शेयर बजार

४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सोमबार, असोज १, २०८०

काठमाडौँ - साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४.२६ अंक बढेर १९६९.१८ विन्दुमा पुगेको छ। आइतबार ४२ अंकले घटेको नेप्सेमा सोमबार सामान्य सुधार देखिएको हो।

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.०४ र फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ।

सोमबार नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। आइतबार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २७१ स्टकको ४२ हजार २४ पटकको कारोबारमा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज इमर्जिङ्ग नेपाल लिमिटेड र थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इमर्जिङ्ग नेपालका शेयरमूल्य ९५ रुपैयाँ ८० पैसा बढेको छ भने थ्रीस्टारको ३३ रुपैयाँ ७० पैसा बढेको छ। त्यस्तै भुगोल इनर्जीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन ९८ रुपैयाँ ५० पैसा घटेर ८८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो। जसमध्ये जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक ०.४० प्रतिशत घटेको छ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्