सेना परिचालनको स्थितिःसुरक्षा परिषदमा के–के विषयले प्राथमिकता पायो?

बिहीबार, असोज १८, २०८०

काठमाडौंनेपाल प्रहरी सशस्त्र प्रहरीका युनिटले विभिन्न ठाउँमा हुने दंगा नियन्त्रण गर्न नसक्ने निचोड निकाल्दै राष्ट्रिय सुरक्षा परिषदले नेपाली सेना परिचालनको स्थिति आएको निक्र्यौल गरेको छ।

यसैकारण सेनालाई उच्च सतर्कतामा राख्नका लागि परिषदले जंगी अड्डालाई निर्देशन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा परिषदको बैठक बसेको थियो।

नेपाली सेनाका तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको उच्च स्रोतले जनाएको छ।

पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन भनेको हो।

पछिल्लो केही सातायता सुनसरीको धरान, सर्लाहीको मलंगवा बाँकेको नेपालगञ्जसहितका स्थानमा सुरक्षालाई चुनौती दिने गरी धार्मिक तनाव बढ्दै गएपछि सेनालाई यस्तो निर्देशन गरिएको हो।

नेपालगञ्जमा हिन्दु मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्युको अवस्था छ।

सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए।

धार्मिक हिंसा भड्किने अवस्थामा सेना परिचालन गर्नुपर्ने बाध्यता आइपर्ने भएपछि सुरक्षा परिषदले जंगी अड्डालाई स्ट्यान्डबाई रहनका लागि निर्देशन दिएको बताइन्छ।

हिंसा भड्काउनका लागि देशी तथा विदेशी शक्ति हावी रहेको विषयमा पनि चर्चा भएको थियो। सामाजिक सद्भाव खलबलिन नदिनका लागि राजनीतिक सुरक्षा निकायका तल्ला तहले संयमता अपनाउन आवश्यक रहेको पनि परिषदको ठहर थियो।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्