहरू पूरा गर्न सक्षम छ।

प्रचण्डलाई तेस्रो प्रश्नः पुँजीवादीहरूसितको सत्ता साझेदारी गरी त्यसको रसपानमा चुर्लुम्म हुँदा मुक्तिवादी समाजवाद कहाँ पुग्यो? कसले मुक्ति पायो? कसकसलाई यो व्याख्यामा समेट्न सकियो?

बजार समाजवादः बजार समाजवादमा उत्पादन प्रक्रिया सामान्य मजदुरको नियन्त्रणमा हुन्छ। स्रोतसाधनको बाँडफाँड कसरी गर्ने भन्ने कुरा कामदारहरूले नै तय गर्छन्। श्रमिकहरूले बढी भएको कुरा बेच्छन् वा समाजका सदस्यहरूलाई दिन्छन्, जसले स्वतन्त्र बजार प्रणालीमा आधारित स्रोतहरू वितरण गर्छन्।

प्रचण्डलाई फेरि प्रश्नः यो व्याख्याको कुनै आधारविन्दु समेत खडा भयो? बजार शुन्यप्रायः छ। मजदुर त छँदै छैनन्। अनि, कुन समाजवादोन्मुख संविधानको चर्चा परिचर्चा गर्ने?

हरित समाजवादः हरित समाजवाद प्राकृतिक स्रोतको संरक्षण हो। हरित समाजवादी समाजमा ठूला निगमहरू जनताद्वारा स्वामित्व र सञ्चालित हुन्छन्। हरित समाजवादले सार्वजनिक ट्रान्जिटको विकास र प्रयोगको साथसाथै स्थानीय रूपमा उब्जाइएको खाद्यान्नको प्रशोधन र बिक्रीलाई बढावा दिन्छ।

उत्पादन प्रक्रिया समुदायका प्रत्येक सदस्यको आधारभूत वस्तुहरूमा पर्याप्त पहुँच छ भन्ने सुनिश्चित गर्नमा केन्द्रित छ। यसबाहेक, जनतालाई दिगो ज्यालाको ग्यारेन्टी गरिएको छ।

समाजवादका विषयमा प्रचण्डलाई प्रश्न गर्ने सामान्य आधार पनि छैन। जनताले यस्तो व्याख्या कसरी बुझ्न सक्ला?

कतिपय फिल्मले कति मिठो सन्देश दिएका हुन्छन्। बलिउड फिल्म थ्री इडियट्समा जब अभिनेता आमिर खानलाई सोधिन्छमेसिन भनेको के हो? यसको व्याख्या गर!

तब उनले पंखा चल्नु, डटपेन चल्नुलगायतका साधारण उदाहरण दिँदै जे चिजले मानव जीवनका दैनिकी काममा सहज बनाइरहेको छ, ति मेसिन हुन् भन्छन्। तर, ति शिक्षकले किताबमा भएको उत्तर मात्र उत्तरका हुने भन्दै झोक्किन्छन्।

यो उदाहरणको अर्थ हो, उपर्युक्त ५ प्रकारका समाजवादका विषयमा सैद्धान्तिक व्याख्या गरियो। तर, जनताले त्यो व्याख्या होइन, त्यसमा आधारित जीवन यापन गर्न पाउनु, सुविधाको उपभोग र समभोग गर्न पाउनु नै असली समाजवाद हो।

गरिब किसानले खेतीपाती गर्न पाउनु, राज्यबाट आवश्यक कृषि सामग्री सहज रुपमा पाउनु त्यसको बजार सजिलो हुनु र दैनिकी निरन्तर चलिरहन पाउनु एउटा समाजवाद हो। के प्रचण्डराजमा यो व्यवस्था कायम भयो? तीन पटक प्रधानमन्त्री बनेका उनले यस्तो व्यवस्था गर्न सके?

उद्योगहरू सञ्चालनमा आउनु, नयाँ नयाँ उत्पादनमा मजदुरको सहभागीता हुनु, उचित मुल्यको मजदुरी पाउनु, उत्पादनको निर्यात र नाफाको दैनिक बिताउनु समाजवाद हो। के, प्रचण्डकृत सत्तामा यस्तो स्थितिको सुरुआत पनि भयो त? भएका उद्योग कलकारखाना कवाडी बनाइए। अनि, कुन समाजवादोन्मुख राजनीतिक प्रणाली र संविधानको दस्ताबेजमा गर्व गर्ने?

प्रचण्डको राजनीतिक जीवन जति बर्षको भए पनि सरोकार भएन। तर, २०५२ सालदेखि २०८० सालसम्म केन्द्रीय राजनीतिमा हावी भएका उनले २८ बर्षको यो दौरानमा कस्तो समाजवादी मुलुक बनाए? त्यसको चित्र बिचित्रको छैन त?

धानदेखि बिजुली निर्यात गरेर आत्मनिर्भर बन्दै गरेको मुलुकका भौतिक संरचना भत्काएर, मुक्ति र आन्दोलन अनि क्रान्तिको नाममा रक्तपात मच्चाएर बल्ल बल्ल लाज ढाक्न ल्याएको एक थान संविधानको खोस्टोमा समाजवादोन्मुख लेखेर समाजवाद हुन्छ? कि, व्यवाहारमा आउनुपर्छ?

प्रचण्डले ल्याएको समाजवादमा विमानस्थलका पीढीँमा बसेर आँखाका तरेलीमा खस्न लागेका आँसुका ढिका लिएर मिटरब्याजीको मारमा परदेशतिर लम्किरहेका बेरोजगारको यथार्थ तस्बिर छ। हामीलाई यो तस्बिर देखिने समाजवाद चाहिन्न, प्रचण्ड।

मरेकाहरूले मात्र युद्धको अन्त्य देखेका छन्ः प्रचण्ड, तिम्रो समाजवादमा जिउँदा लासहरू छन्। हामी त्यहि समाजवादमा छौं, जो परदेशको विमान कुरेर बसिरहेका छौं।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार