सहकारी ठगी

सहकारी ठगीमा फरार जीबी राईका साझेदार कुमार रम्तेल पक्राउ

सोमबार, भदौ २५, २०८०

काठमाडौँ– सहकारी ठगीलगायत विभिन्न आरोपमा पक्राउ पुर्जी जारी भएको ग्यालेक्सी फोके टेलिभिजनका मालिक गितेन्द्रबाबु (जीबी) राईका साझेदार कुमार रम्तेल पक्राउ परेका छन् । 

उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान महाशाखाले रम्तेललाई काठमाडौँबाट आज पक्राउ गरेको हो ।

राई ग्यालेक्सी फोर के टिभीका मालिक, सञ्चालक र रम्तेल त्यसैमा संलग्न व्यक्ती हुन । रम्तेलले सहकारीको कोषाध्यक्षमा ग्यालेक्सी टिभीकै संचालक हुँ भन्दै परिचय दिने गरेको उच्च स्रोतले बतायो ।

आइतबार जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् । रम्तेल सहकारीका कोषाध्यक्ष हुन् । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट सुरुवात गरेको राई, रम्तेल र उनको समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको छ । उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाएको प्रहरीको भनाई छ ।

लामो समयको निगरानीपछि रम्तेललाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाको भनाई छ । स्रोतका अनुसार  राईलगायत अन्य अन्य ६ जना  पक्राउ परेका छैनन् । उनीहरुकाे खोजी भइरहेको महाशाखाकाे भनाई छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्