‘एक भगवत गीता’को नामको विवादबारे चलचित्र विकास बोर्डमा छलफल

मंगलबार, भदौ १९, २०८०

काठमाडौँ - केही आध्यात्मिक संस्थाहरुले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारेमा उठाएका प्रश्न र विमतिको विषयमा चलचित्र विकास बोर्डमा छलफल भएको छ ।

भाद्र १८ गते सोमवार बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा चलचित्रको तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागि हुनुहुन्थ्यो भने हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका सागर थापा लगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भाद्र २९ गते रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल र विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले गरेका थिए । श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ति संस्थाहरूले लगाएका थिए । 

त्यसको प्रतिउत्तरमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नगएको प्रष्ट पार्दै गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको बताएको थियो ।

अध्यात्मिक गुरूहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धि विवादलाई टुंगो लगाउने सहमति सो छलफलमा भएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएको कारणले पनि यो चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगरेको विश्वास लिएको बताए। सो छलफल अत्यन्त महत्त्वपूर्ण, सार्थक, सकारात्मक एवम् पेचिलो भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

उनले ‘एक भगवत गीता’बारे विवाद र विमति सकारात्मक निष्कर्षमा पुर्‍याउन सर्वसम्मत सहमति भएको जनाए । “चलचित्रको नामलाई लिएर पैदा भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले निकै विवेकसम्मत तरिकाले पहलकदमी लियो ।

सर्वपक्षीय छलफलको आयोजना गरी बोर्डले हार्दिक विमर्शद्वारा दुबै पक्षलाई सकारात्मक निकासतिर प्रेरित गर्‍यो । यस प्रयत्न र निष्कर्षबाट सबैपक्ष उत्साहित र एकतावद्ध भयौँ”, बुढाथोकीले बताए।

यो चलचित्रले कुनै पनि जात, धर्म, समुदाय, लिंग, क्षेत्र र भाषा संस्कृतिमाथि आघात पुर्‍याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानी हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बुढाथोकीले बताए । बोर्ड सिर्जनात्मक स्वतन्त्रताको पक्षधर रहेको उनको जिकिर छ ।

सो छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रबिचन्द्र अधिकारी सहित चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोबिन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतको सहभागीता थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्