विचार

गान्धीका अनुयायी गिरिलाई सम्झँदा...

नेपालको प्रजातान्त्रिक आन्दोलनमा पाँच दशकभन्दा लामो समय योगदान गरेका गिरि आफ्ना गुरु बिपी कोइरालासँग घण्टौँ बहस गर्नसक्ने सीमित व्यक्तिमध्येका एक थिए
सोमबार, भदौ ४, २०८०

राजनीतिमा लाग्नेहरु गर्वका साथ भन्ने गर्छन् जोगी बन्न पनि कसैले राजनीति गर्दैन । समाजसेवाको पवित्र क्षेत्र राजनीति, हिजोआज सत्ता र शक्तिमार्फत आयआर्जन गर्ने सबैभन्दा आकर्षक पेशामा रुपान्तरण भएको छ । प्रजातान्त्रिक संस्कारको अभ्यास गर्ने थलोका रुपमा रहेका राजनीतिक दलहरु प्रभावकारी हुन सकिरहेका छैनन् भन्ने आम जनगुनासो छ । यस्तोमा सबैखाले विचारधारामा विश्वास गर्नेहरु आजको राजनीतिमा नेपाली कांग्रेसका नेता तथा प्रख्यात बुद्धिजीवी प्रदीप गिरिको अभाव महसुस गरिरहेका छन् । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा पाँच दशकभन्दा लामो समय योगदान गरेका गिरि आफ्ना गुरु बिपी कोइरालासँग घण्टौँ बहस गर्नसक्ने सीमित व्यक्तिमध्येका एक थिए । बिपीसँग वहसमा उत्रिने मात्र होइन, कतिपय अवस्थामा उनको तीखो आलोचन गर्ने क्षमता राख्थे । गिरिले आफ्नो सैद्धान्तिक अडानमा कहिल्यै सम्झौता गरेनन् । गान्धीको विचारबाट प्रभावित उनले हिंसाको राजनीतिलाई स्वीकार गरेनन् । आफ्नै नेता बिपी कोइरालाले निरङ्कुश राजतन्त्रविरुद्ध चलाएको सशस्त्र क्रान्तिलाई समेत समर्थन नगर्नेहरुमा गिरि पनि एक थिए । 

विद्यार्थी कालमा उनी लेखक, प्राध्यापक वा वुद्धिजीवी बन्न चाहन्थे । पछिसम्म पनि रातभरि पुस्तक पढ्ने मध्यन्ह्सम्म सुत्ने उनको दैनिकी कायमै थियो । सत्ता र शक्तिका लागि साम, दाम, दण्ड, भेदको प्रयोग गर्नु पर्छ भन्ने मान्यताका विरोधी गिरि आचरणका दृष्टिले उच्चकोटीका बुद्धिजवी थिए । नेपाली समाजमा उनको छवि नेता कम, बुद्धिजीवी बढी भन्ने नै रहेको छ । उनले पदलाई कहिल्यै महत्व दिएनन् । उनी नेपाली कांग्रेसमा केन्द्रीय सदस्यभन्दा माथिल्लो पदमा रहेनन्, संसदीय राजनीतिमा सांसदमै सीमित रहे । मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बन्ने अवसर पटकपटक आउँदा पनि उनी त्यो बाटोमा लागेनन् । 

गिरि जीवनमा चार पटक संसद सदस्य बने । दुई पटक प्रतिनिधिसभा सदस्यका रुपमा र दुई पटक संविधानसभा सदस्यका रुपमा । उनले कैयौं सहकर्मी र सहयात्रीलाई मन्त्री बनाए । तर आफै चाहीँ कहिल्यै मन्त्री भएनन् । मन्त्री बन्न गरिएका प्रस्तावलाई कहिल्यै स्वीकार गरेनन् । पाँच÷सात वर्षअघिको कुरा हो, मिति याद छैन । एक दिन पत्रकार देवप्रकाश त्रिपाठीलाई भेट्न घटना र विचार साप्ताहिकको कार्यालय पुगेको थिएँ । संयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग भेट भयो ।  त्यस दिन हामीले धेरै विषयमा कुरा ग¥यौं । प्रदिप गिरिकै गृह जिल्ला सिराहा निवासी आर्यालले उनका बारेमा सुनाएको एउटा प्रसङ्ग मेरो मानसपटलमा सधैँ आइरहन्छ । 

गिरि किन मन्त्री बन्न चाहँदैनन् भन्ने मेरो जिज्ञासामा अर्यालले आफ्नो अनुभव यसरी सुनाएका थिए– २०५६ को आम निर्वाचनपछिको कुरा हो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले जननिर्वाचित प्रधानमन्त्रीका रुपमा शपथ लिएको धेरै भएको थिएन । अर्यालले कथा सुनाउन थाले, ती दिन म प्रहरी महानिरीक्षकको निजी सचिवालयमा थिएँ । जिल्लावासी भएकाले प्रदिप दाइसँग हाम्रो नियमितजसो भेटघाट भैरहन्थ्यो । एक दिनको कुरा हो, फोनमा प्रदिप दाइ भन्दै हुनुहुन्थ्यो– त्यो जिम्मेवारी पूर्णजीलाई दिए भैहाल्यो नि । पछि मैले सोधेँ । दाइ कसको फोन थियो, पूर्णजीलाई के बनाउनु भन्नु भएको रु दाइले सुनाउनु भयो– किसुनजीले फोन गर्नु भएको । गृहमन्त्री कसलाई बनाउने भनेर सोध्दै हुनुहुन्थ्यो । मैले पूर्णबहादुर खड्काजीलाई बनाई दिनोस् भनेँ । केही समयपछि उहाँ नै गृहमन्त्रीमा नियुक्त हुनुभयो । 

उपेन्द्रकान्त अर्को प्रसङ्ग जोड्दै हुनुहुन्थ्योे, त्यसको केही दिनपछि फेरि प्रदिप दाइले भन्नुभयो– ए उपेन्द्र सुन न, नेपाल प्रहरीले हतियार किन्न लागेको रहेछ । कसैले मलाई त्यो बोलपत्र मिलाई दिनुप¥यो भनेर हैरानै पारि सक्यो । ल न तिमी आइजिपीलाई भनेर उसको काम गराई दिन सक्छौ भने गराई देऊ न । दाइको कुरा सुनेर म छक्क परेँ । अचम्म पनि लाग्यो । गृहमन्त्री बनाउन सक्ने मानिस, आइजिपीको सचिवालयमा काम गरिरहेको म बबुरो डिएसपीलाई हतियार किन्ने व्यवस्था मिलाई दिन किन भन्नु भएको होला । मैले भनेँ– के कुरा गरेको प्रदिप दाइ तपाइँको सिफारिसमा गृहमन्त्री बनेका छन् । हतियार किन्ने कुरा उनैसँग गरे भैहाल्यो नि मैले भनेको कसले सुन्छ र रु मेरो त्यो हैसियत कहाँ हो र रु मैले भनेँ– त्यसो भए तपाइँ आफैँ मन्त्री किन बन्नु हुन्न त । बने भैहाल्यो नि । अरुलाई बनाउनुको साटो आफैँ हुनुस् । जनताको काम गर्नुस् । 

अरे बाफरे बाफ त्यस्तो कुरा नगर म त जीवनमा कहिल्यै मन्त्री हुन्न,  तिमीलाई थाहै छ म मेरो बानी । म मनमौजी मानिस । कहिले रातभरि पढेर दिनभरि सुतिदिन्छु । मन लागे नेता कार्यकर्ता भेट्छु, मन नलागे भेट्दिन । नेताका ढोका ढोका चाहार्ने बानी छैन मेरो । फेरि जहाँ गए पनि बिहान नित्य स्नान गर्ने र नयाँ कपडा फेर्ने बानी छ । हरेक दिन स्नान गरेपछि लगाएको कपडा नधोई लगाउँदिन । कसै न कसैसँग पाँच सय–हजार मागेर कमिज, सुरुवाल किन्न लगाउँछु । नयाँ कपडा लगाएर निस्कन्छु, पुरानो त्यहीँ छोडिदिन्छु । जीवनमा मेरो लागि लगानी गर्ने कति भए होलान् कति । भोलि तिनले म मन्त्री भएको थाहा पाए भने आफ्नो लगानीको ब्याज र ब्याजको स्याज असुल गर्न खोज्छन् । उनीहरुका सबै माग पूरा गर्ने क्षमता मसँग छैन नि । सिद्धान्त र निष्ठाको लागि राजनीति गरेको मानिस मन्त्री भएँ भने भ्रष्ट बनाइहाल्छन् । बुझ्यौ त्यसैले पनि मैले जीवनमा मन्त्री नबन्ने प्रण गरेको छु । 

आफूले गरेका बाचा उहाँले जीवनभर पूरा गर्नुभयो । कति सहकर्मीलाई मन्त्री बनाउनुभयो । तर आफू भने कहिल्यै मन्त्री हुनु भएन । संसदमा रहँदा होस्, वा नरहँदा निष्ठा र आदर्शको राजनीतिक दियो जलाएर बस्नुभयो । अन्तरआत्माको आवाज बोल्नुभयो । आफ्नो आस्थालाई बन्धक बनाएर पार्टीको आदेश पालना मात्र गर्नु भएन । २०७२ असोज ३ गते संविधानसभाले जारी गरेको संविधानमा हस्ताक्षर समेत गर्नु भएन । नेपालका अधिकांश नेताहरु जोखिम मोल्न चाहँदैनन्, सस्तो लोकप्रियतामा रमाउन चाहन्छन् ।  गिरिले सधैँ नेतृत्वको गलत काम कारवाही माथि औंला उठाइरहे । पार्टीभित्र स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्न रुचाए । संसदीय राजनीतिमा दलको ह्वीप मान्नु सांसदको कर्तव्य नै हो तर गिरि यस्ता अपवाद थिए जो अन्र्तआत्माको आवाज सुनेर निर्णय गर्न सक्थे । उनको जीवनमा गान्धीको प्रभाव बढी नै परेको देखिन्थ्यो । 

महात्मा गान्धीले– सिद्धान्तविहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकविहीन भोगविलास, चरित्रविहीन शिक्षा, नैतिकताविहीन व्यापार, मानवियताविहीन विज्ञापन, त्यागविहीन पूजालाई सात पाप भनेका छन् । गान्धीका अनुयायी गिरिले उनका यिनै सिद्धान्तलाई जीवनशैली बनाए । चुनाव जित्नका लागि आश्वासन बाँडेनन् । झुट्टा कुरा गरेर चुनाव जित्ने लालसा कहिल्यै आएन । गिरिका निकटस्थहरु सुनाउँछन्, बरु जागिर माग्ने र लाभ लागि अवसर मिलाई दिन आग्रह गर्ने आफ्नै कार्यकर्ता र अनुयायीको चित्त दुखाउने गाली गरेर दिन बिताए । आदर्श राजनीतिमा विश्वास गर्नेहरुका लागि आफैँमा एउटा विश्वविद्यालय सरह थिए गिरि । (रासस–लेखक पत्रकारिता तथा आमसञ्चारका अध्यापक तथा सक्रिय पत्रकार हुनुहुन्छ)
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्